 
															१० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको शुरुदेखि उपत्यकामा खानेपानी वितरण गर्ने’ घोषणा गर्यो ।
संसदमा सांसदहरुले पत्याएनन्, मन्त्रीको जवाफ मागे । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले जवाफ फर्काइन्, ‘मेलम्ची खानेपानीका सन्दर्भमा उठाइएका प्रश्नहरुको बिट मार्ने बेला आएको छ । मन्त्रालयले मेलम्ची खानेपानीको बिट छिट्टै मार्दैछौं । हामी मेलम्चीको उदघाटनको समय सार्वजनिक गर्ने तयारीमा छौं ।’
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे छलफल डाक्यो । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत सहभागी थिए ।
बैठकमा अधिकांश सांसदले सोधे, ‘मेलम्चीको पानी काठमाडौंमा कहिलेबाट वितरण हुन्छ ?’ भाका राख्दै र सार्दै गर्ने गरिएको भन्दै सांसदहरुले ‘मेलम्चीको पानी ठ्याक्कै कुन दिन उपत्यकाबासीको घरघरमा पानी झर्छ’ भनेर जवाफ चाहिने बताए ।
नेपाली कांग्रेसका सांसद रामबहादुर बिष्टले सोधे, ‘मेलम्चीको पानी आउन अब कतिवटा दशैं जाला ?’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश पहाडीको उस्तै प्रश्न छ, ‘मेलम्चीको पानी काठमाडौंबासीको घर-घरमा कहिले झर्छ ?’ नेकपाकै अर्का सांसद लीलानाथ श्रेष्ठले खानेपानी मन्त्रीलाई भने, ‘यो मितिमा पानी काठमाडौं आउँछ भनेर भन्न पर्यो ।’
कांग्रेस सांसद सञ्जयकुमार गौतमले कुरा मात्रै हुने गरेको तर काम नहुने गरेको भन्दै असन्तुष्टि पोखे । ‘जनताले प्राविधिक कुरा बुझ्दैनन्, पानी कहिले आउँछ भनेको बुझ्छन्’ उनले भने, भ्रम जालमा धेरै वर्ष बित्यो । अब यथार्थ विवरण दिन पर्यो ।’
सांसदहरु आशाकुमारी विक, बिना कुमारी श्रेष्ठ, दामोदर भण्डारी लगायतले चाँडै मेलम्ची आयोजना सकाएको भनेर खानेपानीमन्त्री र आयोजनाको टिमलाई सम्मान गर्न पाइयोस् भन्ने कामना गरे ।
जवाफ दिन समय पाए, खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले । ‘मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न सक्दैनौं,’ उनेले दिए ।
विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नहुँदा ‘फेसबुकमा भाइरल’ बनाउने काम मात्रै भएको भन्दै उनले यसपटक मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित भएको बताए । सरकारले बजेटमा साउनमै काठमाडौंमा पानी वितरण गर्ने बाचा गरेको कुरा सचिव बेल्वासले थाहा नै नपाएजस्तो गरे ।
सचिव बेल्वासेको जवाफ सांसदहरुलाई चित्त बुझेन । ‘जनताले मेलम्चीको पानी भाँडोमा कहिले पानी थाप्न पाइन्छ ?’ भनेर हैरान पारेको भन्दै सांसदहरुले स्पष्ट जवाफ दिन र्याखर्याख्ती पारे ।
त्यसपछि बल्ल सचिव बेल्बासेले जवाफ फर्काए, ‘सकेसम्म एक वर्षभित्र बिच्छ्याएका पाइपबाट पानी वितरण गर्ने भन्ने छ ।’
मन्त्री र सचिवको कुरा बाझियो
खानेपानी सचिवले विकास समितिमा दिएको जानकारी प्रतिनिधिसभामा खानेपानीमन्त्री बिना मगरले दिएको जवाफसँग सोझै बाझिएको छ ।
समिति बैठकमा सचिवभन्दा पछि बोलेकी खानेपानीमन्त्री बिना मगरले यसबारे प्रष्ट धारणा राखिनन् । सांसदहरुले मिति तोक्न आग्रह गरेको भएपनि कुनै मिति तोकिनन् ।
‘चालु आर्थिक वर्षमा भौतिक काम सक्ने र नयाँ आर्थिक वर्षदेखि पानी वितरण सुरु गर्ने भनेर प्रतिनिधि सभामा प्रतिवद्धता जनाएको हो । अहिलेसम्म ९९ प्रतिशत भौतिक काम पूरा भएको यहाँ प्रस्तुत भएको छ’ उनले भनिन् ।
आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने मन्त्री मगरले जानकारी दिइन् ।
संसदमा मन्त्रीले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै समिति सभापति कल्याणीकुमारी खड्काले मेलम्ची खानेपानी आयोजनाका सन्र्दभमा बाहिर एउटा र समितिमा अर्को कुरा नगर्न आग्रह गरिन् ।
९९ प्रतिशत काम सम्पन्न, बाँकी पुससम्म सक्ने
समिति बैठकमा सहभागी मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले ९९ प्रतिशत काम सम्पन्न भएको बताए ।
आयोजनाको प्रगति विवरण प्रस्तुत गर्दै उनले भने, ‘सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ । डीआइपाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत सकिएको छ ।
उनका अनुसार सुरुङ तथा पानी प्रसोधन केन्द्रबीचको जवान कार्य ९८ प्रतिशत सकिएको छ । पानी प्रसोधन केन्द्र (दैनिक क्षमता १७० करोड लिटर) को काम शतप्रतिशत सकिएको छ ।’
यसैगरी, कोकर ड्याम, हाइड्रोमेकानिकल गेट ६ गोटा जडान कार्य पनि सम्पन्न भएको पनि उनले जानकारी दिए । हेडबर्क्सको काम भने ६५ मात्रै प्रतिशत सकिएको उनले बताए ।
बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने उनले बताए । त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना प्रमुख खत्री बताउँछन् । पानी परीक्षण सुरु भएपछि परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्ने उनले बताए ।
परीक्षण सुरु भएपछि केही कमजोरी छन् कि भनेर हेरिने छ । परीक्षणपछि पानी फालेर सुरुङको अवस्था निरीक्षण गरिनेछ ।
परीक्षणका लागि तीनवटा समिति र कार्ययोजना बनाइरहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए ।
अहिले लकडाउनको समयमा काम भइरहेको भएपनि कामदार र सामाग्रीको अभाव रहेको उनले बताए । लकडाउनअघि ४५० कामदारले काम गर्दै आएकोमा हाल १६४ जना कामदार रहेको जानकारी दिए ।
पानी आएपछि काठमाडौं जलमग्न हुने चिन्ता
बैठकमा सांसदहरुले पानी आएपछि काठमाडौं जलमग्न हुने चिन्तासमेत व्यक्त गरेका थिए । केयूकेयलले धेरै वर्षअघिदेखि वितरण गर्दै आएको पाइपबाटै पानी वितरण गर्न खोजिएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
सांसद यज्ञराज सुनुवारले आफूलाई आउँदै गर्दा ‘माननीयज्यू उपत्यकावासीलाई राणाकालीन पाइपबाट पानी खुवाउनुहुन्छ कि गणतान्तिक पाइपबाट ?’ भन्दै प्रश्न गरे । विगतका पाइपले मेलम्चीको पानीलाई धान्न नसक्ने उनको भनाइ थियो ।
जवाफमा खानेपानी मन्त्रालयका सचिव बेल्बासेले मेलम्चीको पानी सुरुमा पुरानै पाइपबाट वितरण गर्ने तर, परीक्षण गर्दै नयाँबाट वितरण गर्दै जाने योजना रहेको बताए ।
कार्ययोजना माग गर्ने निर्णय
खानेपानी मन्त्रालय र मेलम्ची आयोजना प्रमुखले उपत्यकाबासीले मेलम्चीको पानी कहिलेसम्म खान पाउँछन् भन्ने प्रष्ट जवाफ नदिएपछि विकास तथा प्रविधि समितिले कार्ययोजना माग गर्ने निर्णय गरेको छ ।
टेस्टिङ समेतको सबै प्रक्रिया पूरा गरेर कहिलेसम्म काठमाडौंमा पानी र्झछ भनेर कार्ययोजना कार्ययोजना माग गर्ने समिति सभापति खड्काको प्रस्तावलाई समितिले पास गरेको छ ।
यसैगरी, पाइप बिच्छ्याउने कार्य र घर-घरमा पानी पुर्याउने विषयमा ध्यान दिन, मेलम्चीका आयोजनास्थल वरपरका स्थानीयको समस्या के हो बुझेर सम्बोधन गर्न पनि खानेपानी मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिको छ ।
समितिबाट कार्ययोजना आएपछि पुनः यो विषयमा समितिको बैठक राख्ने सभापति खड्काले बताएकी छन् ।
सरकारले यसअघि फागुनमा असारमा सुन्दरीजलमा मेलम्चीको पानी खसाल्ने गरी ‘मेलम्ची स्वेतपत्र’ जारी गरेको थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4