
११ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध पारित भएको खेद प्रस्तावको माइन्युट गरिएको छ ।
पदाधिकारीहरूको जुम मिटिङबाट पारित भएको खेद प्रस्ताव कार्यसमितिले समेत अनुमोदन गरेको थियो ।
ढकालले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई होच्याउने खालको शब्द प्रयोग गरेको, सञ्चार माध्यमहरूमा व्यक्तिगत कुराहरू गरेर बद्नाम गर्न खोजिएको भन्दै उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव पेश गरेका थिए ।
प्रधानले पेश गरेको प्रस्तावमाथि निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा र अध्यक्ष भवानी राणाले धारणा राखेका थिए । उनीहरूको धारणापछि बैठकले खेद प्रस्ताव पारित गरेको थियो ।
खेद प्रस्ताव पारित भएसँगै चण्डीले विशिष्ट सदस्यको पदमा बसिरहन नमिल्ने अध्यक्ष राणा पक्षधरका उद्योगीहरूले बताउँदै आएका छन् । नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने प्रश्न उठेको थियो ।
यद्यपि, विद्युतीय बैठक भएका कारण यसले लिखित मान्यता नपाउने भन्दै चण्डी ढकाल भने चुपचाप बसेका छन् । अनलाइनखबरलाई प्राप्त निर्णयको प्रतिलिपिअनुसार विद्युतीय बैठकमा भएको निर्णयलाई लिखत गरेर अध्यक्ष राणाले प्रमाणित समेत गरिसकेकी छन् । यसपछि भने चण्डीलाई थप नैतिक दबाब परेको छ ।

चण्डी ढकाल अहिले कुनै उद्योग-व्यवसायमा संलग्न छैनन् । गार्भेन्ट उद्योग टाट पल्टेपछि ढकाल बैङ्कको कर्जा तिर्न नसकेर कालोसूचीमा छन् ।
यद्यपि, महासंघकोका राजनीतिमा भने निकै सक्रिय ढकालले पछिल्लो समय अध्यक्ष राणा तथा वरिष्ठ उपाध्यक्ष गोल्छाले आफूले भनेको नटेरेको भन्दै उनीहरूका बारेमा नकारात्मक टीकाटिप्पणी गर्ने गरेका छन् ।
प्रतिक्रिया 4