Comments Add Comment

स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए

१३ असार, पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना कोरोना संक्रमित थपिए । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।

गाउँ आएकै दिनबाट क्वारेन्टिन बसेकाले बाह्य सम्पर्क भने नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार शिशुको अवस्था अहिले सामान्य छ । ‘गाउँपालिकाले सीमामा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको थियो । अहिले संक्रमित सबै भारतबाट आएका नै हुन्,’ उनले भने ।

संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भए/नभएको भन्नेबारे भने गण्डकी स्वास्थ्य निर्देशनालयबाट जानकारी आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले सुनाए । ‘यहाँ नाम टिपाउँदा अर्कै र स्वाब परीक्षण गर्न पठाउँदा अर्कै नाम पठाउँदा रहेछन् । त्यसैले निर्देशनालयबाट सम्पूर्ण जानकारी नआउँदासम्म यसै भन्न सकिने अवस्था छैन,’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने ।

शनिबार कोरोना संक्रमण पुष्टि भएका सबै जेठ ३१ गते १२ महिने शिशुसहित एउटै गाडीमा आएका थिए । सोही गाडीमा आएका ४१ जनाको स्वाब संकलन गरी असार ५ गते परीक्षणका लागि पोखरा पठाइएको पौडेलले जानकारी दिए ।

उनीहरुको स्वाब परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको थियो । ४१ जनाको स्वाब परीक्षणमा २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अर्जुन चौपारी गाउँपालिकाको क्वारेन्टिनमा अहिले ९२ जना छन् । उनीहरु सबै भारत लगायत बाहिरी जिल्लाबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment