१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमुना परीक्षण थालेको छ । यसको सुरूवात माइतीघर मण्डलाबाट गरिएको छ । माइतीघर मण्डलामा अब साँझको सयममा पुग्दा झिलिमिली देख्न पाइनेछ । त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जोडिएको छ ।
काठमाडौँ महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली सहरको सौन्दर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताउँछन् ।
‘सबैभन्दा बढी चहलपहल हुने र आवतजावत पनि बढी हुने माइतीघर मण्डलामा हामीले नमुना परीक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौं,’ ज्ञवाली भन्छन्, ‘विश्वका विभिन्न सहरमा सहरको रात्रिकालीन जीवनलाई जीवन्त बनाउन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइन्छ । हामीले पनि रात्रिकालीन सहरको सौन्दर्य बढाउन यसो गरेका हाैं।’

आगामी दिनमा बढी चहलपहल हुने, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचीमा सूचीकृत स्थानहरूमा क्रमश: यस्ता बत्ती जडान गर्दै जाने उनले बताए । महानगरका केही ठाउँमा महानगर आफैँले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वका रुपमा बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।
कार्यक्रमले रात्रिकालीन व्यवसायबाट अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ। उनले यसबाट कम खर्चमै रात्रिकालीन चहलपहल बढ्ने र फुटपाथ पसललाई न्यूनीकरण गर्न केही हदसम्म सहयोग पुग्ने बताए ।
विस्तारै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने जानकारी दिए । ज्ञवालीले आगामी आर्थिक वर्षका लागि रंगीचङ्गी बत्ती जडानका लागि करिब ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

‘हामी विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पनि अघि बढ्ने सोच बनाएका छौं,’ उनले भने, ‘सहरमा रात्रिकालीन सुरक्षाका लागि पनि यो जरुरी छ। सडकमा प्रशस्त प्रकाश भएपछि सीसीटीभी क्यामराको प्रभावकारिता समेत बढ्छ ।’
उनले असोज-कात्तिकसम्ममा सहरका पाँच–सात स्थानमा यस्तो बत्ती जडान गर्ने जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले यो वर्षको नीति तथा कार्यक्रममा समेत काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख चोकहरूमा आधुनिक सिग्नलाइज्ड प्रणालीमा आधारित ट्राफिक लाइटहरू जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरूमा हाइमास्ट बत्ती जडान गर्नेलगायतका लक्ष्य लिएको छ।

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4