Comments Add Comment

कानुन नहुँदा गुठी जग्गा असुरक्षित भएको छ : मन्त्री अर्याल

१४ असार, काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्‍मा अर्यालले देशभरका गुठीका जग्गा असुरक्षित रहेको बताएकी छन् ।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले गुठीको जग्गालाई राज्यले सुरक्षा गर्न नसकेको बताएकी हुन् । गुठी जग्गाको सुरक्षा गर्न विधेयक ल्याए पनि अगाडि बढाउन नसक्दा अतिक्रमण बढेको उनको भनाइ छ ।

‘गुठीको जग्गाहरू खास राज्यले समेत नियन्त्रण गर्न सकिरहेको छैन । हामी आइसकेपछि आफ्नो ढङ्गले लागेका छौं । सिधै हस्तक्षेप गरेर राज्यले उपयोग गर्न पाउने खालको अवस्था छैन’ उनले भनिन् ‘अरू सरकारी, सार्वजनिक जग्गामा राज्यले सिधै हस्तक्षेप गर्छ, गुठीमा हाम्रा पूर्खाहरूले, हाम्रा पूर्वजहरूले परोपकारी भावनाले दान गरे । अहिले पूरै क्षयीकरण, व्यक्तिहरूले आफ्नो बनाउने, अतिक्रमण गर्ने काम भएको छ ।’

समितिले आइतबार पशुपति क्षेत्रको गुठीबारे छलफल गर्न मन्त्री अर्याललाई बोलाएको थियो । त्यस क्रममा उनले बाँकेको वागेश्वरी, दाङको स्वर्गद्वारी र जनकपुरमा पनि गुठी जग्गा असुरक्षित रहेको बताइन् । ती कतिपय गुठीमा किसानको हक स्थापित गर्नुपर्ने र कतिपय गुठी अतिक्रमणबाट जोगाउनुपर्ने मन्त्री अर्यालको भनाइ छ।

‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने, गुठीमा जोडिएका किसानहरूको हकलाई स्थापित गर्ने । यो तीनवटै चिजलाई व्यवस्थित गर्न गुठी विधेयक ल्याएका थियौं तर त्यो गुठी विधेयक अगाडि बढाउन सकिएन’ उनले भनिन् ।

कतिपय गुठीमा पर्यटन मन्त्रालय, भूमि व्यवस्था र गृह मन्त्रालयसमेत जोडिएकाले यस्ता विवाद समाधान गर्न कानुनी व्यवस्था नै हुनुपर्ने मन्त्री अर्यालले बताइन् ।

‘अधिकारक्षेत्र के हुन् भनेर प्रष्ट रुपमा कानुनी व्यवस्था गरिएन भने ठूलो लडाइँ हुनेवाला छ । पर्यटन क्षेत्र विकास कोषले के-के गर्ने हो, गुठीले के-के गर्ने हो, गुठीका अधिकार क्षेत्र र पर्यटनको विकास क्षेत्रका अधिकार के हुन् भन्ने कुरा प्रष्ट रुपमा किटान गरेनौं भने काटाकाटै हुने स्थिति देख्या छौं’ उनले भनिन् ।

गुठी जग्गाको विवाद स्वामित्व र स्रोत परिचालनसँग जोडिएकाले यो विषय जटिल रहेको मन्त्री अर्यालको भनाइ छ । नेपालमा अहिले २ हजार भन्दा धेरै गुठी छन्, जसमध्ये ५ सयवटा काठमाडौंमै रहेको उनले बताइन् ।

गुठीको समस्या धेरै जटिल रहेको भन्दै मन्त्री अर्यालले मानिसको भावना जोडिएको विषय भएकाले यसमा सचेत भएर हात हाल्लुपर्ने बताइन् । ‘ठ्याक्कै यसो गरौं भनेर पनि हुँदो रहेनछ । हामीले देखिहाल्यौं । त्यत्रा मान्छेहरू आए (गुठी विधेयकको विरोधमा सडकमा) त्यसै त आएनन् । यसमा हात हाल्दा बडो सचेतनापूर्वक हाल्नुपर्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment