Comments Add Comment

अछाममा आरडीटी गरेर घर पठाइएका एक व्यक्तिको मृत्यु

१४ असार, काठमाडौं । अछाममा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ स्थित एक विद्यालयको क्वारेन्टिनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाका अनुसार उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । असार १० गते र्‍यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्ट गर्दा उनको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाएको देवकोटाको भनाइ छ ।

‘उनीसहित भारतबाट आएका २८ जनाको आरडीटी परीक्षण गरेका थियौं । जसमध्ये उनीसहित १७ जनाको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने शर्त अनुसार घर पठाएका थियौं,’ देवकोटाले भने, ‘तर शनिबार दिउँसो करिब १२/१ बजेको समयमा अचानक उनको स्वास्थ्यमा समस्या भएको जानकारी आयो । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने तथा पखाला लाग्ने भएछ । त्यसपछि गाउँपालिकाकै एम्बुलेन्समार्फत उनलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएका थियौं । तर त्यहाँ बेड खाली नभएका कारण बयलपाटा अस्पताल पुर्‍याएका थियौं । त्यहीँ उपचारको क्रममा आइतबार बिहान साढे ८ बजेतिर उनको मृत्यु भएको हो ।’

कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी धनगढी पठाइएको उनले बताए ।
मृतकको शवलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ । देवकोटाले भने, ‘उनको उपचारमा दुई जना संलग्न छन् । उनीहरु पनि आरडीटी परीक्षण गर्दा नेगेटिभ आएका व्यक्तिहरु नै हुन् । शवको व्यवस्थापन गरेपछि उनीहरुलाई पनि क्वारेन्टिनमा राख्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment