Comments Add Comment

अष्ट्रेलियामा कोरोनाको दोस्रो संक्रमण लहरको त्रास

१५ असार, ताज्मानिया । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको न्युनीकरणमा सफलता प्राप्त गरी विश्वमै नमुना बनेको अष्ट्रेलियामा दोस्रो संक्रमणको लहरले त्रास उत्पन्न भएको छ ।

लगातार १२ दिनदेखि खासगरी भिक्टोरिया राज्यको मेलबर्न शहरमा कोरोना भाइरसको नयाँ संक्रमितहरुको संख्यामा दैनिक दोहोरो अंकमा वृद्धि हुन थालेपछि यहाँका अधिकारीहरु चिन्तित बनेका छन् ।

विगत तीन दिनको समयमा मेलबर्नमा मात्रै १५० जनाभन्दा बढी नयाँ संक्रमितहरु थपिएका छन् । जसमध्ये आइतबार मात्रै ४९ जना थिए, जुन अष्ट्रेलियाको लागि एकैदिन भेटिएका नयाँ संक्रमितहरुको संख्या अप्रिल महिनायताकै सबैभन्दा धेरै हो ।

यद्यपि अष्ट्रेलियाका अन्य कतिपय राज्यहरुमा नयाँ संक्रमितहरुको संख्या न्यून छ भने कतिपय राज्यहरु भाइरसमुक्त भइसकेका छन् ।

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण न्यून भएपछि विभिन्न राज्यले आफ्नो मौलिकताअनुसार लगाइएका प्रतिबन्धहरु खुकुलो बनाउँदै लगेका थिए । सामाजिक प्रतिवन्ध खुकुलो भएसँगै मानिसहरुले सामूहिक भेटघाटमा बढी जोड दिएका थिए ।

मेलबर्नमा सुरु भएको दोस्रो संक्रमणको लहरको मुख्य कारण यकिन गर्न नसकिए पनि सामूहिक भेला मुख्य कारण हुनसक्ने अधिकारीहरु बताउँछन् ।

नयाँ संक्रमण देखिएकाहरुमध्ये सबैभन्दा धेरै मेलबर्नका दुई होटलका कामदारहरु छन् जुन होटलमा विदेशबाट फर्केका यात्रुलाई अनिवार्य क्वारेन्टिनमा राखिने व्यवस्था गरिएको थियो । सामाजिक दुरीलाई नजरअन्दाज गर्दै विदेशबाट आएका व्यक्तिबाट अन्यमा संक्रमण फैलिएको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।

विदेशबाट आएकाको अनिवार्य परीक्षण

अप्रत्याशित रुपमा नयाँ संक्रमणको संख्या बढेसँगै भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजले १० दिनमा करिब १ लाख मानिसलाई घरघरमै गएर निःशुल्क परीक्षण गरिने योजना रहेको जानकारी दिएका छन् । यो योजनाको सहजीकरणका लागि करिब २०० जना सैन्य अधिकारीहरुले साथ दिनेछन् ।

यस्तै प्रिमियर एन्ड्रुजले विदेशबाट फर्किएका सबै यात्रुहरुले अनिवार्य परीक्षण गर्नुपर्ने बताएका छन् । अधिकारीहरुका अनुसार विदेशबाट फर्केका करिब ३० प्रतिशत यात्रुहरुले परीक्षण गर्न अस्वीकार गरेका थिए ।

त्यसैगरी दुईहप्ते क्वारेन्टिनमा बसेकाहरुको क्वारेन्टिन अवधिभरि दुईपटक परीक्षण गरिने जनाइको छ । पहिलो परीक्षण तेस्रो दिनमा गरिनेछ भने अर्को परीक्षण एघारौं दिनमा हुने अधिकारीहरुले बताए । अधिकारीहरुका अनुसार भिक्टोरियामा अघिल्लो शुक्रबारदेखि करिब ४० हजार मानिसहरुलाई परीक्षण गरिसकिएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनका प्रमुख स्वास्थ्य सल्लाहकार ब्रेन्डान मर्फीले भिक्टोरिया राज्यको यो कदमको प्रशंसा गर्दै आम नागरिकहरुले पनि साथ दिनेमा विश्वास व्यक्त गरे । ‘यो नागरिक दायित्वप्रतिको एउटा अनिवार्य प्रक्रिया हो, मलाई लाग्छ सबैले यसमा सहकार्य गर्नेछन्,’ उनले भने ।

मर्फीले दोस्रो संक्रमणको लहर भिक्टोरिया बाहेकका अन्य राज्यहरुमा पनि देखिन सक्ने बताए । ‘नयाँ–नयाँ संक्रमणहरु जसरी बढ्दैछन्, त्यसलाई रोक्न हामी त्यति नै तयार छौं,’ उनले भने ।

करिब साढे २ करोड जनसंख्या भएको अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या लगभग ७ हजार ५ सय छ भने हालसम्म १०४ जनाको मृत्यु भएको छ ।

ट्वाइलेट पेपरको हाहाकार

भिक्टोरिया राज्यमा नयाँ संक्रमितहरुको संख्या थपिएसँगै जनतामा त्रास फैलिएको छ । यसको परिणामस्वरुप अत्याश्यक खाद्यान्न लगायतका अन्य सामग्रीहरुको सन्चय गर्न मानिसहरु तछाडमछाड गरिरहेका छन् ।

कोल्स, उलवर्थस लगायतका सुपरमार्केटहरुमा ट्वाइलेट पेपर, हेन्ड सेनिटाइजर, खाद्य सामग्रीहरुको फेरि संकट सुरु भएको छ । जसका कारण ठूला–ठूला सुपरमार्केटहरुले अत्यावश्यक सामग्री खरीदमा सीमितता ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment