Comments Add Comment

लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित

१५ असार, गुल्मी । लिची उत्पादन घटेपछि गुल्मीका किसान चिन्तित भएका छन् । लिची खेतीले चिनिदै आएको जिल्लाका रुरु गाउँपालिकास्थित च्यूरेक, थोर्गा, थानपती लगायतका स्थानमा लिची उत्पादन घटेको छ ।

यस वर्ष पटक–पटक असिना पानी परेकाले एक करोड बढीको लिची नष्ट भएको च्यूरेक फलफूल तथा तरकारी समूहका संयोजक युवराज ज्ञवालीले बताए । ज्ञवालीका अनुसार लिची बेचेरै घर खर्च चलाउनेहरु यस वर्ष समस्यामा परेका छन् ।

विगतमा एउटै बोटबाट ६ हजारदेखि ८० हजार रुपैयाँसम्म कमाउने किसानहरुले अहिले भने पाँच प्रतिशत मात्रै फलेको बताउँछन् ।

जिल्लाको रुरु गाउँपालिका च्यूरेकमा ०३६ सालबाट लिची खेतीको सुरुवात गरिएको थियो । हाल रुरु गाउँपालिकाको च्यूरेक लगायतका स्थानमा झण्डै २ सय घरधुरीले लिची खेती गरेका छन् ।

गुल्मीको च्यूरेकमा हरेक वर्ष असार २ गते लिची महोत्सव आयोजना हुँदै आएको थियो । महोत्सवमा आउने पाहुलाई लिची खुवाउने, खेती अवलोकन गराउने र उपहारस्वरुप लिची दिने गरिन्थ्यो । तर यो वर्ष उत्पादन नै नभएकाले र कोरोना संक्रमणको त्रासका कारण लिची महोत्सव नगरेको किसानहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment