Comments Add Comment

बैतडी र डोटीमा कहिले आइपुग्ला पीसीआर मेसिन ?

१५ असार, डोटी । ‘असार १० गतेभित्र पीसीआर मेसिन जिल्लामा पुग्छ, सञ्चालनमा कहिले ल्याउने भन्ने विषयमा सम्वन्धित जिल्ला अस्पतालले तयारी गर्नु पर्‍यो ।’ गत जेठ २४ गते सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डा. गुणराज अवस्थीले दिएको अभिव्यक्ति हो ।

बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने भनी गत चैत १५ गते सुदूरपश्चिम प्रदेश सरकारले गरेको निर्णय झण्डै अढाइ महिना पुग्दा पनि कार्यान्वयनमा नआएपछि यसबारे अनलाइनखबरले जिज्ञासा राख्दा निर्देशक डा. अवस्थीले माथीको जवाफ दिएका थिए । उनले पटक–पटक असार १० गते जिल्लामा मेसिन पुगिसक्ने तर संरचना र जनशक्ति सम्वन्धित अस्पतालले नै व्यवस्थापन गर्नु पर्ने दोहोर्‍याएका थिए ।

असार १० त कट्यो निर्देशक ज्यू ! कहाँ पुग्यो मेसिन ? आइतबार निर्देशकले अर्को भाका दिए । उनले भने ‘यो महिनाभित्र डोटी र बैतडी दुवै जिल्लामा हामीले मेसिन पुर्‍याउँछौं ।’ उनी करिव २० प्रतिशत सामग्री आइसकेको पनि दावी गर्छन् ।

किन ढिलो भयो ? उनी सजिलो उत्तर दिन्छन्, ‘अन्तर्राष्ट्रिय उडानहरुको समस्याले समयमै सामान आउन सकेन ।’ सामानहरु विदेशबाट ल्याउनु पर्ने तर अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण केही दिन ढिलाइ भएको उनी बताउँछन् । उनले असार महिनाभित्र सबै सामग्री आइपुग्ने दावी दोहोर्‍याए ।

चैत १५ गते भएको निर्णय कार्यान्वयनमा किन ढिलाइ भयो भनेर सोध्दा त्यतिबेलाको उनको जवाफ थियो ‘सबै कानूनी प्रक्रिया पूरा गर्नु पर्ने र अवस्था पनि यस्तो भएका कारण केही ढिलाई भएको हो ।’ त्यतिवेला अवस्थालाई दोषी देखेका डा. अवस्थीले अहिले भने ‘अन्तराष्ट्रिय उडान’ को समस्या देखाए ।

डा. अवस्थीको दोस्रो दावी अनुसार मेसिन आइहाले पनि सञ्चालन तत्कालै हुनेमा भने शंकै छ । जेठ २४ गते नै उनले संरचना निर्माण र जनशक्तिका लागि बजेट चाहिए ‘अस्पताल सुधार कार्यक्रम’बाट माग गर्न सकिने बताएका थिए । तर त्यो तयारी भएको देखिदैन ।

‘संरचना हामीहरुसँग तयारै छ तर जनशक्ति निर्देशनालयले व्यवस्थापन गर्नु पर्ने हुन्छ,’ डोटी जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. ज्योति पाण्डे भन्छिन्, ‘जिल्लामा त्यो योग्यताको जनशक्ति नै छैन ।’

उनले प्रयोगशालाका लागि भाइरोलोजिष्ट हुनु पर्ने बताउँदै भनिन्, ‘जिल्ला अस्पतालमा अहिले ल्याब असिस्टेण्ट मात्रै छन् ।’

उनले स्वास्थ्य कार्यालयमा एक जना ल्याव टेक्निसियन भएको जानकारी दिइन् । उनले यसबारे आफूले फेरि निर्देशनालयसँग समन्वय गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment