+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धान रोप्ने मेसिन : दिनभर लाग्ने रोपाइँ एक घन्टामै

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ असार १५ गते २०:१६

१५ असार, काठमाडौं । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसवको अवसर पारेर ललिततिपुरको खुमलटारमा कृषि विभागले सोमबार धान रोपाइँ कार्यक्रम गर्‍यो ।  कार्यक्रममा प्रमुख अतिथि थिए कृषि सचिव राजेन्द्रप्रसाद भारी ।

सचिव भारीले खेतको गरामा छिरेर केहीबेर रोपाइँ गरिटोपले । उनलाई कृषि विभागमा महानिर्देशक कञ्चनराज पाण्डेलगायतले साथ दिए । कृषिका उच्च पदस्थ कर्मचारीहरु रोपाइँ गर्न खेतमा छिर्दा उनीहरु भन्दा ठूलो संख्यामा सञ्चारकर्मी तथा सर्वसाधारण  भुम्मिएका थिए । सञ्चारकर्मीका क्यामेराहरुले फोटो/भिडियो खिचिभ्याएपछि टोली खेतको गराबाट उक्लियो ।

त्यसपछि हिल्याइएको खेतमा एउटा धान रोप्ने मेसिन आयो । एक चालकले हातले गुडाउन सकिने उक्त मेसिनले धमाधम धान रोप्न थाल्यो । २० मिनेटमा खेतको ठूलो पाटोमा धान रोपाईं सकियो ।

ब्याडबाट उखलेर ल्याएको बिउ मेसिनमा हालेर गुडाएपछि भटाभट मेसिनले धान रोपेको देख्दा एक महिलालले अचम्म मान्दै भनिन्, ‘अहो, के जाती ल्याएछन् हो, मान्छेले झै काम गर्ने ?’

रमिता हेरिरहेका अन्य व्यक्तिहरु पनि धान रोप्ने मेसिनले काम गरेको देख्दा रमाइलो मानिरहेका थिए । सोमबारको राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव कार्यक्रमको आकर्षण नै स्वचालित रुपमा धान रोप्ने मेसिनहरु बन्न पुगे ।

धेरै श्रम प्रयोग हुने बाली

धानबाली अत्यधिक श्रम खर्च हुने बाली मध्येको एक हो । कृषि अनुसन्धान परिषद्का अनुसार नजोतको अलवा रोपाइँको लागि मात्रै एक हेक्टर जमिनमा ३० देखि ३५ जान श्रमिकले काम गर्नुपर्ने हुन्छ ।

धान गोड्न, काट्न लगायतका काममा पनि एक पटकमा सोही हाराहारी श्रम लाग्ने भएकाले धान बाली फाइदाजनक हुन नसकेको परिषद्का इन्जिनियरिङ महाशाखा प्रमुख डा. श्रीमत श्रेष्ठ बताउँछन् ।

‘श्रम गरेर प्रतिफल नपाउने भएपछि कृषिबाट मानिसहरु पलायन भए अब यन्त्रीकरणमार्फत धानलाई नाफामूलक बनाउनुको विकल्प छैन्,’ डा. श्रेष्ठले भने । रोपाइँलाई प्रविधिमैत्री बनाउन परिषद्ले परिक्षण गरेर लागू गर्न थालिएको उनले बताए ।

करिब दश रोपनी खेतमा धान रोप्नकालागि २० जना रोपाहारलाई दिनभरी लाग्ने परिषद्को अध्ययनले देखाएको छ । तर रोप्ने मेसिनहरु -राइस ट्रान्सप्लान्टर) ले एक घण्टामै उक्त क्षेत्रफलमा धान रोपाई गर्न सक्छ । प्रति रोपाहार पाँच सय लाग्यो भने पनि १० रोपनीमा १० हजार खर्च हुन्छ । तर मेसिनमा दुई हजार हाराहारी मात्रै खर्च हुने डा. श्रेष्ठ बताउँछन् । एकातर्फ श्रम, अर्कोतर्फ समय र लागत पनि घट्दा धानबाट कृषकले नाफा आर्जन गर्ने उनको भनाइ छ ।

तीन प्रकारका धान रोप्ने मेसिन

परिषद्का अनुसार नेपालमा धान भित्र्याउने मेसिन पाँच सयभन्दा धेरै छन् । धान काट्ने, चुट्ने र त्यसलाई सफा गर्ने मेसिनहरु तराई क्षेत्रमा धेरै रहेको परिषद्का कृषि इन्जिनियर सञ्जीवकुमार झाले बताए । तर धान रोप्ने मेसिन कमै मात्रामा प्रयोगमा आएको उनको भनाई छ ।

नेपालमा हाल कृषि अनुसन्धान परिषदले तीन प्रकारका धान रोप्ने मशिनहरु -राईस ट्रान्सप्लान्टर) कृषकको लागि सिफारिस गरेको छ । तराई, पहाडको भूगोलअनुसारका ती मेसिनहरु प्रयोग गर्न सकिने झा बताउँछन् । दुई ‘रो’ को धान रोप्ने मेसिन पहाडको गराहरुका लागि उपयुक्त र हलुका पनि हुने परिषद्ले जनाएको छ ।

यस्तो मेसिनले धान आफैं रोप्छ तर यसलाई मानिसले ट्याक्टर झै सञ्चालन गर्नु पर्छ । यस्तो मेसिनको मूल्य दुई लाख हाराहारी पर्छ । यस्तै खेतको अलि ठूलो बारीको अलि ठूलो चार ‘रो’ को मेसिन पाइन्छ । यस्तो मेसिन पेट्रोलले आफै चल्छ । यसलाई मानिसले दायाँ-बायाँ नियन्त्रण गरे पुग्छ । यस्तो मेसिनको मूल्य पाँच लाख हाराहारी पर्ने बताईन्छ ।

यस्तै मेसिनको माथी बसेर सञ्चालन गर्न सकिने ६ ‘रो’को मेसिन पनि बजारमा पाइने परिषद्ले जनाएको छ । यस्तो मेशिनले ठूलो गरामा रोपाइँ गर्न सकिन्छ । यसको नेपाली बजार मूल्य १० लाख हाराहारी पर्ने परिषद्ले जनाएको छ ।

धान धेरै फल्ने

मेसिनले रोपेको धानको उत्पादन हातले रोपेका भन्दा १० प्रतिशतले बढी भएको परिषद्ले जनाएको छ । रोपिएको धानको दुरी एकनाशको हुँदा उत्पादनमा बृद्धि भएको परिषद्का डा. श्रेष्ठको तर्क छ । परम्परागत ढंगले रोपाइँ गरेकाहरुका लागि  केही झण्झटिलो लागे पनि मेसिनको प्रयोगबाट रोपाइँ गर्नु निकै उत्तम हुने उनले बताए ।

कृषिलाई प्रविसिध मैत्री बनाउन उल्लेख्य मात्रामा काम भएको कृषि विभागले दाबी गरेको छ । कृषकलाई आकर्षण गर्न यान्त्रीकरणमा सरकारले ५० देखि ८५ प्रतिशतसम्म छुट दिएको विभागका प्रवक्ता डा.महादेव प्रसाद पौडेलले जानकारी दिए । धान रोप्ने मात्रै नभई सबै खाले कृषि उपकरणमा सरकारले व्यक्तिगत तथा सामूहिक आउनेलाई ठूलो अनुदान दिएको उनले जानकारी दिए ।

प्रविधिप्रति कृषक जानकार हुन नसक्दा समस्या भएको  कृषि अनुसन्धान परिषद्को बुझाइ छ । किसानले व्यक्तिगत भन्दा पनि सामूहिक र सेवा प्रदायकले सस्तोमा सेवा दिने गरी यन्त्रीकरण अगाडि बढाउनु पर्ने परिषद्को इन्जिनियरिङ महाशाखा प्रमुख श्रेष्ठ बताउँछन् । केन्द्र सरकार अन्तरगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषि यान्त्रीकरणमा अनुदान दिने गरेको विभागले जनाएको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?