Comments Add Comment

कोरोनाको कहरमै कांग्रेसलाई महाधिवेशनको चटारो

अझै सकिएन समायोजन, सजिलो छैन क्रियाशील सदस्यता वितरण

१५ असार, काठमाडौं । एकातिर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दो छ, अर्कोतिर स्थानीय तह, प्रदेश र केन्द्रको चुनावी सिजन नजिकिँदो छ । त्यसैले, आगामी फागुन ७-१० सम्म गर्ने तय भएको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ ।

पार्टी कार्यालय सानेपामा मंगलबार दिउँसो १ बजे बस्ने बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने सम्भावना छ । यद्यपि महाधिवेशनको मिति (२०७७ फागुन ७) भने हेरफेर नहुन सक्छ ।

आइतबार बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका हेरफेरको मस्यौदा ल्याएका थिए । एक नेता भन्छन्, ‘ आगामी फागुन ७ को मितिलाई हेरफेर नगर्ने गरी के-के गर्न सकिन्छ भनेर प्रस्ताव आएको थियो । त्यसमा हामीले आफ्नो सुझाव दिएका छन् । त्यसअनुसार भोलि प्रस्ताव आउला ।’

अझै सकिएको छैन समायोजन

कांग्रेसको वर्तमान कार्यसमितिको चारवर्षे म्याद गत फागुनमा नै सकिएको हो । समयमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष म्याद थप भयो र, २०७७ फागुन ७-१० काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यातालिका बन्यो ।

तर, त्यसअनुसार काम भएको छैन । गत कात्तिकमा नै सक्नुपर्ने अन्तरिम संरचना अझै बनेको छैन । अहिलेसम्म ४४ वटा जिल्लामा मात्र संरचना बनेको छ । बाँकी जिल्लामा काम भएको छैन । बिहीबार भएको छलफलमा असार महिनाभित्र अन्तरिम संरचना बनाउने प्रस्ताव पदाधिकारीहरुले राखेका थिए ।

तर, निर्वाचन समितिले द्रुत गतिमा काम गर्ने हो भने असार २२/२३ भित्र गर्न सक्ने बताएको छ । त्यसो भएमा बल्ल क्रियाशील सदस्यता वितरण तथा नवीकरण सुरु हुनेछ ।

सजिलो छैन क्रियाशील सदस्यता वितरण

कांग्रेसको विधानले क्रियाशील सदस्यता वितरण तथा नविकरणको अधिकार वडा कमिटीलाई दिएको छ । वडाले वितरण गरेको क्रियाशील सदस्य जिल्लाले पास गर्नुपर्छ । त्यसपछि उजुरी, छानविन लगायतको प्रक्रिया हुन्छ ।

क्रियाशील सदस्यले नै केन्द्रीय नेतृत्व चुन्ने महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएकाले सबैभन्दा चासो र विवाद यसमै हुने गरेको छ । एक नेता भन्छन्, ‘हामीकहाँ यसमै सधैं विवाद हुन्छ, यो सल्टियो भने महाधिवेशन गर्न गाह्रो हुन्न ।’

कतिपय नेताहरुले १३ औं महाधिवेशनका क्रियाशील सदस्यहरुकै आधारमा निर्धारित मितिमा नै महाधिवेशन गर्नुपर्ने तर्क गर्न थालेका छन् । कतिपयले वडाको साटो फेरि केन्द्रबाटै क्रियाशील सदस्य वितरण गर्ने विकल्प पनि सुझाएका छन् ।

केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल भने क्रियाशील सदस्यता वितरण गर्नुपर्ने बताउँछन् । अघिल्लो महाधिवेशनमा पनि थोरै मात्र क्रियाशील सदस्यता वितरण गरेको स्मरण गर्दै उनले भने, ‘पुरानै क्रियाशील सदस्यका आधारमा महाधिवेशन गर्दा पार्टीलाई नयाँ जीवन दिनुपर्ने आजको आवश्यकता सम्बोधन हुँदैन ।’

पछिल्लोपटक पार्टी एकतामा आएका विजयकुमार गच्छदार नेतृत्वको समूह र विभिन्न पार्टीहरुबाट प्रवेश गरेका नेता कार्यकर्ताका कारण पनि पुरानै क्रियाशील सदस्यताका आधारमा महाधिवेश गर्न नसकिने एक पदाधिकारीले बताए । उनले अघि भने, ‘अहिले हामीले गुमाएको भनेको चैतको दुई र वैशाख-जेठको ८ गरेर १० हप्ता हो । हाम्रो कार्यतालिकामा पुस र माघको समय खाली छ । त्यसैले सबै प्रक्रिया पुरा गरेर महाधिवेशन गर्न सकिन्छ ।’

क्रियाशील सदस्यता वितरणमा विवाद भए छानविन गर्न छुट्टै समिति बनाउने पूर्वसहमति छ । त्यसैले यसले केही समय लिने नेताहरु स्वीकार गर्छन् ।

आइतबार भएको छलफलमा महामन्त्री खड्काले साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण गर्ने र उजुरी लगायतका सबै प्रक्रिया पुरा गरेर २०७७ मंसिर २५ भित्र सभापतिलाई नामावली बुझाउने प्रस्ताव गरेको छ । त्यसपछि वडा, गाउँ-नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशन हुन्छ ।

यो सबै कोभिड-१९को संक्रमणले कस्तो रुप लिन्छ भन्नेमा पनि निर्भर हुन्छ ।

सरकारले कोरोना संक्रमण साउन अन्तिम साता तथा भदौ पहिलो साता पिकमा पुग्ने अनुमान गरेको छ । कोरोना नियन्त्रणमा आउन फागुन महिना लाग्न सक्ने स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । त्यसैले कांग्रेसको कार्यतालिका बनाए पनि त्यसअनुसार फटाफट कामहरु हुन्छन् भन्ने अवस्था छैन ।

तर, कोरोना संक्रमण छ भनेर अहिल्यै केन्द्रीय महाधिवेशन सार्न नहुने कांग्रेस नेताहरु बताउँछन् । ‘कोरोना छ भनेर सबैतिर काम रोकेर बस्ने हो भने २०७७ होइन, २०७८ को फागुनमा पनि अधिवेशन नहुन सक्छ’ एक नेता भन्छन्, ‘कोरोनासँग बाँच्न सिक्नुपर्छ । जहाँ संक्रमण फैलिन्छ, त्यहाँ पार्टीको गतिविधि रोकिन्छ । तर, जहाँ देखिएको छैन, त्यहाँ अन्तरिम संरचना निर्माण, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामहरु गर्दै गर्नुपर्छ ।’

शंका छ, तर प्रस्ताव आउँदैन

कांग्रेस सभापति शेरबहादुर देउवामाथि आरोप छ कि उनी महाधिवेशन गर्न चाहँदैनन् । देउवाको त्यही चाहकै कारण चार वर्षमा गर्नुपर्ने महाधिवेशन एक वर्षपछि धकेलिएको देउवा इतर समूहको दाबी छ । अहिले पनि देउवाले कोरोनालाई देखाएर महाधिवेशनलाई पर धकेल्ने त होइन भन्ने उनीहरुको आशंका छ ।

तर, पदाधिकारी बैठकमा देउवाले महाधिवेशनको मिति सार्ने कुनै प्रस्ताव ल्याएनन् । भोलि पनि त्यस्तो प्रस्ताव नआउने उनीनिकट नेताहरुले बताएका छन् । एक नेता भन्छन्, ‘काम गर्दै जाँदा फागुनमा सम्भव भएन भने महाधिवेशन वैशाख अन्तिमसम्म सार्न सकिन्छ, तर अहिले नै यो निर्णय हुन्न ।’

एक पदाधिकारीका अनुसार कांग्रेसलाई आगामी चुनावको डेडलाइनले दबाव दिन थालेको छ । किनकि २०७८ को दशैं-तिहारपछि स्थानीय तह चुनावको चटारो सुरु हुन्छ । यदि वैशाखमा महाधिवेशन गर्ने भनेर अहिले निर्णय गर्ने हो भने पार्टी पङ्ती सुस्ताउँछ र नचाहँदा नचाहँदै अधिवेशन भदौ -५ वर्षमा अधिवेशन हुन सकेन भने ६ महिना म्याद थप्ने संविधानले दिएको अन्तिम समयसीमा) मा पुग्न सक्छ । त्यसबेला हुने अधिवेशनले चुनावलाई प्रावित गर्छ ।’

यो खतरा बुझेका कारण पनि देउवा फागुनमै अधिवेशन गर्ने पक्षमा रहेको उनको दाबी छ । तर, देउवा इत्तर समूहका कतिपय नेताहरुले भने त्यस्तो अवस्था आएमा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संविधानको त्यो धारा नै संशोधन गर्ने र कोरोनालाई देखाएर केही वर्ष अधिवेशन नै नगर्ने आशंका गर्न थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment