Comments Add Comment

नयाँ आइजीपीको दौडधूप सुरु, सकिँदैछ ठाकुर ज्ञवालीको कार्यकाल

१६ असार, काठमाडौं । अबको ८ दिनपछि नेपाल प्रहरीले नयाँ कमाण्डर पाउँदैछ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले २४ असारपछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउनेछन् ।

ज्ञवाली घर गएसँगै २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट एक जनाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गर्नेछन् ।

प्रहरी नियमावलीले प्रहरी अतिरिक्त महानिरीक्षक–एआईजी वा प्रहरी नायब महानिरीक्षक–डीआईजी (एआईजी नभएको अवस्थामा) मध्येबाट आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था गरेको छ ।

जानकारहरुका अनुसार संगठनमा करियर प्लानिङको अभाव भएकै कारण प्रकाश अर्याल, सर्वेन्द्र खनाल र हालका आईजीपी ज्ञवाली डीआईजीबाटै आईजीपी भए । एआईजीको अनुभवविनै आईजीपी हुँदा संगठन हाँक्ने विषयमा परिपक्वता नदेखिएको कतिपय पूर्वप्रहरी अधिकृतहरुले टिप्पणी गर्दै आएका छन् ।

तर, चार वर्षपछि अब एआईजीबाट आईजीपी छनोट हुँदैछ । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।

उनीहरुमध्ये लम्साल आईजीपी ज्ञवालीकै ब्याचका अधिकृत हुन् । त्यसैले क्षेत्री र पाल अब महानिरीक्षक बन्ने दौडमा छन् । उनीहरुमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन् ।

आईजीपी नियक्तिको समय नजिकिँदै गर्दा एआईजीद्वयले आ–आफ्नो पक्षमा लबिङ तीब्र बनाएका छन् । यद्यपि, विगतमा जस्तो एकअर्काविरुद्ध दोषारोपण नगर्ने सहमति भएको दुवैले बताउने गरेका छन् ।

सरकारले भने हालसम्म आईजीपी नियुक्तिबारे निष्कर्ष निकालिसकेको छैन । गृह मन्त्रालयका एक अधिकारीका अनुसार हालसम्म महानिरीक्षक नियुक्तिबारे ठोस छलफल नै भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसबारे कुनै संकेत नदिएको उनले बताए ।

दुवैका आ–आफ्नै विशेषता

संगठन प्रमुख बन्ने होडमा रहेको दुवै अधिकृतको भिन्दाभिन्दै विशेषता छन् । प्रहरी अधिकृतहरुका अनुसार संगठनमा थापाको बौद्धिक र इमान्दार अधिकृतको छवि छ भने पाल अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् ।

थापा राजनीतिक समन्वयमा त्यति पोख्त नभएको पनि अधिकृतहरु बताउँछन् । महानगरीय प्रहरी कार्यालयमा रहँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले थापालाई त्यति रुचाएनन् । गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘उपत्यका प्रहरी प्रमुख हुँदा मन्त्रीज्यूसँग समन्वय गर्ने उहाँलाई जति अवसर थियो, त्यति सदुपयोग गर्न सक्नुभएन ।’

यद्यपि, पछिल्लो समय थापा सम्बन्ध सुधारमा लागेका छन् । इन्स्पेक्टरबाट सेवा प्रवेश गरेबाटै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल भए । थापा राजनीतिक लबिङविनै संगठनले माया गरेर वरियतामा अगाडि बस्न सफल अधिकृत भएको संगठनका अधिकृतहरुको बुझाइ छ ।

पाललाई व्यापारिक घरानासँग निकट हुने गरेको आरोप पनि लाग्ने गरेको अधिकृतहरु बताउँछन् । तर, कार्यक्षेत्रमा प्रस्तुत गरेको क्षमताका हिसाबमा उनले आफूलाई अब्बल अधिकृतका रुपमा चिनाउन सफल भएका छन् ।

थापाको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन् । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन् भने एकडेमी र सचिवालयमा पनि बसेका छन् ।

प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । प्रवक्ता हुँदै डीआईजी भएका उनले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व पनि सम्हाले ।

हाल एआईजीका रुपमा उनी मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व गरिरहेका छन् ।

पाल जागिरे जीवनको अधिकांश समय फिल्डमा खटिएका अधिकृतहरु बताउँछन् । इन्स्पेक्टर हुँदा उनले वडा प्रहरी कार्यालय, धनगढी र बौद्धको नेतृत्व सम्हालेका छन् ।

त्यतिबेलै जिल्ला प्रहरी कार्यालय, काठमाडौं, नगर प्रहरी, उपत्यका प्रहरी अपराध अनुसन्धान शाखा र द्वन्द्वकालमा विशेष अपरेशनका लागि रोल्पामा खटिएका थिए ।

डीएसपी बढुवा भएपछि उनले डडेल्धुरा, काठमाडौं प्रहरीको मुद्दा शाखा र इन्टलिजेन्स, प्रधानमन्त्री सुरक्षा इकाइ, बालुवाटार, जिल्ला प्रहरी कार्यालय, नुवाकोट लगायतमा काम गरेका छन् । प्रहरी उपरीक्षक (एसपी) भएपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषा, रुपन्देही र कास्कीको नेतृत्व गरे ।

प्रहरी महानिरीक्षकको सचिवालयमा पनि बसे । अपराध महाशाखा, दंगा प्रहरी गण, त्रिपुरेश्वरमा पनि उनी बसेका छन् भने वरिष्ठ उपरीक्षक (एसएसपी) बनेपछि उनले संघीय प्रहरी इकाइ कोशीमा काम गरेका छन् ।

डीआईजी भएपछि प्रदेश नं. २ प्रहरी कार्यालय र विशेष ब्युरोको नेतृत्व पालले गरेका छन् । हाल एआईजीका रुपमा उनले अपराध अनुसन्धान तथा कार्य विभागको नेतृत्व गरिरहेका छन् ।

बढुवाको आधार

प्रहरी नियमावलीले महानिरीक्षक बढुवामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमतालाई आधार मान्ने भनेको छ । त्यस्तै, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा बढुवा गर्नुपर्ने भनेको छ ।

साथै, सरकारले उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्न सकिने उल्लेख छ । यही प्रावधानका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटकपटक विवाद देखिने गरेको प्रहरी अधिृकतहरु बताउँछन् ।

ज्ञवालीको कार्यकाल औसत

सरकारले हालका आईजीपी ज्ञवालीलाई २८ माघ २०७६ मा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको थियो । महानिरीक्षकमा बढुवा हुुन अघि उनी संगठन बाहिर त्यति चिनिएका अधिकृत होइनन् ।

यद्यपि, संगठनभित्र भने इमान्दार र निष्कलंकित अधिकृतका रुपमा परिचित थिए । उनले जिम्मेवारी सम्हालेलगत्तै कञ्चनपुरको निर्मला हत्या प्रकरणको रहस्य सुल्झाउनु आफ्नो प्रमुख उद्देश्य हुने बताएका थिए ।

चर्चित निर्मला पन्त हत्या प्रकरणका बेला केन्द्रीय अनुसन्धान ब्युरोमा रहेर छानविनमा संलग्न भएका कारण पनि उनका पालामा अनुसन्धानले गति लिने अपेक्षा गरिएको थियो । तर, ज्ञवालीले त्यता ध्यान दिएनन् ।

नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भने यसमा उनलाई दोष दिने ठाउँ पनि नभएको बताउँछन् । ‘पहिलो कुरा उहाँको कार्यकाल नै छोटो थियो, दोस्रो कोरोना भाइरसका कारण पनि उहाँले अन्यत्र ध्यान दिन पाउनुभएन’, मल्लले अनलाइनखबरसँग भने, ‘महामारीमा केन्द्रित भएकाले उनको राम्रोसँग मूल्यांकन हुनै पाएन ।’

प्रहरीको सरुवा–बढुवामा चरम् राजनीतिक हस्तक्षेप हुने गरेको अधिकृतहरु बताउँछन् । ज्ञवालीले सरुवाती चरणमा बढुवामा ‘स्ट्याण्ड’ लिएको भन्दै चर्चा भएको थियो । तर, पछिल्लो पटक ज्ञवालीमाथि बालुवाटार र गृह मन्त्रालय हाबी भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

मल्ल भने केही गुनासा भए पनि विगतका तुलनामा ती औसत रहेको बताउँछन् । डीआईजीको दरबन्दी घटाउने विषयमा ज्ञवाली र गृह सचिव महेश्वर न्यौपानेबीच मतभेद देखियो । जसमा ज्ञवालीले दरबन्दी कटौती गर्नु नहुने पक्षमा स्ट्याण्ड लिएको चर्चा गरिएको थियो ।

यद्यपि, दरबन्दी कटौतीपछि मात्रै २९ चैतमा १० जना एसएसपीको डीआईजीमा बढुवा भएको थियो । ज्ञवालीको कार्यकालमा प्रहरीले खोजी सूचीमा राखेको लिटल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध पनि सर्च अपरेशन चलायो । यद्यपि, उनी फेला परेनन् ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत भन्छन्, ‘समग्रमा आईजी सा’बको कार्यकालमा कुनै उल्लेखनीय काम पनि हुनसकेन । विवादमा आउने खाल्को काम पनि भएन ।’

यो पनि पढ्नुहोस झिम्रुकको पानी खाएका आईजीपी : ‘लो प्रोफाइल’का भाग्यमानी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment