Comments Add Comment

चालकको माग : टेम्पो चलाउन देऊ, नभए राहत देऊ !

फाइल तस्वीर

१६ असार, काठमाडौं । गत १४ जेठदेखि लकडाउन खुकुलो भए पनि सार्वजनिक गाडीलाई सञ्चालन गर्न अनुमति दिइएको छैन । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ सम्म अहिलेकै लकडाउनलाई जारी राख्ने निर्णय गरेको छ ।

सरकारले सार्वजनिक सवारी चलाउन नदिँदा खासगरी उपत्यकामा महिलाले उपार्जनको माध्ययम बनाएको सफा टेम्पोका चालकहरु चर्को मारमा परेका छन् । तीन महिनासम्म टेम्पोलाई सडकमा निकाल्न नसक्दा आफूहरु भोकै मर्ने अवस्थामा पुगेको ट्याम्पो चालकहरु बताउँछन् ।

नेपाल सफा परिवहन व्यवसायी संघका अनुसार काठमाडौंमा सात सय वटा सफा ट्याम्पो गुड्ने गथ्र्यो । र, करिब पाँच सय जना महिला टेम्पो चालक थिए । ‘अधिकांश अत्यन्तै निम्न आय भएका महिलाहरुले टेम्पो चलाएर गुजारा चलाउँथे । धेरैजना एकल महिला थिए’, संघका अध्यक्ष विष्णु धितालले भने, ‘आय नै सुकेपछि चालकहरु भोकभोकै मर्ने अवस्थामा पुगेका छन् ।’

यो पनि पढ्नुहोस भोकले मर्ने भइयो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

सफा टेम्पो ब्याट्रीबाट गुड्ने गर्छ । ग्यासबाट सञ्चालन हुने टेम्पो अत्यन्तै न्युन छ । टेम्पोका लागि काठमाडौंमा ३५ वटा चार्जिङ स्टेसन रहेका छन् । तर, टेम्पो चार्ज हुन नपाउदा र सञ्चालन नहुँदा अधिकांश टेम्पोको ब्याट्री खराब भैसकेका छन् । धिताल भन्छन्, ‘एकातिर चालकको बिजोग छ । अर्को तर्फ व्याट्री ड्यामेज भएर एक अर्ब रुपैयाँ बराबरको घाटा पुगिसक्यो ।’

निजी गाडीहरु गुडिरहेका बेला सफा ट्याम्पोलाई पनि दुरी कायम गरी सञ्चालनको अनुमति दिन अध्यक्ष धितालले सरकारसँग आग्रह गर्छन् । ‘ठूलो गाडीमा जस्तो धेरै मानिसको भिडभाड पनि हुँदैन । पेट्रोल डिजेल पनि चाहिँदैन’, उनी भन्छन्, ‘सफा टेम्पोको सञ्चालन खोलिदिए टेम्पोबाट आश्रित २०/२५ हजार मानिसको चुलो पनि राम्रोसँग बल्थ्यो र उपत्यकाभित्रका जनताले सुविधा पनि पाउँथे ।’

कतिपय महिलाले ऋण गरेर सहकारीबाट कर्जा लिएर किस्तामा टेम्पो खरिद गरिरहेका छन् । थुप्रैको टेम्पो नचले भान्सा नै नचल्ने समस्यामा छन् । अध्यक्ष धितालले भने, ‘कि सरकारले टेम्पो सञ्चालनको अनुमति दिनुपर्‍यो, होइन भने चालकलाई उचित राहतको व्यवस्था गर्नुपर्‍यो ।’

यो पनि पढ्नुहोस लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment