Comments Add Comment

कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका भने हेरफेर

१६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी कार्यतालिकामा केही परिमार्जन गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।

यस्तै, साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरूको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने र पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, ७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरूमा माघ ६ गते अधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको छ । पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षड्यन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए । संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताए ।

‘नक्साको विषयलाई आफूले दिएको अटोग्राफजस्तो सोचेर पारित भएपछि मलाई हटाउनतर्फ अमूक देश लाग्यो भन्ने अभिव्यक्ति गैरजिम्मेवार, कूटनीतिक मूल्यमान्यताभन्दा बाहिरको छ । नक्सा पारित गरेको विषय एक प्रधानमन्त्रीको विषय होइन । सिङ्गो देश एक भएर संसदले पारित गरेको नक्सा हो । सबैको साझा स्वामित्व छ’ उनले भने ।

साझा संकल्पका साथ नक्सा पारित गर्दा देश एक ठाउँमा उभिएको बेला दिल्लीसँग दृढताका साथ कुरा गर्न पनि आग्रह गरिएको प्रवक्ता शर्माले बताए । नक्सा प्रकाशित भएपछि भूमि फिर्ताका लागि पहल गर्न आग्रह गर्दा पनि प्रधानमन्त्रीले विषयान्तर गर्न खोजेको उनले बताए ।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै शर्माले प्रधानमन्त्रीले आफ्ना सहपाठी वा अन्य कुनैसँग सम्बन्धित भएर दिएको अभिव्यक्ति गैरराजनीतिक भएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment