+
+

आधा घण्टामै सक्यो सलहले देउखुरी क्षेत्रको मकै

विनोद घिमिरे विनोद घिमिरे
२०७७ असार १६ गते १९:२९

१६ असार, देउखुरी । दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । मंगलबार दिउँसो राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकामा सलहका बथान देखिएका छन् ।

सलहका बथानले मकैबाली नष्ट गरेको राप्ती गाउँपालिका–२ बराखुटीका वासिन्दा वासुदेव न्यौपानेले बताए । उनका अनुसार करिब आधा घण्टामा सो क्षेत्रको आधाभन्दा धेरै मकैबारी उजाड बनाएर हिँडेको छ ।

त्यस्तै सोही ठाउँमा स्थायी घर भएका शिक्षक यादव आचार्यले दुई किलोमिटर क्षेत्रमा सलह छपक्कै भएको जानकारी दिए । उनी भन्छन् ‘सलह भन्ने किरा त अचम्मका हुने रहेछन्, करिब दुई किलोमिटर टाढासम्म बारीमा छपक्कै बसे’, उनले अनलाइनखबरसँग भने, ‘भर्खर चमर लाग्न थालेको मकै सबै सखाप पारे ।’

त्यस्तै, सोही वडाको लालमटिया भन्ने ठाउँका किसान बुद्धिराम चौधरीले आफ्नो आठ कठ्ठामा लगाएको मकै आधाभन्दा धेरै ध्वस्त भएको जानकारी दिए । उनले थाल ठटाएर र धुँवा उडाएर पनि सलह नभागेपछि मकैको बोट हल्लाएर लखेटेको जानकारी दिए ।

राप्ती गाउँपालिकाका किसानहरू यसैवर्ष अमेरिकी फौजी किराबाट पीडित भएका थिए । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् । फौजी किराबाट जोगिन घरेलु औषधि छरेर पनि नभएपछि गाउँपालिकाले नै विषादी उपलब्ध गराएको थियो ।

सलहलाई भगाउन स्थानीयले थाल ठटाएको, टायर बालेको र हल्लाखल्ला गरेको शिक्षक आचार्यले बताए । ‘यति गर्दा माथिमाथि उडेका चाहिँ बस्न सक्दा रहेनछन्,’ उनले भने, ‘तर बाली खाइरहेका त सितिमिति भाग्दा रहेनछन् । बोट हल्लाएपछि मात्रै उडेर जाँदा रहेछन् ।’

राप्ती गाउँपालिका वडा नं. ३ मसुरियामा पनि सलह किरा देखिएको स्थानीयले बताएका छन् ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी सलहको बथान थुप्रै बिघामा लगाइएको मकै बालीमा बसे पनि कसको बारीमा कति क्षति भयो भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन् । ‘क्षति त पुर्‍यायो नै तर कति क्षति भयो भनेर अहिल्यै भन्न सकिने अवस्था छैन,’ उनले भने ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले भने सलह किराले दाङमा मकै बालीमा क्षति पुर्‍याउन थालेको बताए । ‘ठूलो झुण्डमा देखिएको सलहले मकैमा क्षति पुर्‍याउन थालेको छ । हामीले सलह धपाउन सक्रिय हुन सन्देश प्रवाह गर्दै आएका छौं,’ धितालले भने ।

सलहका बथान दाङमा देखिन थालेपछि पालिकाहरूले स्थानीय एफएम रेडियोमार्फत् सलह भगाउने घरेलु उपायसहिको सन्देश प्रवाह गर्दै आएका छन् ।

मकै दाङको प्रमुख खाद्यान्न बाली हो । मंगलबार नै राजपुर गाउँपालिका वडा नं. २ को चम्फानगर, गढवा गाउँपालिका वडा नं. ७ मानपुर र लमही नगरपालिका वडा नं. ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको छ । यहाँका किसानहरूले पनि रित्ता भाँडा ठटाउने, आगो बालेर धुवाँ उडाउने लगायतका काम गर्दै आएका छन् ।

दाङमा सुरुमा गत आइतबार तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेमा सलहको सानो झुण्ड देखा परेको थियो । त्यो झुण्डले बालीनालीमा क्षति नपुर्‍याउने भन्दै नआत्तिन कृषि ज्ञान केन्द्रले दाङवासीलाई आश्वस्त पारेको थियो । तर मंगलबार एक्कासी सलहको ठूलो बथान दाङको अन्न भण्डार मानिने देउखुरी क्षेत्रमा देखिएपछि किसानहरू त्रसित भएका छन् ।

हेर्नुहोस् भिडियो

भिडियो सौजन्‍य : बासुदेव न्यौपाने

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?