Comments Add Comment

संसदीय समितिले भन्यो : बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देऊ

१६ असार, काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

‘उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने’ मंगलबार बसेको समिति बैठकले सरकारलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

आवश्यक सर्तकता अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेकाले सरकारलाई यस्तो निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावल थापाले जानकारी दिइन् ।

यसैगरी, समितिले प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन र अनुगमन गर्न संघीय सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले स्थानीय तहले बजेट अभावमा कोरोना भाइरस रोकथाममा प्रभावकारी काम गर्न नसकेको बताएका थिए ।

प्रमुख विपक्षी कांग्रेसकी सांसद अनिता देवकोटाले बिरामी, काठमाडौंमा जागिर भएका र काठमाडौंमा नै व्यवसाय गर्नेहरुलाई सहज रूपमा उपत्यका आउन दिनुपर्ने बताएकी थिइन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्नुपर्ने बताए । अन्त कडाइ नगर्ने र थानकोट आइपुगेपछि फिर्ता पठाउने कार्य उचित नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

जवाफमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हदयेश त्रिपाठीले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सक्दो गरेको र राम्रो गरेको बताए ।

कोरोना भाइरस नियन्त्रणका स्थानीय तहले खेलेको भूमिकाले संघीयताको अभ्यासलाई पुष्टी गरेको पनि उनको भनाइ छ ।

‘भूकम्पमा स्थानीय तहको अभावको महसुस भएको थियो । तर, अहिले कोरोना भाइरस नियन्त्रणमा सबैभन्दा बढी काम स्थानीय तहले गरेर आफ्नो भूमिका देखाएका छन्’ उनले भने ।

तर, स्थानीय तहले संघले पैसा नदिएको भनेको भन्नेमा उनले सहमति जनाएनन् । ‘स्थानीय तहबाट जति पनि खर्च भएका छन् त्यो संघीय सरकारले नै पठाएको हो । त्यसकारण संघले पैसा दिएन भन्ने सही होइन बरु अपुग भएको हुनसक्छ’ मन्त्री त्रिपाठीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment