Comments Add Comment

देवशयनी एकादशी : तन र मनलाई शुद्ध एवं संयमित राख्ने बेला

शास्त्रअनुसार असार महिनाको शुक्ल पक्षको एकादशी तिथिलाई ‘विष्णुशयनी’ वा ‘देवशयनी’ एकादशी भनिन्छ । ‘देवशयनी’ अर्थात् भगवानको शयनको प्रारम्भ । देवशयनका साथै ‘चतुर्मास’ पनि प्रारम्भ हुन्छ । देवशयनको समय अर्थात् अहिलेको अवस्थामा विवाह, गृहारम्भ, गृहप्रवेश, मुन्डनजस्ता मांगलिक कार्यमा विराम लगाइन्छ । यो समयमा यस्ता कार्यहरू गर्न उचित मानिँदैन ।

सनातन धर्मको सौन्दर्य नै यही हो कि देश-काल, परिस्थितिगत व्यवस्थालाई पनि धर्म वा ईश्वरमा जोडिदिएको छ। धर्म एक व्यवस्था हो र यस व्यवस्थतालाई सुव्यवस्थित रूपले प्रवाहमान राख्नका लागि आवश्यक थियो कि यसको नियम पालना गर्नु । कुनै पनि नियमलाई समाजले दुई कारणले आत्मसात गर्छ । पहिलो लोभ र दोस्रो भय । यसका अतिरिक्त एक तेस्रो सर्वश्रेष्ठ कारण पनि छ, त्यो हो प्रेम । तर यसलाई महत्व दिने विरलै भेटिन्छन् । के भगवान पनि सुत्छन् ?

हिन्दु धर्ममा देवशयन उत्सवको पछाडि आध्यात्मिक कारणभन्दा देश-काल-परिस्थितिगत कारण बढी छ । यसबेला वर्षा ऋतु सुरु हुन्छ । सामान्य जनजीवन वर्षाका कारण केही अस्तव्यस्त हुन्छ र गृहकेन्द्रित हुन पुग्छन् । गीतामा भगवान कृष्ण भन्छन्, ‘या निशा सर्वभूतानाम् तस्यां जागर्ति संयमी’ अर्थात जब सबैका लागि रात्रि हुन्छ, योगी तब पनि जागा हुन्छन् । यसको आशय यो होइन कि, शारीरिक रुपले योगी सुत्दैनन्, सुत्छन् तर चैतन्यको तहमा उनीहरू जागा नै हुन्छन् ।

निद्राको नाम नै संसार हो र जागरणको नाम ईश्वर । देवशयन, देवजागरण यी सबै व्यवस्थागत कुरा हुन् । वर्तमान पिंढीलाई धर्मको मालामा  जोड्ने हो भने यस परम्परामा लुकेको उद्देश्यलाई बुझाउन आवश्यक छ। हामीले देवशयनलाई आफ्नो कामना र वासनामाथि संयम राख्ने सन्दर्भमा बुझ्न सक्छौं । हाम्रो शास्त्रमा पनि देवशयनको अवधिमा कतिपय कुरामा निषेध एवं वर्जित गरिएको छ। जसले साधक देवशयनको अवधिमा संयमित जीवन-यापन गर्न सकोस् । देवशयन हामीलाई त्यागको मार्गमा अग्रसर हुनका लागि सहायक हुन्छ ।

देवशयनी एकादशीलाई अत्यन्त पवित्र तिथि मानिन्छ । यस समयमा मन, कर्म, वचनलाई शुद्ध गर्नुपर्छ । यसबेला आफूलाई संयमित राख्नुपर्छ । भक्तिभाव राख्नुपर्छ । मनलाई सकारात्मक राख्नुपर्छ । खराब खानपान र खराब व्यवहार पूर्णत: त्याग्नुपर्छ । क्रोध, मोह, लोभ, ईर्ष्याजस्ता मनोविकार त्याग्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment