Comments Add Comment

आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी

१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् ।

तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा हुन ७ दिन बाँकी छ । भावी आईजीपीका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दाबेदार छन् ।

प्रतिस्पर्धामा रहेका क्षेत्री र पालले एकअर्काबीच सौहार्दतापूर्ण वातावरण दिएको सन्देश दिन सँगै हिँड्न थालेका छन् ।

यसैको छनक दिँदै बुधबार ललितपुर प्रहरीको ब्यारेक उद्घाटन गर्ने कार्यक्रम देखियो । उनीहरू एउटै गाडीमा चढेर कार्यक्रम स्थलमा पुगेका थिए । मञ्चमा एउटै सोफामा बसे, बेलाबेला कानेखुसी गर्थे । यसले प्रहरीमा पनि एकखाले उत्साह दिएको अधिकृतहरू बताउँछन् ।

मंगलबार प्रहरी अस्पतालको कार्यक्रममा पनि एआईजी थापा र पाल एकैसाथ देखिएका थिए । यसबारे चासो राख्दा एआईजी थापा भन्छन्, ‘एकअर्कालाई दोषारोपण गरेर संगठनलाई नराम्रो हुने हो, हामीले एकजुट भएर अघि बढ्ने भनेका छौं ।’

पाल पनि आफूहरूमध्ये जो आईजीपी भए पनि स्वीकारेर अघि बढ्ने बताउँछन् । ‘संगठनबाट छाडेपछि पनि हामी साथी हौं, त्यसैले मिलेर अघि बढ्छौं’, उनले अनलाइनखबरसँग भने ।

प्रहरीका अवकाश प्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी एआईजी थापा र पालले देखाएको हार्दिकताले संगठनको तल्लो तहसम्म अनुशासन कायम गर्नका लागि सुखद् सन्देश दिने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘यो भनेको एकअर्कालाई स्वीकार्नु हो, यसलाई नेतृत्वमा आउने भावी अधिकृतहरूले पनि निरन्तरता दिनुपर्छ ।’

जानकारहरूका अनुसार संगठनका उच्च अधिकृत अनुशासनमा नबसी मातहतका कर्मचारीबाट मात्र अनुशासन खोज्ने परम्परा प्रहरीमा थियो । यसरी उच्च नेतृत्व एकजुट हुँदा संगठन बद्नामीबाट मात्र जोगिँदैन, बाह्य चलखेलबाट पनि जोगिन्छ ।

विगतको दुःखद् इतिहास

विगतमा प्रहरीको महानिरीक्षक नियुक्तिको विवादले संगठन नै बदनाम हुने गरेको थियो । ठाकुरअघि सर्वेन्द्र खनाल महानिरीक्षकमा नियुक्ति हुँदा प्रतिष्पर्धी डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । त्यसपछि दोस्रो वरीयतामा रहेका एआईजी पुष्कर कार्कीलाई पनि खनालले सँगै लिएर अघि बढ्न सकेनन् । अवकाश पाउने अन्तिम दिनसम्म पनि दुईबीच राम्रो सम्बन्ध स्थापित हुन सकेन ।

खनालअघि प्रकाश अर्याल आईजीपी भएका बेला प्रहरीले सबैभन्दा बढी बदनामी व्यहोर्नुपर्‍यो ।

जयबहादुर चन्दलाई सरकारले आईजीपीमा बढुवा गरेसँगै प्रतिष्पर्धी नवराज सिलवालले अदालतमा मुद्दा दायर गरे । त्यसपछि सरकारले तेस्रो वरीयताका अर्याललाई नेतृत्व सुम्पियो । सिलवालले पुनः आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए । तर अदालतले खारेज गरिदिएसँगै सिलवालले राजीनामा दिए ।

त्यसअघि उपेन्द्रकान्त अर्यालका पालामा प्रतिष्पर्धी राजेन्द्रसिंह भण्डारी प्रहरी प्रधान कार्यालय नै टेकेनन् । उनले बाँकी कार्यकाल राष्ट्रिय सुरक्षा परिषद्मा बिताएका थिए ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment