Comments Add Comment

प्रस्तावित ‘नेकपा एमाले’ का महासचिव भन्छन् : ओली आउँछन् भने स्वागत छ

१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता ।

यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो ।

नेकपाको स्थायी कमिटी बैठकमा केही नेताहरूले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनका लागि यो चालबाजी रचेको आरोप लगाए । उपाध्यक्ष बामदेव गौतमले दल दर्तामा प्रधानमन्त्री संलग्न भएको आफूसँग प्रमाण नै रहेको दाबी गरे । अर्कोतर्फ ओली गुटका नेता–कार्यकर्ता चाहिँ ओलीलाई आरोपित गर्न प्रचण्ड समूहले नै यो जाल बुनेको हल्ला गरिरहेका छन् ।

नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट गत १२ असारमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ । निर्वाचन आयोगमा दर्ता गरिएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ, जसअनुसार अध्यक्ष र उपाध्यक्षमा महिला छन् । अध्यक्षमा प्रस्तावि सन्ध्या तिवारी विराटनगरकी हुन् भने उपाध्यक्षमा प्रस्तावित भगवती खड्का रामेछापकी । यसैगरी महासचिव मनिष जनकपुरका हुन् । केन्द्रीय समितिमा ५ जना काठमाडौंका छन् ।

प्रस्तावित २१ सदस्यीय केन्द्रीय समितिमा १० जना महिला छन् । उनीहरूमध्ये एक केन्द्रीय सदस्य ७५ वर्षका छन् बाँकी सबै ५० वर्षमुनिका छन् । अधिकांश ३० देखि ४० वर्षसम्मका युवा छन् । अध्यक्ष तिवारी भने ४७ वर्षकी हुन् ।

तिवारीको पृष्ठभूमि खुलेको छैन । उनी सार्वजनिक हुन पनि चाहेकी छैनन् । उपाध्यक्ष भगवती खड्काको नाम भने परिचित नै हो, खासगरी खेलकुद क्षेत्रका व्यक्तिहरूका लागि । खड्का चर्चित महिला रेसलर हुन् । उनले केही टेलिश्रृङ‍्खलामा अभिनयसमेत गरेकी छन् । राजनीतिमा चाहिँ उनी सक्रिय थिइनन् ।

यो पनि पढ्नुहोस को-को छन् नेकपा एमालेको केन्द्रीय समितिमा ? (सूचीसहित)

प्रस्तावित एमालेको नेतृत्व पङ‍्क्ति पहिचान गर्ने क्रममा हामीले महासचिवका रुपमा प्रस्तावित महासचिव मनिषकुमार उपाध्यायलाई भेट्टायौं । फोन संवादमा उनी राम्रोसँग खुल्न नचाहे पनि केही कुरा सेयर गरे ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कुनै पनि नेताहरूसँग आफूहरूको सम्बन्ध नभएको र कसैबाट परिचालित पनि नभएको मनिषले दाबी गरे । आफूहरू सबैजना मदन भण्डारीको अनुयायी भएको कारणले नेकपा एमालेको नाममा दल बनाउन चाहेको उनको भनाइ छ ।

‘हामी सबै फरक-फरक पेसा व्यवसायमा आबद्ध युवा हौं । कोही कपडा व्यवसायी, कोही मसला व्यवसायी, कोही खेलाडी, कोही समाजसेवी छौं । केही महिनादेखि विभिन्न ढंगले संगठित भएर राजनीतिमा आउने गृहकार्य गरिरहेका थियौं । ३–४ महिनाको तयारीपछि मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पार्टी दर्ताको लागि निवेदन दिएका हौं,’ उनले सुनाए ।

उनले आफूहरूलाई ‘पूर्वएमाले’ पनि भन्न नमिल्ने बताए । ‘मदन भण्डारीको विचारबाट प्रभावित मात्र हौं । म पहिले एमालेको सामान्य शुभचिन्तक थिएँ, तर पार्टीको सदस्यता लिएको होइन । अहिले नेकपामा पनि हामी छैनौं,’ उपाध्यायले भने ।

आफूहरू देशका लागि केही गरौं भन्ने भावनाबाट राजनीतिमा आउन चाहेको उनको भनाइ छ । ‘हामी सबैको एउटै हुटहुटी यही थियो कि देश सही दिशामा जान सकेन । अब हामीले नै केही गर्नुपर्छ । त्यसका लागि राजनीतिमा आउनुको विकल्प देखेनौं । राजनीतिमा आउनका लागि मदन भण्डारीको विचारलाई हामीले पथप्रदर्शकका रुपमा अपनाउने निर्णय गर्‍यौं । एमाले नाम चाहिँ ब्राण्डिङ गर्न सजिलो हुन्छ भनेर छनोट गरेका हौं । हाम्रो अरू कुनै अन्तरनिहित स्वार्थ छैन ।’

अहिले नेकपामा उत्पन्न भएको विवादसँग आफूहरूको कुनै सरोकार र साइनो नरहेको उनले दाबी गरे ।

‘नेकपामा विवाद उत्पन्न हुनु र हामीले पार्टी दर्ता गराउनु सँगसँगै जस्तो भयो । स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको जस्तो मात्रै हो,’ उनले भने ।

उपाध्यायसँगको थप संवाद :

‘प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर तपाईंहरूलाई भेटेको हल्ला पनि सुनिन्छ नि ?’

त्यो वाहियात हल्ला हो । हामी अहिलेसम्म बालुवाटारमा टेकेका पनि छैनौं ।

भोलि नेकपा फुट्ने अवस्था आयो र ओलीले नेकपा एमाले ब्युँताउन चाहनुभयो भने तपाईंहरू के गर्नुहुन्छ ?

त्यो उहाँहरुको कुरा हो । हामीले के गर्न सक्छौं र ?

मेरो मतलब उहाँले नेकपा एमाले नाम तपाईंहरूसँग माग्नुभयो भने दिन तयार हुनुहुन्छ कि हुनुहुन्न ?

हामीले दर्ता गरेको नाम अरूलाई किन दिने ? दिने प्रश्नै उठ्दैन । बरु उहाँहरू यदि हाम्रो पार्टीमा प्रवेश गर्न चाहनुभयो भने स्वागत गर्न सकिन्छ ।

ओलीले नै तपाईंहरूको पार्टीमा प्रवेश गर्ने आशा पनि गर्नुभएको छ ?

त्यस्तो हुन सक्छ । ओली मात्र किन माधव नेपाल, वामदेव गौतमलगायत सबै नेताहरूलाई हाम्रो विचार मन परेर आउनुभयो भने स्वागत नै गर्नेछौं ।

तपाईंहरूको संगठन चाहिँ कत्रो छ अहिले ?

२१ जनाको केन्द्रीय समिति प्रस्ताव गरेका छौं‌ । सदस्य चाहिँ ५ सय ७२ जना हुनुहुन्छ । यसलाई बढाउँदै लैजाने छौं ।

अर्को चुनाव लड्नुहुन्छ होला, के लक्ष्य लिनुभएको छ ?

पार्टी खोलेपछि चुनाव त लड्ने नै हो । परिणामको विषयमा अहिले नै सोचेका छैनौं । हामी असल राजनीतिक संस्कार विकास गर्न चाहन्छौं ।

तपाईंहरू संगठित हुनुभएको चाहिँ कसरी हो ?

सकारात्मक सोच लिएपछि आपसमा जोडिन समय लाग्दैन । हामी यही माध्यमबाट संगठित भएको भन्ने छैनौं । साथीभाइबीच सल्लाह गर्दै अगाडि बढेका हौं ।

निर्वाचन आयोगले तपाईंहरुको पार्टी दर्ता गर्ला त ?

किन नगर्नु ? प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमा नै हामीले प्रमाणपत्र पाउनेछौं । त्यसपछि मिडियामा आउछौं ।

तपाईंको अध्यक्षसँग सम्पर्क गराउन सक्नुहुन्छ ?

अध्यक्षजी अहिले काहीँ पनि बोल्न चाहिरहनुभएको छैन । नम्बर पनि कसैलाई नदिने भन्ने छ । यसमा केही कारण छन् । हामी प्रमाणपत्र पाएपछि मात्रै तपाईंहरूमाझ आउने छौं ।

अध्यक्षको पृष्ठभूमि चाहिँ के हो ?

उहाँ समाजसेवामा आबद्ध हुनुहुन्छ । अरू बताउन मिल्दैन ।

फेसबुकमा फेला पार्न सकिएला नि ?

अहँ फेसबुक सेसबुक केही छैन । अहिले हामी सबै गोप्य नै छौं ।

(फोन काटिन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment