Comments Add Comment

होटल सञ्चालन गर्न पाउनुपर्ने वीरगञ्जका व्यवसायीको माग

१७ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवासायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले लकडाउनमा अन्य व्यवसाय खोल्न छुट दिए जस्तै होटल व्यवसाय पनि खोल्न पाउनुपर्ने माग राखेका हुन् ।

कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाएर व्यवसाय सञ्चालनका लागि अनुमति दिन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकालाई समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा वीरगञ्जका अध्यक्ष बुद्धि बहादुर पन्त (हरि)को नेतृत्वमा होटल तथा पर्यटन व्यवसायीहरु प्रशासन र महानगरपालिका पुगेका थिए । संघमा ३३ वटा होटल तथा पर्यटन व्यवसायी आवद्ध छन् ।

प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र महानगरपालिका प्रमुख विजय कुमार सरावगीले ज्ञापन पत्र बुझ्दै सरकारले अर्को आदेश जारी नगर्दासम्म खोलाउन नसक्ने बताएका छन् । होटल व्यवसायीले बुझाएको ज्ञापनपत्र माथिल्लो निकायमा पठाईदिने आश्वासन दुवै निकायले दिएको छ ।
चार तारे लर्डस दियालो सहित वीरगञ्जमा ५० भन्दा बढी होटल छन् । जसमध्ये एक दर्जनको हाराहारीमा मात्रै घर मालिक र होटल सञ्चालक एकै व्यक्ति छन् । बाँकीले होटल भाडामा लिएर सञ्चालन गरिएको हो । घरबेटीले भाडा माग्न थालिसकेको र आफूहरुको आम्दानी नभएकोले तिर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।

वीरगञ्जको दुईवटा होटललाई पेड क्वारेन्टिनको रुपमा सञ्चालनमा ल्याइएको छ भने दुईवटामा अस्पतालका कर्मचारीहरु बस्दै आएका छन् । संघका अध्यक्ष पन्तले कोरोना भाइरस विरुद्ध सावधानीका उपाय अपनाएर होटल रेष्टुरेन्ट व्यवसाय खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।
‘अधिकांश व्यवसाय खुलेको छ, होटल रेष्टुरेन्ट बन्द छ । सञ्चालन खर्च यथावत नै छ,’ उनले भने, ‘तीन महिना भन्दा लामो समय बितिसक्यो, अब त निकास खोज्नै पर्छ भनेर रेष्टुरेन्ट खोल्ने वातावरण बनाइदिन आग्रह गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment