Comments Add Comment

सेना, प्रहरी र सशस्त्रले आफैं पीसीआर जाँच्ने

१८ असार, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले सैनिक अस्पताल, छाउनीमा राख्ने गरी पीसीआर मेसिन खरिदका लागि टेण्डर खुलाएको छ । सशस्त्र प्रहरीले पनि मेसिन खरिदका लागि टेण्डर खुलाएको सशस्त्र प्रहरी अस्पतालका डीएसपी डा. प्रविण नेपालले अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरी अस्पतालमा पनि बुधबार पीसीआर मेसिन राखिएको छ । यसको प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेको अस्पतालका एसएसपी सञ्जय श्रेष्ठले बताए । ‘केही प्राविधिक पक्ष मिलाउन बाँकी छ, केही दिनपछि पूर्ण रुपमा सञ्चालनमा आउँछ’, श्रेष्ठले थपे ।

अभियुक्तको म्याद थप्दा पीसीआर रिपोर्ट अनिवार्य

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दीपक थापाका अनुसार ८ असारमा जिल्ला अदालत, काठमाडौंले पीसीआर रिपोर्ट नल्याएको भन्दै विद्युतीय कारोबार सम्बन्धी ऐनका एक अभियुक्तलाई फिर्ता गरिदिएको थियो ।

थापाले भने, ‘अदालतले अभियुक्तसँगै रहने सुरक्षाकर्मीको पनि पीसीआर जाँच्न भनेको थियो ।’ तर, प्रहरी अधिकृतलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा प्रहरीकहाँ नै जाँच्ने भन्दै फर्काइयो ।

‘पहिले प्रयोगशालामा पठाउँदा प्रहरीले नै जाँच्छ भनेर फर्काइएको थियो, प्रहरी अस्पतालमा अहिले पसीआर उपकरण जडान भएको छ’, थापाले अनलाइनखबरसँग सुनाए, ‘हाल प्रहरी अस्पतालमै स्वाब संकलन गरेर प्रयोगशाला पठाउने गरिएको छ ।’

मिसनमा जान पनि पीसीआर रिपोर्ट

नेपाली सेनाका एक हजार सैनिक अधिकारी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जाँदैछन् । महामारीका कारण तीन महिना रोकिएको बदली पुनः सुरु भएसँगै उनीहरुलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको क्वारेन्टिनमा राखिएको छ ।

यूएनले उनीहरुको पीसीआर रिपोर्ट अनिवार्य पठाउन भनेको छ । त्यसैले जाँचका लागि सेनाले पनि आफैं पीसीआर मेसिन खरिद गर्न लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरलाई बताए ।

‘एकपटकको टेण्डर रद्द भएको छ र दोस्रो पटक फेरि टेण्डर खुलाउँदैछौं’, उनले भने, ‘यो सैनिक अस्पतालमा राखिनेछ ।’

सेनाले विदामा गएका सैनिकहरुलाई पनि पीसीआर परीक्षण गरेर मात्र ब्यारेकमा राख्ने गरेको छ । त्यसैले पनि पीसीआर मेसिन सैनिक अस्पतालमा राख्नु आवश्यक रहेको जंगीअड्डाका अधिकारीहरुको भनाइ छ ।

सरकारले दैनिक पीसीआर जाँचलाई बढाउँदै लैजाने तयारी स्वरुप सुरक्षा निकायलाई पनि पीसीआर जाँच गर्न दिने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरीले खरिद गर्न लागेको पीसीआर मेसिन बलम्बुस्थित कोभिड विशेष अस्पतालमा राखिनेछ । त्यहाँ सशस्त्र प्रहरीका अधिकारीहरुको जाँच हुनेछ ।

हालसम्म नेपाली सेनामा ५२ जना अधिकारीमा कोभिड–१९ संक्रमण देखिएको छ भने २५ जना निको भइसकेका छन् । नेपाल प्रहरीका ८२ जना संक्रमित रहेको प्रवक्ता डीआईजी निरजबहादुर शाही बताउँछन् । सशस्त्र प्रहरीमा ४३ जना संक्रमित छन्, तीमध्ये २५ जना निकाे भइसकेकाे सशस्त्र प्रहरी प्रवक्ता प्रविणकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment