
१८ असार, काठमाडौं । नेपालमा भित्रिएका सलह किराले बालीनालीमा पुर्याउने क्षति रोक्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । डिला संग्रौला, पद्म नारायण चौधरी र मिना सुब्बाले बिहीबार संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
सलह नेपाल भित्रिने पूर्वानुमान हुँदाहुँदै सतर्कता नअपनाउँदा किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै सांसदहरूले सलह किरालाई नष्ट गर्न र खाद्यान्न बालीको क्षति हुन नदिन विशेष कार्यक्रम सञ्चालनको माग गरेका छन् । किसानहरूलाई क्षतिपूर्ति दिन, आवश्यक किटनाशक विषादीसमेत प्रदान गर्न पनि माग गरिएको छ ।
‘अब ढिलो नगरी खेती जोगाउन कृषक, स्थानीय तहदेखि संघीय तहसम्मका सरकारी निकाय र विशेषज्ञ सक्रिय हुन आवश्यक छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘कृषकलाई बाली संरक्षणमा लाग्दा अरू रोजगारीको अवसर गुम्न गई जीवनयापनमा समस्या हुन सक्छ । यसका लागि उनीहरूले प्रतिकारमा लगाएको समयको निश्चित अंशबराबरको ज्याला दिनुपर्छ ।’
गत शनिबार बारालगायतका जिल्लामा देखिएको सलह किरा हाल ५२ जिल्लामा फैलिएका छन् । सलहका बथानले धान, मकै, तरकारी र फलफूलका बोटमा क्षति पुर्याएको किसानहरूले बताएका छन् ।
प्रतिक्रिया 4