Comments Add Comment

विवादमा मुछिएका न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

१८ असार, काठमाडौं । न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिएका छन् । सरकारको लकडाउनको नियम पालना नगरेकोमा आलोचनाको शिकार बन्दै आएका उनले बिहीबार राजीनामा दिएका हुन् । क्लार्क गत अप्रिलमा सरकारको लकडाउनको नियम उल्लङ्घन गरेसँगै सहायक स्वास्थ्यमन्त्रीमा घटुवा भएका थिए भने उनलाई मन्त्रिपरिषद्को सबैभन्दा अन्तिम दर्जामा राखिएको थियो । उनी लकडाउनको समयमा सपरिवार समुद्री किनारामा घुम्न गएका थिए ।

अप्रिलमा नै क्लार्कले प्रधानमन्त्री ज्यासिन्डा अर्डनसमक्ष आफ्नो राजीनामा बुझाएका थिए । तर, त्यतिबेला उनको राजीनामा स्वीकृत भएको थिएन । अर्डनले कोरोना भाइरसविरुद्धको लडाइँका लागि उनको साथ आवश्यक रहेको भन्दै राजीनामा अस्वीकृत गरेकी थिइन् ।

यद्यपि क्लार्क गत महिना आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भन्दै अर्को आलोचनाको शिकार बनेका थिए । बिहीबार उनले दिएको राजीनामा भने प्रधानमन्त्रीले स्वीकृत गरेकी हुन् ।

अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का २२ एक्टिभ केस छन् । जसमध्ये एकजना मात्र अस्पतालमा छन् । न्युजिल्याण्डमा समग्रमा एक हजार ५२८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने अहिलेसम्म २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment