Comments Add Comment

प्रधानमन्त्रीले अध्यादेशको संकेत दिएपछि शीतल निवास पुगे प्रचण्ड

१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको अधिवेशन स्थगित गरेपछि आशंका र अविश्वास झन् बढेको छ । प्रधानमन्त्रीले वैशाख दोस्रो साता ल्याएको राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश फेरि ब्युँताउन खोजेको ओली इतर समूहको आशंका छ ।

बिहीबार भएको भेटमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश आउन सक्ने संकेत गरेको भन्दै प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका हुन् ।

नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला मन्त्रिपरिषद् बैठकले संघीय संसद अधिवेशन बिहीबार साँझ ५ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

लगत्तै स्थायी कमिटी बैठक स्थगित गरेर प्रचण्ड, अर्का अध्यक्ष एवं प्रधानमन्त्रीलाई भेट्न गए । स्रोतका अनुसार भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने, तर संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको बालुवाटार स्रोतले जनाएको छ । ओलीले अध्यादेश आउन सक्ने संकेत गरेपछि प्रचण्ड शीतल निवास गएका हुन् । ‘तपाई पार्टीको एउटा पक्षमा लाग्नु हुँदैन है’ भन्ने आग्रह गर्न प्रचण्ड शीतल निवास गएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीकै जोडबलमा वैशाख १० गते सरकारले संसदीय दलमा ४० प्रतिशत भए पनि दल फुटाउन सक्ने गरी अध्यादेश सिफारिस गरेको थियो भने राष्ट्रपतिले पनि तत्काल अध्यादेश जारी गरेकी थिइन् । त्यही बेला ओलीमाथि प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न दबाव परेको थियो । तर अध्यादेश फिर्तासँगै संकट टरेको थियो ।

अहिले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरुले पनि साथ दिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फेरि विवाद र संकटमा परेका छन् । स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment