Comments Add Comment

बारपाक सुलीकोटमा स्वास्थ्यकर्मी पठाउन प्रदेश सांसद दवाडीको माग

१८ असार, काठमाडौं । गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा स्वास्थ्यकर्मी पठाउन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

बुधबार गण्डकी प्रदेशसभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा उनले स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिँदा बारपाक सुलीकोट गाउँपालिकामा त्रास फैलिएको भन्दै थप स्वास्थ्यकर्मी पठाउन आग्रह गरेका हुन् ।

‘बारपाक सुलीकोटमा स्वास्थ्यकर्मीलाई हिजोमात्रै कोरोना संक्रमण पुष्टि भयो । त्यहाँ गाउँपालिकाभरि रुवाबासी चलेको छ, अरु ठाउँमा पनि त्यस्तो भएको छ होला, त्यस्तो ठाउँमा तुरुन्त स्वास्थ्यकर्मी किन पठाइँदैन ?’ उनले प्रश्न गरे ।

असार १६ गते बारपाक सुलीकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि असार १७ गतेदेखि ५ दिनसम्म स्वास्थ्यचौकी बाहेक गाउँपालिकाका सबै कार्यालय बन्द भएका छन् ।

कोरोना महामारीको समयमा सरकारले प्रदेशभरी स्वास्थ्य समस्या हुन नदिन ध्यान दिनुपर्ने सांसद दवाडीले बताए । गण्डकी प्रदेश सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणमा ठोस कार्यक्रम ल्याउन नसकेको पनि उनले बताए ।

लकडाउनका कारण समस्यामा परेका विद्यार्थीका लागि पनि प्रदेश सरकारले ठोस कार्यक्रम नल्याएको दवाडीले बताए । गोरखाको धार्चे मनासलु पदमार्ग, नागपोखरी पदमार्ग, दूधपोखरी पदमार्ग पर्यटकीय सम्भावना हुँदा पनि बजेटमा नपरेकामा उनले असन्तुष्टि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment