Comments Add Comment

निर्वाचन आयोगमा एमाले दर्ताको निवेदनले बालुवाटारमा खैलाबैला

केपी ओलीको निर्देशनमा एमाले दर्ता गरिएको प्रचण्ड र बामदेवको दाबी

१६ असार, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो ।

बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए ।

एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गरेका थिए ।

बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।

बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।

बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिए ।

झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment