Comments Add Comment
खुमलटार छलफल :

सुवास नेम्वाङको टोलीलाई प्रचण्डले भने– अर्का अध्यक्षलाई सम्झाउनुहोला

केपी ओलीलाई यताउता गर्दा समस्या उत्पन्न हुन्छ : नेम्वाङ

१८ असार, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले आफ्नो निवासमा छलफलका लागि आएका केपी ओली समूहका नेताहरूलाई सम्झाउँदै भने– ‘हामीले जे कमजोरी गर्‍यौं, भन्नुहोला । अर्का अध्यक्षले के कमजोरी गर्नुभयो, त्यो पनि भन्नुहोला ।’

बिहीबार बिहान प्रचण्डनिवासमा आयोजित छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेलका साथै सुवास नेम्वाङ, शंकर पोखरेललगायतका स्थायी कमिटी सदस्यहरूको सहभागिता थियो । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल पनि थिए ।

प्रचण्ड निकट नेता एव‌ं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त), जनार्दन शर्मा (प्रभाकर), मातृका यादव, हरिबोल गजुरेललगायतका नेताहरू पनि छलफलमा सहभागी थिए ।

‘सहमति लागु गरौं, एकता जोगाऔं’

प्रचण्डसँगको छलफलमा ओली पक्षका नेताहरूले विगतका सहमति लागु गर्नुपर्ने र पार्टी एकतालाई सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

रक्षामन्त्रीसमेत रहेका नेता ईश्वर पोखरेलले विगतका सहमति लागु गरेर अघि बढ्नुपर्ने बताए । उनको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘पार्टी एकतालाई बचाउनुपर्छ,’ विगतका सहमति लागु गरेर जाऔं, त्यसमा हामी पनि सहयोग गर्छौं ।’

छलफलमा ओली पक्षका नेताहरूले पार्टी विभाजनको स्थिति आउन नदिन प्रचण्डसँग आग्रह गरेका थिए । छलफलबारे जानकारी दिँदै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले अनलाइनखबरसँग भने, ‘हामीले प्रचण्ड कमरेडलाई हाम्रा कुराहरू सबै राख्यौं । अहिले यो जुन स्थिति छ, यो गम्भीर छ, अहिले यो एकता टुट्यो भने जनतालाई हामीले भन्ने ठाउँ रहँदैन, हामीले जनता र कार्यकर्तालाई के जवाफ दिन्छौं ? त्यसकारण यसलाई यताउति हुन दिनुहुँदैन, यही भन्न हामी आएका हौं ।’

प्रचण्डलाई भनेको कुरा उद्धृत गर्दै नेम्वाङले अनलाइनखबरसँग भने, ‘तपाई‌ंहरूले पार्टी एकता गर्नुपर्छ भनेर हामीले मान्यौं । एकता गर्‍यौं । यसलाई जोगाउन तपाईंहरू लाग्नोस्, तपाईंहरूले भनेअनुसार गर्नका लागि हामी तयार छौं ।’

नेताहरूको कुरा सुनिसकेपछि आफ्ना कुरा राखेका प्रचण्डले भने, ‘मलाई पनि एउटा फिलिङस छ, अर्का अध्यक्षले पनि समस्या फिल गर्नुभयो होला । उहाँले के कमजोरी गर्नुभयो, तपाईंहरूले त्यो पनि उहाँलाई भन्नुहोला ।’

ओली पक्षका नेताहरू ‘हामी त्यो गर्छौं’ भनेर खुमलटारबाट बाहिरिएका थिए ।

ओलीलाई हटाउन सर्वसम्मति खोज्ने प्रयास

बुधबार साँझ ललितपुरको झम्सिखेलमा सम्पन्न प्रचण्ड-माधव पक्षका ३० नेताहरूको भेलाले ओली पक्षका नेताहरूसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीको विपक्षमा नेकपाका ३१ स्थायी कमिटी सदस्य

सोही सहमतिअनुसार अध्यक्ष प्रचण्डले खुमलटारमा ओली पक्षका नेताहरूसँग बिहीबार बिहान छलफल गरेको प्रचण्डनिकट नेताहरूको भनाइ छ ।

झम्सीखेल भेलाले अब केपी शर्मा ओलीबाट प्रधानमन्त्री र अध्यक्ष दुवै चल्न नसक्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुपर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

जारी स्थायी कमिटी बैठकबाटै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र यसका लागि ओली पक्षका नेताहरूसँग पनि छलफल गरेर सकेसम्म सर्वसम्मत निर्णयमा पुग्ने निष्कर्ष झम्सीखेल बैठकले निकालेको नेताहरू बताउँछन् ।

तर अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने दलका उपनेता नेम्वाङले अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले उहाँलाई यताउता गर्दाखेरि समस्या उत्पन्न हुन्छ, त्यतातिर लाग्नुहुँदैन ।’

अघिल्लो बुधबारदेखि जारी नेकपा स्थायी कमिटीको बैठक आज पनि बालुवाटारमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment