Comments Add Comment
यातायात व्यवसायीको प्रश्न :

सरकार, गरिबको सवारीमाथि किन यति विभेद ?

'कोरोना कालो प्लेटवालाले सार्ने,अनि रातो प्लेटले छेक्ने हो र !'

१७ असार, काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन ।

केहीबेरको लम्बाइमा बलराम चक्रपथका छेउछाउमा पार्क गरिएका केही बसहरुको सामुन्ने रोकिन्छन् । एकछिन टोल्हाउँछन् । अनि एउटा किसानले दुध दुहुने बेला भैंसीलाई सुम्सुम्याएजस्तो ती बसहरु सुम्सुम्याउँछन् । तर के गर्नु, यी बसहरुले उनलाई ‘दुध नदिएको’ चार महिना हुन लाग्यो ।

बलरामको काठमाडौंबाट पूर्वमा चल्ने चारवटा बस छन् । उनका लागि भैंसी भने पनि गाई भने पनि कारखाना भने पनि यिनै बसहरु थिए । नेपाल-भारतका विभिन्न रुटमा चल्नेगरी साथीभाइसँग मिलेर खोलेको ‘मञ्जुश्री यातयात’ कम्पनीबाट उनले ती बसहरु किनेका थिए । तर, लकडाउनले गर्दा चार महिनादेखि ती बसले आङ तान्न पनि पाएका छैनन् । बसहरु यसरी थन्किँदा बलराम चिन्तामा परेका छन् ।

यी बसहरु उनले जिन्दगीभर गरेको मिहिनेतका प्रतिफल हुन् । परिवारको हातमुख जोड्ने माध्यम पनि यिनै हुन् । त्यसैले त उनको लागि आफ्ना सन्तानजत्तिकै पि्रय छन् यी बस । बसहरु यसरी थन्किँदा उनलाई आफ्नै सन्तान जेलभित्र थुनिएझैं भएको छ । चक्रपथ छेउको झाडी र हिलोमाझ रोकिएका बसहरुले दिनदिनै बलरामको माया त पाएका छन्, तर बदलामा केही दिन सकेका छैनन् ।

अहिलेसम्मकै ठूलो बज्रपात

बलराम २०३८ सालदेखि सार्वजनिक सवारीको क्षेत्रमा कार्यरत छन् । १८ वर्ष काँकडभि्टटा-काठमाडौं रुटको बसमा ‘कन्डक्टर’का रुपमा उनले काम गरे । सँधै दाह्री पाल्ने भएकाले उनलाई सबैले ‘दाह्री बलराम’ भनेर चिन्थे ।

उनले २०५६ सालमा आँट गरेर एउटा बस किने । १३ लाखको बस किन्दा ९ लाखजति ऋण लिएका थिए । द्वन्द्वकालले गाँजेका बेलामा पनि २ वर्षमै ऋण तिर्न सफल भए । त्यसपछि त सबैले भन्न थाले, ‘बलरामलाई फलाम फाप्यो ।’

दुई चार पैसा कमाउँदैमा बलरामले दुःख गर्न छाडेनन् । सपना देख्न छोडेनन् । केही समयमा अरु बस पनि थपे । सबै स्थिति सामान्य भएको भए उनले काठमाडौंमा घर जोडेर आफ्नी श्रीमतीको सपना पनि पूरा गरिसकेका हुन्थे । तर, बेलाबेला आइपर्ने विपत्ले उनलाई पछाडि घँचेटिरह्यो ।

‘घर बनाउन ठिक्क परेको बेला कोरोनाको महामारी आयो,’ उनी भन्छन्, ‘धन्न बनाउन सुरु गरिएनछ ।’

यसअघि २०६४ सालमा कोशीको बितण्डाले उनको व्यवसाय नराम्रोसँग प्रभावित बनाएको थियो । २०७२ सालको भूकम्प र नाकाबन्दीको त कुरै गर्नुपरेन । तर, बिगत ३८ वर्षको अनुभवमा यातायात व्यवसायी र मजदुरलाई अहिलेको जस्तो चुनौतिपूर्ण अवस्था कहिल्यै आएको थिएन । कोरोनाको संकट अहिलेसम्मकै भयानक लागेको छ उनलाई । शून्यबाट मिहिनेत गरेर उठाएको जिन्दगी फेरि शून्यमै बिलाउने हो कि भन्ने चिन्ताले सताएको छ ।

चिन्तामाथि चिन्ता

‘हामीले ७० प्रतिशतसम्म बैंक ऋण लिएर गाडी किनेका हुन्छौं,’ बलराम भन्छन्, ‘यति लामो समयसम्म गाडी नचलाईराख्दा ऋणको ब्याज कसरी तिर्ने ? यो संकट अझै लम्बियो भने त हामी सडकमै आउनेछौं ।’

अर्कोतर्फ लकडाउनपछि सडकमा बस निकाल्दा करिब २ लाख खर्च गर्नुपर्ने अवस्था छ । हिलोमा धस्सिएर चक्काहरु फेर्नुपर्ने भएका छन् । ब्याट्री काम नलाग्ने भएका छन् । गाडीमा खिया लाग्न थालिसके । छतमा लेउ बस्न लागिसक्यो । राख्दाराख्दै विभिन्न टुटफुट भएका छन् । इन्जिनलाई चुस्त बनाउन मोबिलहरु फेनर्ुैपर्नेछ ।

‘गाडी चलाउँदा भन्दा नचलाई राख्दा बढी खर्च आउँछ,’ उनी भन्छन्, ‘एक रुपैयाँ कमाइ नभएका बेला थपिने यस्ता लाखौं खर्च व्यवस्थापन कसरी गर्ने ?’

बस निकालेपछि पनि यात्रु पाउने हो कि हैन भन्ने चिन्ता छँदैछ । बैंकको ब्याज र किस्ता व्यवस्थापनको दबाव थेगिनसक्नु छ ।

बलरामका एउटा बसमा दुई ड्राइभर र दुई सहचालक गरेर चार जना कामदार कार्यरत छन् । बस रोकिएपछि ती मजदुरहरुको पनि बेहाल भएको छ । आफ्ना मजदुरहरुको अवस्था देखेर उनको मन खिन्न हुन्छ । बस नचले पनि ती मजदुरहरु बस रोकिएको ठाउँ वरपर नै आइरहन्छन् । उनीहरुको पनि चासो छ, ‘कहिलेबाट बस चलाउन पाइएला ?’

तर, बलरामसँग पनि कुनै जवाफ छैन । तैपनि सहानूभूतिका लागि भन्छन्, ‘नआउत्तिओ न भाइहरु, अब खुलिहाल्छ नि ।’

‘रातो प्लेटले कोरोना छेक्ने हो ?’

सरकारले सोमबार राती आगामी साउन ७ गतेसम्म सार्वजनिक सवारी नचलाउने निर्णय गर्यो । जबकि निजी सवारीसाधनहरु भने खुला भइसकेका छन् । सार्वजनिक सवारीलाई सरकारले यसरी अवहेलना गर्दा बलराम मात्रै हैन, हजारौं यातायात मजदुरहरुको रोजिरोटी खोसिएको छ ।

‘रातो प्लेटका सवारीमा मान्छेहरु कोचिएर यात्रा गर्दैछन्, के रातो प्लेटले कोरोना रोक्ने हो ?’ बलरामको कडा प्रश्न छ, ‘मापदण्ड बनाएर अब सार्वजनिक सवारी खोलिएन भने हामी सबै व्यवसायीले एकैपटक rmोलमा राखेर बैंकमा लगेर गाडीको चावी बुझाउने दिन आउँछ ।’

बलराम सरकार सबैको अभिभावक भएकाले सार्वजनिक सवारी चलाउने मात्रै नभएर चढ्ने वर्गलाई पनि हेर्नुपर्ने बताउँछन् ।

‘निजी सवारी हुनेहरुलाई त हाम्रा बस चल्नु/नचल्नुसँग खास मतलब हुन्न । सार्वजनिक बस त झन विपन्न वर्गलाई अपहिहार्य छ,’ उनी भन्छन्, ‘कालो प्लेटको सवारीले मात्रै कोरोना सार्छ भन्ने जस्तो सरकारको व्यवहारले गर्दा हामीमा निर्भर यात्रुहरु पनि मर्कामा हुनुहुन्छ ।’

बलरामका अनुसार बैंकहरुले बसहरुमा गरेको ऋणको तत्कालै पुर्नतालिकीकरण गर्नुपर्छ । कमाई नभएको अवस्थामा बैंकको किस्ता तिर्न सकस हुने भन्दै उनी ६० महिनाका लागि दिइने ऋणलाई अब ७० महिनामाथि लैजानुपर्ने बताउँछन् ।

‘बस भोलिबाटै चल्यो भने पनि पर्याप्त यात्रु नहोलान्, सामाजिक दूरी राख्नुपर्ने भएकाले यात्रु धेरै चढाउन पनि पाइन्न,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा सरकारले सबै समस्याहरुलाई सम्बोधन गर्ने गरी यतायात क्षेत्रलाई प्याकेज दिनुपर्छ ।’

उनी व्यवसायीहरुलाई पनि धैर्यता राख्न सुझाव दिन्छन् । सरकार कठोर भइरहेकाले यो संकटको सामना गर्न तयार हुनुको विकल्प नभएको बलराम बताउँछन् । हिजो पनि अनेकन संकटहरुमा धैर्यता राखेरै अघि बढेकोले बलारामलाई भविष्यप्रति आश छ ।

मोबाइल अन गर्नै डर

अहिले बलराम मात्रै हैन, उनीजस्ता हजारौं यातायात व्यवसायीको कथा उस्तै छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सार्वजनिक सवारी नचल्दा थुप्रै व्यवसायी ‘डिप्रेसन’को शिकार भएको बताउँछन् ।

लाखौं लगानी गरेका सवारी महिनौंदेखि खुला आकाशमुनि खडा राख्नुपरेको भन्दै उनी ऋण दिनेहरुले फोन गर्न थालेकाले मोबाइल अफ गर्नुपर्ने बाध्यात्मक अवस्था आइसकेको गुनासो गर्छन् ।

चैत ११ देखि बन्द भएका सार्वजनिक सवारी खुलाउने विषयमा सरकार गम्भीर नभएको उनको आरोप छ । आफूहरु संक्रमणको जोखिम कम हुने गरी सरकारले बनाउने मापदण्ड मान्न तयार रहेको सिटौला बताउँछन् ।

‘भोको पेट  र मानसिक तनाव लिएर व्यवसायीले धेरै लामो समय सहन सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘सार्वजनिक सवारी खुल्ने/नखुल्ने सवाल निजी सवारी किन्न नसक्ने आम वर्गको पनि हो । उनीहरुमाथि पनि न्याय हुनुपर्छ ।’

सरकारले सार्वजनिक सवारी खुल्ने गरी तुरुन्तै वातावरण बनाउनुपर्ने भन्दै त्यसो नगर्ने भए यातायात व्यवसायीको समस्या सम्बोधन गर्ने गरी विशेष राहत प्याकेज ल्याउनुपर्ने सिटौलाले बताए ।

लामो समयसम्म व्यवसायीले धैर्यधारण गरेको भन्दै उनले प्रश्न गरे, ‘निजी सवारीले ‘रिजर्भ’ गरेर यात्रु ओसार्दा नसर्ने कोरोना हामीले सामाजिक दूरी पालना गरेर चलाउँदा कसरी सर्छ ?’

फोटो/भिडियो- शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment