+
+

रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?

‘भीआईपी’ आश्रममा सीआईबी अपरेशनको नालीबेली

गौरव पोखरेल गौरव पोखरेल
२०७७ असार १६ गते २३:५०

१६ असार, काठमाडौं । जंगलभित्र १५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन । कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ छन् । मध्यभागमा आलिसान बङ्गला । जीम हलदेखि स्वीमिङ पुलसम्म छन् ।

घरभित्र हरेक सामग्री विदेशी छन् । भान्सा, बेडरुम र बाथरुम जताछिरे पनि तारे होटल झैं । कतै बल्ने ढुंगा सजाइएका छन्, कतै आकर्षक पेन्टिङ छन् । यही बस्छन्, नेपाल प्रहरीका ‘मोस्ट वान्टेड’ कथित लिटल बुद्ध भनिने रामबहादुर बम्जन ।

विशेष सूराकीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असारमा बम्जनको यही आश्रममा छापा हानेको थियो । अनुसन्धान अधिकृतहरुले प्राविधिक पक्षको विश्लेषणबाट बम्जन सिन्धुलीस्थित आश्रममा भएको आधार निकाल्दै बिहान ४ देखि २ बजेसम्म विशेष सर्च अपरेशन चलाए ।

तर कमलामाई नगरपालिका–९, पैरेको यो आश्रममा बम्जन भेटिएनन् र प्रहरीले रित्तो हात फर्किनु पर्‍यो ।

बम्जन आश्रमको बैठक कोठा ।

प्रविधिले अभावको परिणाम

विशेष तयारीका साथ सिन्धुली गएको टोली बम्जनलाई हत्कडी लगाउन कहाँ चुक्यो ? यो जान्नु पहिले प्रहरी के आधारमा काठमाडौंबाट छापा हान्न सिन्धुली पुगेको थियो भन्ने बुझ्नुपर्छ ।

ब्युरो स्रोतका अनुसार बम्जन विवाहित व्यक्ति हुन् । र, उनको श्रीमती र बच्चा ललितपुरमा बस्दै आएका छन् । त्यहीँबाट सम्पर्क सूत्र केलाउँदै ब्युरोका अनुसन्धान अधिकृत आश्रमका एक कर्मचारीसम्म पुगेको थियो, जो बम्जनका अनुयायी पनि हुन् ।

उनले बम्जनसँग नियमित सम्पर्क गरिरहेको भेटिएको थियो, त्यसैले उनलाई नियन्त्रणमा लिएर प्रहरीले गोप्य रुपमा बम्जनको गतिविधिबारे निगरानी गरिरहेको थियो ।

अपरेशनमा खटिएका वेला प्रहरी जब आश्रमभित्र छिर्‍यो, तिनै अनुयायीको नम्बरबाट फोन गरिएको थियो । तर उनीसँग सम्पर्क हुन सकेन । ‘पटकपटक सम्पर्क गर्दा उनलाई शंका हुनसक्थ्यो’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘त्यसैले भित्र छिरेर घेराबन्दीपछि मात्र फोन गर्‍यौं । त्यतिवेला उनको फोन स्वीच अफ आयो ।’

उनको मोबाइल ‘स्वीच अफ’ भएपछि ब्युरोसहित प्रदेश नं. ३ प्रहरी कार्यालय, दंगा गण समेत सहभागी भएर चलाइएको अपरेशन सही लयमा अघि बढ्न सकेन । अनुसन्धान अधिकृतहरुका अनुसार सीम कार्ड लोकेटर भएको भए बम्जन त्यही दिन समातिन सक्थे । तर प्रविधि अभावमा उनी भाग्न सफल भए ।

खेर गएको प्रहरीको अथक मेहनत

त्यसदिन प्रहरी, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र ब्युरो प्रमुख सहकुल थापाको निर्देशनमा बन्दोबस्तका साथ बम्जनको खोजीमा हिँडेको थियो । एसपी पाण्डेले नेतृत्व गरेको टोलीमा ‘ट्याकर’ र ‘सर्च एण्ड रेक्यू’ कुकुर थियो ।

सशस्त्र प्रहरी बलबाट मगाइएको ‘लाइफ डिटेक्टिङ’ मेसिन पनि थियो । यो त्यही मेसिन हो, जसले २०७२ को भूकम्पका वेला भग्नाबशेषमा फसेका मानिसहरुको पहिचान गर्न मदत गरेको थियो । बम्जन पनि बङ्लामा कतै फल्स बटम बनाएर वा जमिनमुनी बस्ने ठाउँ बनाएको हुनसक्ने पूर्वअनुमानका साथ प्रहरीले यो उपकरण झिकाएको थियो । तर ८ घन्टा लामो अपरेशनमा पनि बम्जन भेटिएनन् ।

प्रहरी स्रोतका अनुसार महिलाको भेषमा लुकेको हुनसक्ने आशंकामा महिला ब्यारेकमा समेत छापा मारिएको थियो । ‘महिला प्रहरी नै प्रयोग गरेर प्रत्येक व्यक्तिलाई जाँचेका थियौं’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बम्जनले महिला ब्यारेकमा धेरै कुकुर राखेका थिए, त्यसले असहज तभयो तर कुनै कसर बाँकी राखिएन ।’

प्रहरीको ट्याकर डगलाई बम्जनको लुगा सुघाँएर छाडेको थियो । तर कुकुर खोल्सामा पुगेर अड्कियो । विज्ञका अनुसार नदीमा पुगेपछि कुकुरलाई ट्याक समात्न गाह्रो हुन्छ । यद्यपि, पारि पुगेर पुनः लुगा सुँघाएर कुकुरलाई डुलाइएको थियो ।

जब बजम्नको घोडा सेन्ट्री पोष्टमा रोकियो…

बम्जन आश्रमभित्र तीन जना विदेशी नागरिक पनि थिए, उनीहरुले त्यहाँ घर नै बनाएका थिए । उनीहरुका साथै आश्रममा रहेका महिला र अन्य व्यक्तिसँग कुरा गर्दा अधिकांशले उनी ‘पातालमा छन्’ भन्ने रेडिमेट जवाफ दिन्थे ।

‘पोहोर जेठमा देखेको हो । पातालमा गएको एक वर्ष भयो, अझै दुई वर्ष उहाँ आउनु हुन्न’ जस्ता कुरा गर्थे, उनीहरुको बयान उदृत गर्दै अनुसन्धान अधिकृत भन्छन् ।

त्यसैले प्रहरीले जमिन मुनी सुरुङ बनाएर लुकेको आशंकामा खोजी गरेको थियो । तर ‘लाइफ डिटेक्टिङ’ मेसिनले राम्रोसँग काम नगर्दा खोजी हुन सकेन ।

‘लाइफ डिटेक्टिङ’ मेसिन

अनुसन्धान अधिकृतका अनुसार बम्जनले दुई वटा गाडी र घोडा पनि चढ्छन् । छापा हानिएको दिन एउटा घोडा दौडिँदै आएर सेन्ट्री छेउमा रोकिएको थियो । त्यसैले उनी सेन्ट्री आसपास बस्ने गरेको प्रहरीको आशंका थियो ।

अपरेशन सफल नभएपछि प्रहरी अधिकृतहरुले उनी आश्रम मास्तिर रहेको वस्ती वा बजारतिरै लुकेको हुनसक्ने आशंका गरेका छन् ।

अनुसन्धान असहजता

राज्य संयन्त्रकै आडमा धार्मिक आवरण लिएर उनले गैरकानूनी रुपमा वन कब्जा गरेका छन् । स्थानीय नगरपालिकाले उनको आश्रममा बाटो बनाइएको छ । विदेशी सहयोग लिएका छन् । प्रहरी स्रोतका अनुसार बमजन आफैं कतारेका ब्याक बेल्ट हुन् भने सुरक्षाका लागि आफू जस्तै खेलाडी खटाएका छन् ।

बम्जनको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा आबद्ध छन् । उनीविरुद्ध अनुसन्धान सुरु भएलगत्तै थापा लगायतले नेकपा अध्यक्ष प्रचण्डलाई एउटा ज्ञापन पत्र बुझाएका थिए, जसमा बम्जनको प्रसंग उठाएर सञ्चार माध्यमले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाइएको थियो ।

जबकी महिला अधिकारकर्मीको सहयोगमा ३० भदौमा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

०७३ सालको घटना भए पनि नाबालिकाको हकमा १८ वर्ष पूरा भएको एक वर्षसम्म अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ । यसैमा टेकेर प्रहरीले बम्जनमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । र, पक्राउ पूर्जी लिएर बम्जनको खोजी गरिरहेको छ ।

बम्जनले प्रयोग गर्ने गाडी ।

अपराध गर्दै जिल्ला फेर्दै ?

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पजि छ । उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको उजुरी छ । र, हालसम्म सिन्धुलीमा उनको कुनै अपराध बाहिर आएको छैन । त्यसैले बम्जनले अपराध गर्दै आश्रम फेर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको हुनसक्ने आशंकामा छ । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

शवको अवशेष भेट्न नसकेपछि प्रहरीले हत्या भएको हुनसक्ने आंशकालाई पुष्टि गर्न सकेन । त्यसपछि बम्जनमाथि अनुसन्धान गर्न प्रहरीका लागि एउटै आधार बनेको बलात्कारको आरोप थियो । तर प्रहरीले बम्जनलाई न्यायिक हिरासतमा लिएर व्यक्ति बेपत्ताबारे पनि अनुसन्धान गर्ने अवसर गुमाएको छ ।

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार बम्जनमाथि लागेको बलात्कार आरोपको अनुसन्धान प्रतिवेदन ११ असारमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश भइसकेको छ । अब बम्जन एकैपटक अदालतमा उपस्थित हुने र अन्य घटनामा जस्तै पीडितलाई ‘होस्टाइल’ गराएर बलात्कार अभियोगबाट उन्मुक्ति पाउन खोजेको त होइन भन्ने आशंका छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?