Comments Add Comment

बम्जनविरुद्ध १४ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर

फाइल तस्वीर

१९ असार, काठमाडौं । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमले अनलाइनखबरलाई बताएअनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गरिएको छ । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ ।

बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस रामबहादुर बम्जन प्रहरीबाट उम्किए, अदालतले के गर्ला ?

बम्जनलाई पक्राउ गर्न प्रहरीले दुई पटक सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी उम्किन सफल भए । आश्रममा बसेकी १५ वर्षीय आनीलाई ३० साउन ०७३ मा बलात्कार गरेको आरोप बम्जनमाथि लागेको थियो ।

उनले धाक, धम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बलात्कार सम्बन्धी कसुरमा घटना भएको एक वर्षसम्ममा उजुरी दर्ता भइसक्नु पर्छ । तर, यो घटनामा पीडित नाबालिका भएकाले १८ वर्ष पूरा भएको एक वर्षसम्म उजुरी गर्न मिल्ने व्यवस्था अनुसार कानुनी प्रक्रिया अघि बढेको हो ।

बम्जन आश्रमबाट सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला पनि बेपत्ता भएको प्रहरीमा उजुरी छ । तर, हालसम्म उनीहरुको कुनै पत्तो लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment