१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र अर्का अध्यक्ष प्रचण्डको विरोधमा देशैभरि प्रदर्शनहरु थालिएका छन् । तर, यस्ता प्रदर्शनमा विवेकशील पार्टीको भन्दा पनि कमजोर उपस्थिति देखिएको छ । यस्तो फितलो प्रदर्शनबाट प्रधानमन्त्री ओलीको लोकप्रियता होइन, अलोकप्रियता उजागर भइरहेको नेकपाकै नेताहरुको विश्लेषण छ ।
विहीबार काठमाडौंको मुटु मानिने माइतीघरमा प्रधानमन्त्री ओलीको तस्वीरसहित भएको प्रदर्शनमा मुस्किलले २५/३० जनाको सहभागिता थियो । काठमाडौंमा जस्तै पोखरा, झापालगायत विभिन्न जिल्लामा प्रधानमन्त्रीको समर्थनमा भएका दुई दिनयताका प्रदर्शनहरुमा अत्यन्तै न्यून उपस्थिति देखिएको छ ।
यसअघि ओली सरकारले माइतीघरमा प्रदर्शनमा गर्न रोक लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सार्वजनिक भाषणमै माइतीघर मण्डला जुलुस लगाउने ठाउँ हैन, भनेका थिए । तर, उनै प्रधानमन्त्रीका समर्थकहरुलाई माइतीघर मण्डला चाहियो । यद्यपि त्यहाँ प्रधानमन्त्रीका समर्थकहरुको उपस्थिति भने निकैै नै फितलो देखियो ।
देशको राजधानीजस्तो ठाउँमा सत्तारुढ प्रधानमन्त्रीको समर्थनमा सयजना मानिस पनि सडकमा नदेखिनुले प्रधानमन्त्रीको अलोकप्रियता पुष्टि भएको नेकपाकै नेताको स्वीकारोक्ति छ ।
हामीले नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तलाई सोध्यौं, ‘प्रधानमन्त्रीको समर्थनमा देशैभरि जुलुसहरु निस्कन थालेका छन् नि ?’
विगतमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत भइसकेका नेता पन्त अनलाइनखबरलाई जवाफ दिनुपूर्व लामो हाँसो हाँसे– हाहाहा…. !
पन्तले भने, ‘जुलुस त मैले पनि हेरें टेलिभिजनमा । रमाइलो छ । हाम्रो प्रधानमन्त्रीलाई समर्थन गरेको जुलुस सानो–सानो कचौरामा अट्नेजस्तो किन हुन्छ ? यो त भएन नि ।’
उनले थपे, ‘नेकपाको पक्ष अथवा नेकपाका मान्छेहरुले निकाल्ने जुलुस त्यस्तो हुनु भएन । फेरि यो जुलुस गर्ने विषय पनि होइन । पार्टीको आन्तरिक विषयमा यसरी जुलुस लगाएर राम्रो हुँदैन । एकथरिले एउटाको पक्षमा जुलुस गर्ने, अर्कोथरिले अर्को पक्षमा जुलुस गर्ने हो भने त यो जनताका अगाडि तमासा भयो ।’
पार्टीभित्र देखिएको समस्याको समाधान बैठकबाट निकाल्नुपर्ने बताउँदै पन्तले भने, ‘यो पार्टी उहाँको हो । जे समस्या निस्केको छ, यसको समाधान दिनुपर्ने मुख्य मान्छे नै उहाँ हो । प्रधानमन्त्री उहाँ हो, पार्टी अध्यक्ष उहाँ हो । उहाँले यसमा समाधान दिनुपर्ने होइन र ?’
नेकपाका अर्का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि पार्टीभित्रको समस्यालाई सडकमा नारा लगाएर वातावरणलाई उत्तेजित पार्न नहुने बताउँछन् ।
‘सडकमा आन्दोलन गरेर देशव्यापीरुपमा युवाहरुलाई चर्काउने काम गरिनुहुन्न । सबैजना आफ्नो ठाउँमा संयमित हुनुपर्छ । ज–जसले जहाँबाट यस्तो जुलुस गरेका छन्, त्यो रोक्नुप¥यो’ रायमाझीले अनलाइनखबरसँग भने, ‘पार्टीका नाममा यस्तो काम गर्न भएन । यस्तो क्रियाकलापले समाधान दिँदैन, वातावरणलाई झन् उत्तेजित पार्छ ।’
यसैवीच शुक्रबार बिहान ललितपुरको पुल्चोकमा बसेको दोस्रोपुस्ताका ११ नेताहरुको बैठकले पार्टीभित्रको विवाद थप चर्काउने खालका गतिविधिहरु रोक्ने निर्णय गरेको छ । केपी ओली पक्षका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवालीसमेत संलग्न सो बैठकले सडकमा हुने नाराबाजीलाई पनि रोक्ने सहमति गरेको थियो ।
तर, शुक्रबार दिउँसो नेकपा समर्थक ३०/४० जना युवाहरुले प्रचण्डलाई भारतीय दलालका रुपमा प्रस्तुत गर्दै प्रदर्शन गरेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4