
१९ असार, काठमाडौं । नेताहरुलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका छन् ।
२० भन्दा बढी केन्द्रीय सदस्य पार्टी एकताको पक्षमा दबाब दिन शुक्रबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा धर्नामा बसेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए ।
‘पार्टीमा जुन प्रकारको बिग्रह देखियो, यो बिग्रह गर्नुपर्ने कारण नै छैन, त्यसैले नेताहरुलाई दबाब दिन धर्नामा बसेका हौं’ उनले भने ।
धर्नामा बसेका नेताहरुले कम्युनिस्ट पार्टी नीति प्रधान हो नेता प्रधान होइन, समस्याको समाधानन पार्टी विधानभित्रैबाट खोज, पार्टी एकता बलियो बनाउ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन् ।
केन्द्रीय नेताहरुसँगै धर्नामा नेकपाका अन्य कार्यकर्ता पनि बसेका छन् ।
आज सांकेतिक हिसाबले कार्यक्रम गरेको र यसलाई निरन्तरता दिनुपर्ने देखिएको न्यौपानेले बताए ।
‘हामीलाई मनमा लाग्यो, यसो गर्दा के हुन्छ भनेर जम्मा भएका हौं, तर देशव्यापी रुपमा एकताको पक्षमा माहोल नबनाई हुँदैन भन्ने लागेको छ, हामी सल्लाह गर्दैछौं’ उनले भने ।
स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि नेकपाभित्र विवाद बढेको छ । त्यसपछि स्थायी कमिटी बैठक पनि शनिबारसम्मका लागि स्थगित भएको छ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4