+
+
Shares

रोल्पामा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १४:४७

१९ असार, काठमाडौं । रोल्पामा बुधबार आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका थिए । उनी असार १० गते दुबईबाट आएर घर नजिकै रहेको आफ्नै गोठमा एक्लै बस्दै आएका थिए ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मानबहादुर डाँगीले अनलाइनखबरलाई जानकारी दिए ।

मृत्युपछि उनको स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

संक्रमण पुष्टि भएका युवकको शव पोष्टमार्टम गर्ने क्रममा राप्ती प्रादेशिक अस्पतालको शव गृहमै रहेका कारण शवको व्यवस्थापन दाङमै गर्नका लागि समन्वय भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

‘संक्रमितको शव व्यवस्थापनका लागि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग समन्वय भइरहेको छ,’ प्रजिअ रानाले भने, ‘नेपाली सेनाको टोलीले शवको व्यवस्थापन दाङमै गर्ने कुरा छ ।’

संक्रमतिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको कार्य पनि अघि बढी सकेको उनले बताए । ‘उनी असार १० गते दुबईबाट आएका रहेछन् । उनीसँगै को–को आएका थिए ? उनको शवलाई पोष्टमार्टम गर्न अस्पताल ल्याउँदा क–कसले सहयोग गरेका रहेछन् भन्नेबारे खोजी भइसकेको छ,’ प्रजिअ रानाले भने, ‘उनीहरु सबैलाई क्वारेन्टिनमा ल्याएर राख्नका लागि तयारी भइरहेको छ ।’

गोठमा किन राखियो ?

बुधबार आत्महत्या गरेका युवक असार १० गते दुबईबाट घर फर्किएका थिए । भारत लगायत बाह्य मुलुकबाट आएका वडाबासीलाई राख्नका लागि वडाले तीन वटा विद्यालयमा क्वारेन्टिनको व्यवस्थापन गरेको थियो ।

वडाध्यक्ष डाँगीका अनुसार तीन वटा विद्यालयको क्वारेन्टिनमा २८, ९ र ७ जना गरी कुल ४४ जना भारतबाट आएका स्थानीयहरु बस्दै आएका थिए ।

‘उनलाई पनि तीन वटा क्वारेन्टिन मध्ये एउटा क्वारेन्टिनमा राख्ने तयारी वडाले गरेको भएपनि भारतबाट आएकाहरुले उनलाई अर्कै स्थानको क्वारेन्टिनमा राख्न सुझाव दिएको थियो,’ वडाध्यक्ष डाँगीले भने, ‘युवकका बुबाले पनि भारतबाट आएकाहरुसँग आफ्नो छोरालाई राख्न नहुने आसय व्यक्त गरे । त्यसपछि उनको बुबासँगको छलफलपछि उनलाई घर नजिकै अंकलको गोठ खाली रहेको र त्यहीँ लगेर राख्छु भनेपछि १४ दिन पुग्ने राशन वडाले नै दिएर पठाएका थियौं ।’

युवक आफैंले गोठमा पकाएर खाने गरेका कारण अन्य व्यक्तिहरुसँग उनको सम्पर्क नरहेको वडाध्यक्ष डाँगीले बताए । डाँगीका अनुसार पोष्टमार्टमका लागि शव अस्पताल पठाउने कार्यमा १२ जनाले सहयोग गरेको र उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?