Comments Add Comment

अन्तिम पर्दा पनि खस्छ…

– यो शोकसभा हो !

– आधा टेबल कालो कपडाले छोपिएको छ,

– आधा टेबल सेतो कपडाले छोपिएको छ !

– टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता !

– चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको !

– यो पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित शोकसभा हो !

म कोठाको अन्तिम पङ्क्तिमा बसेर कार्यक्रम सूची बनाउन थाल्छु । पोयुसांपका सदस्य र सहयोगी भाइहरूद्वारा आमन्त्रित व्यक्तिहरूको स्वागत भइरहन्छ । तीर्थ भाइ र मैले सभापतित्व वरणसम्बन्धी सानो छलफल गर्छौं र एउटा निश्चयमा पुग्छौं । त्यसपछि तीर्थ भाइ कार्यक्रम सञ्चालन गर्न थाल्छन् । म कोठाको अन्तिम ढोकामा खडा हुन्छु । कोठाभरि कुराकानीको गनुमुनु चलिरहन्छ । म घोरिएर हरिभक्त कटुवालको चित्र हेर्न थाल्छु । हेर्दाहेर्दै बिस्तारै सम्झनाको पर्दा खुल्दै जान्छ ।

–०–

म छिटोछिटो एकेडेमीका चिल्ला सिँढीहरू उक्लेर एउटा ठूलो समूहभित्र मिसिन्छु । त्यो समूहलाई फुटाउने प्रयासमा आँखा डुलाउँछु- बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, धरणीधर कोइराला, लैनसिंह बाङ्देल, श्यामदास वैष्णव, लीलाध्वज थापा…..। सोच्न थाल्छु, ‘यो एउटा नेपाली साहित्यको जिउँदो इतिहास हो । त्यहाँ अनुपस्थिति खड्कन्छ भने सिर्फ कविशिरोमणि लेखनाथको र सिर्फ महाकवि देवकोटाको ! तर म धेरै बेर अनुपस्थित व्यक्तित्वहरूको कुरा सोच्तिनँ र त्यो समूहद्वारा निर्देशित भएर हलभित्र पुग्छु ।

यो नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको रङ्गमञ्च हो । सन्दर्भ कविता महोत्सव- २०३५ ! महोत्सव आरम्भ हुन्छ । सूर्यविक्रम ज्ञवालीको सभापतित्वमा उद्घोषिका पालैपालो कवि एवम् कवयित्रीहरूलाई आआफ्नो कविता पाठ गर्न बोलाउँछिन् ! म तन्मयसाथ कविता श्रवण गर्न थाल्छु । उद्घोषिका भन्छिन्- “अब आउँदै हुनुहुन्छ श्री हरिभक्त कटुवाल ।”

‘ए ! हरिभक्त कटुवाल !’ मलाई उत्सुकता हुन्छ । म आफ्ना आँखा हलभरि फिँजाउँछु । एउटा दुब्लो, पातलो मान्छे बिस्तारै सिँढीहरू ओर्लंदै स्टेजमा पुग्छ र माइक्रोफोनको ठिक अन्दाज लगाएर आफ्नो एक टुक्रे कविता पढ्न थाल्छ । ‘ए ! हरिभक्त कटुवाल यस्तो पो रहेछ ?’ म मनमनै भन्छु । हरिभक्त कटुवाललाई जहाँ, जहिले र जस्तोसुकै रुपमा देखे पनि चिन्न सकिन्छ- म यो कुरा खुबै दोहर्‍याउँछु मनमा !

कविता महोत्सवको आधाआधीमा जलपानको आयोजना हुन्छ ! म पुनः समूहद्वारा निर्देशित भएर जलपान कक्षतिर लाग्छु। भित्रको शान्त समूह अब हल्ला, गफ अनि हाँसोमा परिणत हुन थाल्छ । म एउटा प्याला हातमा लिएर चिया थाप्न खोज्छु । त्यहाँ थुप्रै हातहरू अगि बढ्छन् चिया थाप्न । यही क्रममा एउटा हातको ठुटो चुरोटले अचानक मेरो हात पोल्छ।

“आत्था !” हात पोलेपछि प्रतिक्रिया हुन्छ ।

“सरी भाइ ! माफ गर्नोस् !” मेरो छेउको मान्छे तुरून्त माफी चाहन्छ । ‘को मान्छे रहेछ’ को भावले म आँखा घुमाउँछु । धर्के कमिज र सेतै फुलेको केस लिएर एउटा मान्छे फिस्स हाँस्तै ठुटो चुरोट निभाउँछ !

‘एहे ! हरिभक्त पो !’

–०–

दृश्यान्तको अभिप्रायले पर्दा लाग्यो । तीर्थ भाइले हातमा सूची बोकेर कार्यक्रम सुरू गरे- “जुनसुकै सभा सञ्चालन गर्न एक जना सभापतिको आवश्यकता पर्ने भएकाले म यो शोकसभा सञ्चालन गर्नुहुन श्री…….”

बिस्तारै पर्दा खुल्छ । समय बिहान ! म साथी विनोद गौचनका साथ रत्नपार्कको घुइँचो पार गर्दै पद्मकन्या क्याम्पस, बागबजार पुग्छु । क्याम्पसको प्राङ्गणमा एक जना मान्छे आफ्नै धुनमा चुरोट फुकिरहेको देखा पर्छ ।

“ऊ ! हरिभक्त कटुवाल !” विनोदलाई देखाउँछु ।

हरिभक्त हामीलाई स्वागत गर्न तत्परता देखाउँछ। हामी आँखा छलीछली उसलाई हेर्न थाल्छौं, ऊ आफ्नै धुनमा बग्न थाल्छ- म भूपीबारे सोध्न विनोदलाई प्रेरित गर्छु ।

“खै भाइ, भूपी आउँदैन होला ! ऊ यस्तो प्रोग्राममा प्रायः आउँदैन ।” हरिभक्तको जवाफ ।

एकैछिनपछि महानन्द सापकोटाको शोकसभा आरम्भ हुन्छ स्वय‌ं हरिभक्तको सभापतित्वमा ।

–०–

बिस्तारै पर्दा लागेपछि तीर्थ भाइको उद्घोषण कानमा गुन्जियो- “अब कार्यक्रमको पहिलो चरणमा स्व. हरिभक्त कटुवालको कविता पाठ ! स्व. कटुवालको ‘दाइ कविता खै कविता’ पाठ गर्दै हुनुहुन्छ श्री……”

–०–

हुरीबतासको वेगमा पर्दा खुल्छ । रङ्गमञ्चको सन्दर्भ छ- मुक्तक कार्यक्रम ! कविताले आफ्नो कलात्मकतालाई आफैँमा समेटेर सांस्कृतिक रूप ग्रहण गर्न सक्छ भन्ने आग्रह हो पोयुसांपको !

दृश्य खुल्दा म जैनेन्द्र जीवन र विजय बजिमयका साथ साधारणतः कुरा गरिरहन्छु । हुन त कुराको कुनै सिलसिला छैन । कुराको वेग जता पनि बग्न खोज्छ र यो वेगको अन्त्य हुनुभन्दा पहिले नै फोनको घण्टी बज्छ- क्रिङक्रिङ… क्रिङक्रिङ… क्रिङक्रिङ… । हामी सबैको प्रतीक्षा हो यो फोनको घण्टी । हामी हत्तारिन्छौं ।

“अहिले भर्खर काठमाडौंबाट आएको अन्तिम बसबाट हरिभक्त दाइहरू झर्नुभयो !” फोनमा विक्रमको आवाज गुन्जिन्छ । म घडी हेर्छु- बेलुकीको नौ बजे । अब खानाको व्यवस्था मिलाउनु छ । म जैनेन्द्र र विजयलाई छोडेर भाउजूको होटलतिर लम्कन्छु एक प्रकारले सुनसान सडकमा दगुर्दै । त्यति नै बेला पोखराको बिजुली बत्तीले चमत्कार देखाउँछ झ्याप्प निभेर !

“थुक्क !” म सडकको बीचैमा थुकी दिन्छु । भाउजूको होटल बन्द भइसकेको हुन्छ । म उल्टो पाइला सार्दै फर्कन्छु । अब कहाँ लगेर के खुवाउने ? एउटा भूतजस्तो समस्या खडा हुन्छ । “अब शनि होटलमा फोन गरौं !” हामी सल्लाह गर्छाैं । फोन हुन्छ । झटारो अहिले ठिक ठाउँमा पर्छ ।

एकछिनपछि हरिभक्त कटुवालको एक जमात आइपुग्छ । विक्रम, तीर्थका साथ हामी स्वागत गर्छाैं ।

“भाइ ! बाटोमा बस बिग्रेर अबेला भयो !” आफ्नो तर्फबाट हरिभक्त स्पष्टीकरण दिन्छ । खुसीसाथ स्पष्टीकरण दिने मान्छेलाई पुलुक्क हेर्छु- ऊ सेतो सुटमा ठाँटिएको हुन्छ !

शनि होटलको डाइनिङ टेबल !

खाना तयार हुँदैछ । हामी सबै गफमा भुलेका छौं । हरिभक्त कटुवाल माफी माग्दै उठ्छ र अलिकति पर गएर नवराजलाई केही भन्छ । कटुवाललाई पछयाइरहेका मेरा आँखाले बुझ्छन्- ‘कटुवाल रक्सी माग्दै छ !’ सर्वप्रथम कटुवाल घ्याम्पो हो- म साथीहरूको गफमा मिसिँदै सोच्न थाल्छु….

अब हामी सुत्ने तरखरमा छौं !

बोलावट र निम्ताद्वारा निद्रा आउँदैन, बरू त्यसै आउँछ । हामी त्यसैत्यसै आउने निद्रालाई पर्खिरहेका हुन्छौं तर हाम्रो पर्खाइ हाँसो, ठट्टा र गफमा अनुवाद भइरहेको हुन्छ । अचानक गफहरूको हुरी चल्छ- कटुवालका स्वर लहरीहरूमा… ।

“ल, अब कविता भन्ने, मुक्तकसहित !” र कटुवाल सुरू हुन्छ मिनी कविताबाट

“मखमली पनि फुल्यो,
सयपत्री पनि फुल्यो
कुन थुँगामा राखुँ भन,
बरालिने मन !”

कटुवाल साधारणसाधारण रक्सीका घुट्काहरुमा साधारणसाधारण कविताका टुक्राहरूमा बग्न थाल्छ-

“हारे पनि मज्जा लाग्ने, कुनै खेल यस्तो हुन्छ ।
बन्धनमै बसुँजस्तो मायाको नेल यस्तो हुन्छ ।”

हामी रोमाञ्चित भएर ताली पिट्न थाल्छौं । कटुवाल एक घुट्को गिलास लिएर भन्छ- “अब कविता भन्ने तिमीहरूको पालो !” अनि कविताको लहर चल्न थाल्छ- जैनेन्द्र जीवन, कृष्णभूषण बल, कणाद महर्षि, विश्वविमोहन श्रेष्ठ, गगन विरही, तीर्थ, विजय… सबै छोटाछोटा कविता र मुक्तकहरूमा बग्न थाल्छन् । यो कविता भन्ने र सुन्ने क्रम चिरेर कटुवाल खुब मज्जाले जोसिन्छ- तिमीहरूले एउटा मुक्तक सुनाए म दुइटा सुनाउँछु, दुइटा सुनाए म चारवटा सुनाउँछु ।” अनि त्यही जोसमा कटुवाल हातमा रक्सी लिएर ‘जाम’ मुक्तक पढ्न थाल्छ-

“जता हेर्‍यो उतै

मेरो नजरमा जाम प्यारो छ ।”

यसरी यो अव्यवस्थित कार्यक्रम चलिरहन्छ । यही क्रममा सबैका आँखा लोलाउँदै जान्छन् । कटुवाल भन्छ- “तिमी सरूभक्त, म हरिभक्त, आऊ सँगै सुतौं !”

–०–

हुरीबतासको वेगले पर्दा बन्द हुँदा तीर्थ भाइ कटुवालको कविता पाठको कार्यक्रमपछि अर्काे चरणमा प्रवेश गर्दै बोले- “अब स्थानीय कविहरूद्वारा कविता पाठको कार्यक्रम छ । सर्वप्रथम आफ्नो कविता पाठ गर्न म श्री….”

कछुवाको चालझैँ ढिलो गरी ढल्कँदै मस्तीका साथ पर्दा खुल्दै जान्छ । मानौं उपत्यकाभरि व्याप्त कुइरीमण्डल विभाजित हुँदैछ सूर्यको कलिलो स्पर्श पाएर !

मुक्तक कार्यक्रमको सन्दर्भ ! कार्यक्रम हुने दिन !

पोखरा व्यापार सङ्घको मूल ढोकाबाट मानिसहरू प्रवेश गर्न थाल्छन् टिकट काट्तै ! कवितालाई पनि नाटकलाई झैँ मञ्चन गर्न सकिन्छ, कविता कार्यक्रमलाई पनि सांस्कृतिक कार्यक्रमसरह मञ्चमा प्रस्तुत गर्न सकिन्छ ! यो एउटा प्रयोगात्मक धारणा हो । परम्परादेखि एकदम भिन्न ‘टिकट काटेर कविता सुन्नु’ अन‌ौंठोअनौठै लाग्ने कुरा हो, कताकता अमिल्दोजस्तो लाग्ने । तर पुराना रुढीग्रस्त परम्परा भत्किएर नयाँ मूल्य र मान्यताहरू विज्ञानसम्मत ढङ्गले स्थापित हुँदै जानुपर्छ भन्ने आधुनिक आदर्शअनुरुप कविता कार्यक्रम सुरू हुन्छ ।

मुक्तक कार्यक्रमको प्रमुख अतिथिको रुपमा हरिभक्त कटुवाल देखा पर्छ । उसका साथ स्थापित कवि-लेखकहरूको हुल पनि देखापर्छ र सबैको कुतूहल शान्त पार्ने अभिप्राय लिएर पहिलो मुक्तक कार्यक्रम आरम्भ हुन्छ कटुवालबाट ।

“कतै जुवाडेले हातमा कौडी खेलाउँदै हेरेको यौटा छुकजस्तो

कतै भर्खर वसन्तले छोडी गएको उदास बूढो रुखजस्तो

यस्तो लागिरहेछ यस बेला यो जिन्दगी

अन्तिम पातो पनि च्यातिसकेपछिको एउटा ठुटो चेक बुक जस्तो….”

पोखराका युवा कवि-लेखकहरूका साथ हरिभक्त कटुवाल र कटुवालका साथ रक्सी !

अहिले कटुवाल सबैको फर्माइसको वस्तु हुन्छ । म हेरिरहन्छु, सबैको आँखा र सबैको ध्यान कटुवालमाथि छ, मानौं ऊ सबैले मन पराइएको ग्रामोफोनको दुर्लभ गीत हो तर कटुवालको आँखा कसैप्रति छैन, रक्सीप्रति छ । कटुवाल एक घुट्को रक्सी पिउँछ, एक सर्काे याक तान्छ र एक टुक्रा कविता भन्छ !

“कटुवाल दाइ ! एउटा गीत !”
कटुवाल सुनाउँछ-
“बदनाम मेरा आँखाहरूमा
सपना कसकसको बोकेर बाँचु ।
जिज्ञासा मेरै, उत्कण्ठा मेरै
कुन ढुङ्गालाई ढोगेर बाँचुँ….”
“कटुवाल दाइ ! एउटा कविता !”
कटुवाल सुनाउँछ-
“देखेंदेखेंजस्तो लाग्छ, भेटेभेटेजस्तो लाग्छ
कहिले देखें कहाँ देखें ठाउँ पनि बिर्सें,
राधा हो कि सुनगाभा हो, नाम पनि बिर्सें…..”

कटुवाल निरन्तर रक्सी पिइरहन्छ, याक फुकिरहन्छ र प्रत्येक व्यक्तिको फर्माइसलाई पूरा गरिरहन्छ । म कताकता सोच्न थाल्छु, ‘के यो सबै चिज साहित्य हो ? के कटुवालले रक्सी पिइरहनु पनि साहित्य हो ?’ मेरा आँखा आलोचनात्मक पाराले टिप्न थाल्छन् । सोच्छु, ‘हरिभक्त, रक्सी, कविता अनि गीत ! यी चार कुरालाई बेग्लाबेग्लै राख्न सकिन्न तर त्यो सम्पूर्ण परिवेशलाई पनि आँखा चिम्लेर स्विकार्न सकिन्न !

आधा रातको पहिलो चरण !

कटुवाललाई पूरापूर मात लागेको छ । ऊ अरूले पिइदेला भनी चुरोटको बट्टा लुकाउन थाल्छ । अँ, त्यो रक्सीको बोतलमा आधाजति रक्सी बाँकी छ । कटुवाल सबैका अगिल्तिर कस्तोकस्तो अर्थ्याउन नसकिने हाँसो हाँस्दै बोतल लुकाउँछ र भन्छ, “यो म कसैलाई पनि दिन्न ल !”

उफ ! कटुवाल चुरोट लुकाउँछ !

कटुवाल रक्सीको बोतल लुकाउँछ !

कटुवाल मात लागेर उठ्न सक्तैन, सबैलाई घुँडा टेकेर बिदा दिन्छ !

–०–

बेलाका तालहरुमा शोकधुन सुस्तरी रूँदै थियो । शोकसभा समाप्त भएको थिएन । तीर्थ भाइ शोकसभामा ताली नलगाउन सबैलाई अनुरोध गरिरहेको थियो । बाहिर साधारण झरी परे पनि यो पोखरा हो । यहाँ यस्ता झरीसित रिसाएर अथवा मन दुखाएर काम चल्दैन । पोखराको आकाश हो, कुनै पनि बेला वर्षन सक्छ । म अनावश्यक कुराहरूमा मन लगाउँदै विशृङ्खलित हुन खोज्छु । तर कटुवाल शृङ्खलालाई त्यसै बिर्सन सकिँदैन । उद्घोषकका आवाज र शब्दहरू फेरि पनि कानमा गुन्जन थाल्छन्- “सौभाग्यवश अहिले हामीहरूबीच एक यस्तो व्यक्ति पनि हुनुहुन्छ, जसले बाल्यकालमा कटुवालबाट शिक्षा हासिल गर्नुभएको थियो । उहाँसित संस्मरण सुनाउन आग्रह गर्छु । उहाँ हुनुहुन्छ श्री…….”

पर्दा तान्ने मान्छेले दृश्य संयोजन हुनुभन्दा पहिले नै हृवात्त पर्दा तानिदिन्छ । म क्रोधित भएर उसलाई आँखाले हिर्काउन थाल्छु । ऊ क्षमायाचनासहित लामो जिब्रो निकालेर लज्जित हुन्छ ।

मेहन्द्रपुलको पेटी र विशाल जनसमूह !

सडक-कविता-क्रान्ति !

जोडतोडका साथ कविता कार्यक्रम सुरू हुन्छ । मान्छेहरूको समूह हिउँको ढिकाझैँ जमेको छ । स्थानीय एव‌ं बाहिरबाट आएका कविहरू पालैपालो कविता पाठ गर्दैछन् । म पेटीमा बसेर सुनिरहेको छु । कटुवालको पालो आएको हुँदैन, म कटुवालसित भन्छु- “कटुवाल दाइ ! आज ‘दाइ कविता ! खै कविता ?’ पनि पाठ गर्नुपर्छ तपाईंले !”

“हुन्छ भाइ ! अवश्य !”

“आज तपाईंले म्याक्सिमम कविता पाठ गर्नुपर्छ ।”

“हुन्छ भाइ, म म्याक्सिमम कविता पढ्नेछु !”

“अनि दाइ, ‘यो जिन्दगी खै के जिन्दगी’ सबभन्दा पछि पाठ गर्नुहोला ।”

“हुन्छ भाइ, हुन्छ !”

कटुवाल मेरा सम्पूर्ण इच्छा स्वीकारेर आफ्नो पालो आएपछि पेटीमा उभिन्छ । मलाई थाहा छ- त्यो विशाल जनसमूह सबभन्दा बढी कटुवाललाई सुन्न इच्छुक छ । पेटीमा उभिएर कटुवाल कराउन थाल्छ-

“बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नु ?
आँसु खसाली गहमा हाँस्नु पनि के हाँस्नु ?”

–०–

फेरि हृवात्त पर्दा बन्द भयो, पर्दा तान्ने मान्छेको भूलले ! शोकसभा निरन्तर चलि नै रहेको थियो । धूपहरू अन्तिम स्थितिमा जलि नै रहेका थिए । मैले ढोकाबाहिरबाट तीर्थ भाइलाई त्यो कुरा भने साङ्केतिक क्रियाद्वारा । तीर्थ भाइले सिन्के धूपको नयाँ मुठो जलाए । मैले सिन्के धूपको सुगन्धित धूवाँभित्र हरिभक्तको स्केच ठम्याउने प्रयास गरें । बिस्तारै स्केचवरिपरि रङमगिएका सुगन्धित धूवाँका मुस्लाहरु खुल्दै जान थाले । साथसाथै पर्दा पनि बिस्तारै खुल्दै गयो ।

काठमाडौं !

म नाटक महोत्सवमा भाग लिन गएको हुन्छु साथीहरुका साथ । एक दिन अचानक प्रकट पँगेनीको मुखबाट सुन्छु- ‘कटुवाल दाइसित भेट भयो आज, बिरामी हुनुहुँदो रहेछ । मसित एक-दुई रूपियाँ माग्नुभयो, मैले मसित भएको तीन रूपियाँ दिएँ… !’

‘तीन रूपियाँ ?’ म स्तम्भित भएँ, ‘के यो पनि साहित्य नै हो ?’ कटुवालप्रति अत्यन्त क्रोधित हुँदै । ‘विद्वत्वृत्ति परित्याग गर्ने स्वाभिमानी कटुवाल किन एक-दुई रूपियाँ माग्दै हिँड्छ ? के घ्याम्पो लडाउन ?’ म कटुवालप्रति अत्यन्त विषाक्त भएँ ।

नयाँ सडक, भूगोल पार्क !

कटुवाल बिहानीको घाम तापिरहेको छ । म नदेखेझैँ भावले लुकेर हेर्न थाल्छु । लामो केश अनि दाह्री-जुँगामा म विरुप कटुवाल देख्छु । ‘मनपरी घ्याम्पो लडाएपछि यस्तै हुन्छ !’ म मनभित्रै क्रोधित भएर बोल्न थाल्छु । एकछिनपछि ठयाक्क बाटोमा जम्काभेट हुन्छ । अब नदेखेझैँ गरेर जान सम्भव हुँदैन ।

“के भयो दाइ ?” म रूखो स्वरले सोध्छु ।

“बिरामी भएँ, ब्लड प्रेसर….” कटुवाल जबाफ दिन्छ । म देख्छु- कटुवालका लामा दाह्री-जुँगामा बाक्लो छयाङका श्वेतकणहरु अल्झिएका छन्…..

“हस् त दाइ, म जान्छु !” रूखो गरी बिदा लिन्छु म । कटुवाल मुन्टो हल्लाएर विपरीत बाटो लाग्छ । अशक्त भावले अलिअलि ढलफलाउँदै हिँड्छ ऊ । म पछिल्तिरबाट निकै बेर हेरिरहन्छु र सोच्न थाल्छु- ‘रक्सी पिएर ढलफलाउने कटुवाल अब रोगले पनि ढलपलाउँदै छ !’

–०–

शोकसभा अन्तिम चरणमा पुगेको कुरा तीर्थ भाइको उद्घोषणद्वारा थाहा भयो । म सोच्न थालें- हामी यसरी नै शोकसभा गर्न बाध्य छौं । ‘यहाँ हरेक साहित्यकारको सम्मान मरेपछि हुन्छ !’ यो सबै भन्छन्, खुबै भन्छन्- भन्न साह्रैभन्दा साह्रै सजिलो छ । मलाई एउटा कुरा निश्चित थाहा छ- यस्ता चिप्ले कुरा गर्नेहरु पनि जिउँदो साहित्यकारलाई बेवास्तै गर्छन् । अजब नेपाल… !

तीर्थ भाइको उद्घोषण फेरि पनि सुनियो- “अहिलेसम्म हरिभक्त कटुवालको कवि व्यक्तित्वको चर्चा भयो, अब उहाँको गीतकार व्यक्तित्वप्रति दृष्टिपात गर्नु प्रासङ्गिक होला । गीतकार हरिभक्तका गीतहरु गाउन म श्री…..”

र, अम्बर गुरूङको उदास धुनका साथ सुस्तरीसुस्तरी पर्दा खुल्दै जान्छ…..

–०–

‘हरिभक्त कटुवाल सिकिस्त बिरामी !

साप्ताहिक समीक्षाको एक टुक्रा खबर पढ्छु म ।

“कटुवाल दाइ ! तपाईंलाई रोग लाग्दैन ?” बागबजारको ओरालो झर्दा सोधेको थिएँ मैले । सन्दर्भ थियो सुरापान !

“अवश्य रोग लाग्छ तर म मेडिकल चेकअप कहिले पनि गर्दिनँ । किनभने डाक्टरले धेरै रोगको नाम दिएर तर्साउन खोज्छ !”

म घरीघरी त्यही कुरा सम्झन्छु। तर म पहिलेझैँ रिसाउन सक्तिनँ । आखिरमा तीर्थ, प्रकट, विक्रम, विजय आदिका साथ एउटा कार्यक्रम बन्छ- कटुवालको सहयोगार्थ अर्थसङ्कलन कार्यक्रम !

अर्थ सङ्कलन कार्यक्रम महेन्द्रपुलबाट सुरू हुन्छ !

हो, कटुवाल प्रसिद्ध कवि एवम् गीतकार । तर उसको उपचारका लागि पनि चन्दा सङ्कलन गर्नु सजिलो छैन । म अनुभव गर्छु, हरिभक्त कटुवाल भन्दैमा सबैको खल्तीबाट पैसा र्झन सक्तैन !

–०–

हो, हरिभक्तको जीवनको अन्तिम पर्दा खसिसकेको थियो । कार्यक्रमको अन्तिम दृश्यको पर्दा पनि खस्यो तर अम्बर गुरूङको सङ्गीत समाप्त भएन । मैले सोचें- ‘हरिभक्तलाई सम्झनु आनन्दायक छैन । उनलाई सम्झनु एउटा घायल र कमजोर मनलाई सम्झनुजस्तो हो, एउटा घायल सुगालाई सम्झनुजस्तो । एउटा दुःखान्त नाटकको अन्तिम पर्दा !’ मैले धेरै बेरसम्म हरिभक्त कटुवाललाई विक्रमको आवाजमा अनुभव गरिरहें-

“….एउटै छ घाम, एउटै छ जून
बेग्लै नठान कोरेर साँध
तिमी पर्खिरहु धैर्य सँगाली
म भेट्न आउँछु तोडेर बाँध…..”

सरुभक्तको किताब ‘बांगाटिंगा धर्साहरु’बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment