Comments Add Comment

अस्ट्रेलियामा नेपाली सडक : एडिलेडमा ‘नेपाल रोड’, मेलबर्नमा ‘गोर्खा वे’

सिड्नी । अस्ट्रेलियामा नेपाल चिनाउने के-के कुरा छन् होला ? यो ब्यापक चासोको कुरा हो । नेपाल र नेपाली पहिचान जनाउने केही व्यवसाय, केही संस्थाका नामहरु, केही पुस्तकहरु, नेपाली खानेकुरा, नेपाली पोशाक यस्तै-यस्तै ।

ब्रिसबेनमा तीन दशकअघि विश्व ब्यापार सम्मेलनताका बनेको नेपाली मन्दिर त्यहाँ जाने सबैको लागि तीर्थस्थल बनिसकेको छ । हालै मर्मत सम्हार गरिएपछि यो खुल्ने क्रममा छ । तर नेपाली पहिचान झल्कने केही सडकहरु पनि अस्ट्रेलियामा छन् भन्ने कुरा सायद धेरैलाई थाहा छैन ।

अस्ट्रेलियाले तीनवटा नेपाली नामाकरण गरिएका सडक भेटिएका छन्, जसमा दुई वटा दक्षिण अस्ट्रेलियामा छन् । एउटा सडक भने भिक्टोरियामा बन्दैछ । पहिले भिक्टोरियाको बन्दै गरेको बाटोका बारेमा चर्चा गरौं ।

एक नेपाली महिलाको पहलमा हालै मेलबर्नमा निर्माणाधीन एक सडकको नाम ‘गोर्खा वे’ राख्ने प्रस्ताव स्वीकृत भएको छ । दोस्रो विश्व युद्धमा योगदान गरेका गोर्खा सैनिकहरुको स्मृतिमा यो बाटोको नाम ‘गोर्खा वे’ प्रस्ताव गरिएको हो ।

पहलकर्ता हुन् रोशनी श्रेष्ठ 

यो बाटोको नामाकरणको अभियन्ता पुर्ख्यौली घर पोखरा भएकी र हाल भिक्टोरिया राज्य सरकारको मानव स्रोत विभागमा कार्यरत रोशनी श्रेष्ठ हुन् । उनका अभिभावक पोखराबाट सिन्धुपाल्चोक बसाइँ सरेका थिए । उनले दुई वर्ष लगाएर यो बाटोको नाम ‘गोर्खा वे’ राख्न सफल भइन् । उनले यो नाम राख्न भिक्टोरियाका बस्ती विकास सम्बन्धी निकायहरुसँग बारम्बार समन्वय गरिन् । उपयुक्त प्रस्ताव तयार गरिन् र सडक निर्माताहरुलाई पनि सहमत गराइन् ।

श्रेष्ठका अनुसार उनी भिक्टोरियाको सानो सहर बालारत बस्दा हरेक वर्ष ‘एन्ज्याक डे’मा वार मेमोरियलमा सहभागी हुन्थिन् । त्यहाँ दोस्रो विश्व युद्ध लडेका अस्ट्रेलिया र न्युजील्यान्डका सैनिकहरुको ठूलो चर्चा हुन्थ्यो । तर सोही युद्धमा सहभागी गोर्खा सैनिकको बारेमा कुनै चर्चा नसुनेपछि उनलाई पुर्खाहरुले गरेको योगदानको सम्झना हुने कुनै न कुनै काम गर्न मन लाग्यो र अभियान सुरु गरिन् । बालारटबाट बसाइ सरेर मेलबर्न आएपछि मात्रै आˆनो योजना पुरा गर्ने अवसर पाएको श्रेष्ठले बताइन् ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्ड्याम सिटी काउन्सिलमा बन्दै गरेको नयाँ बस्तीमा दोस्रो विश्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको सम्झनामा बाटोको नाम ‘गोर्खा वे’ राखिएको उनको भनाइ छ ।

गोर्खा वेको दुवैपट्टी करिब ३० वटा घर हुने छन्, जसमा केही प्लट नेपालीहरुले किनिसकेका छन् । जसले करीब एक हजार वर्गमिटर क्षेत्रफल ओगट्छ । यसको नजिकै एउटा पार्क पनि बन्दैछ ।

नयाँ बस्तीमा आˆनो सोंचलाई मूर्त रुप दिन सकिन्छ कि भनी उनले पहिला काउन्सिलमा प्रस्ताव राख्दा काउन्सिलले डेभलपरसँग समन्वय राख्नुपर्ने सुझाव दियो । उनले भनिन्, ‘डेभलपरसँगको कुराकानीपश्चात प्रस्तावलाई मूर्तरुप दिन अवधारणा प्रस्ताब माग भयो जसलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलपरले स्वीकृति प्रदान गरेपछि आधिकारिकता दिन असिस्टेण्ट डेभलपमेण्ट म्यानेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपश्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।

सपना अर्को पुस्ताको लागि

बाटोको नाम राख्ने अभियानकी अभियन्ता श्रेष्ठको सपना अझै अधुरै छ । ‘दोश्रो विश्व युद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिकको यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि वर्षको एकपटक यही बाटो हिँड्दै शालिकमा सम्मान दिन पाए हुन्थ्यो,’ रोशनीले भनिन् ।

यसका लागि अवधारणा प्रस्ताव बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी रहँदैन कि भन्ने चिन्ता पनि छ । तर, आगामी पुस्ताले गर्व गर्नलायक काम गर्ने धोको रहेको श्रेष्ठ बताउँछिन् ।

‘यो सबै काम अर्को पुस्ताले नेपालसँगको सामिप्यता कायम राखोस् भनेर गरिएको हो, यहाँ नेपाल चिनाउने चिजहरु भएमा अर्को पुस्ताले पनि गर्व गर्ला,’ उनले भनिन् ।

दक्षिण अस्ट्रेलियामा चार सडक

सम्भवत मेलबर्नमा बाटोको नाम यसरी नेपाली राखिएको पहिलो हुन सक्छ तर अस्ट्रेलियामा नेपाली नामका बाटाहरु अरु पनि छन् । अस्ट्रेलियाको दक्षिणी राज्यको राजधानी एडिलेडमा दुई ओटा सडकहरु छन् जसका नामहरु ‘नेपाल स्ट्रिट’ र ‘नेपाल रोड’ रहेका छन् ।

एडिलेडको टिट्रीगल्ली काउन्सीलमा पर्ने ‘नेपाल रोड’ आसपास नेपाली बस्ती पनि छ । तर त्यो सडकको नाम कसरी ‘नेपाल रोड’ रह्यो उनीहरुलाई थाहा छैन ।

नेपाल रोड नजिकै मोड्भरीमा बस्ने नेपाली वातावरण वैज्ञानिक डा. सुनील शर्माका अनुसार उक्त बस्तीमा सन् २००७ देखि नेपालीहरु बस्न थालेका हुन् । तर उक्त सडकको नाम त्योभन्दा पहिले नै थियो । एडिलेडमै ‘नेपाल रोड’ बाट दश मिनेट टाढा मोटर बाटोमा ‘नेपाल स्ट्रिट’ पनि छ । उक्त बाटोको नाम पनि कसरी रहृयो खोजी जारी छ । स्थानीय काउन्सिललाई अनलाइनखबरले लेखेको इमेलको जवाफ प्राप्त भएपछि यी बाटाहरुको नामको रहस्य थाहा हुनेछ नै ।

दक्षिण अस्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूत दीपक धमलाले नाम जे जसरी रहे पनि नेपालीका लागि यो गौरबको कुरा भएको बताए ।

दक्षिण अष्ट्रेलिया आउने पहिलो नेपाली कुमार गुरुङले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उनी आउनुभन्दा अगाडिदेखि नै त्यहाँ एभेरस्ट, हिलारी र तेन्जिङका नाममा सडकका नाम राखिएका छन् ।

उनले भने, ‘नेपाल घुम्न गएका कोही नेपालप्रेमीले यी नामहरु प्रस्ताव गरेका हुनसक्छन् । तर तथ्य आफूलाई थाहा नभएको उनले बताए । एडिलेड्मा प्रथम सगरमाथा आरोही हिलारी र तेन्जिङका नामका सडकहरु एभरेस्ट एभेन्युमा गएर जोडिन्छन् र नजिकै एभरेस्ट रिजर्भ पनि छ ।

महावाणिज्यदूत धमलाले भने, ‘नेपाल रोड, नेपाल स्ट्रिट, एभरेस्ट, हिलारी र तेन्जिङ एभेन्यु नामाकरण गर्ने स्थानीय काउन्सिल तथा सडक निर्माताहरुलाई नेपालीहरुको तर्फबाट धन्यवाद पनि दिएँ ।’

सिड्नीमा एभरेस्ट स्ट्रिट

सिड्नीको सेभेन हिल्समा एभरेस्ट स्ट्रिट र हिमालय क्रुसेन्ट छन् । यी दुवै बाटाहरुले हिमालया पार्कलाई रिङ्ग रोड्को झल्को दिन्छन् । अस्ट्रेलिया र अस्ट्रेलियनहरुले हिमालय, नेपाल र नेपालीलाई निकै माया गर्छन् भन्ने कुराका प्रमाण पनि हुन् यी ।

दक्षिण अफ्रिकामा पनि नेपाललाई प्रतिनिधित्व गर्ने बाटाहरु छन् । त्यहाँ ‘काठमाडौं स्ट्रिट’ र ‘माउन्ट एभरेस्ट स्ट्रिट’ छन् । त्यहा ‘हिमालयन स्ट्रिट’ पनि भेटिन्छ, जुन हिमालयन हाइटमा गएर टुंगिन्छ । तर दक्षिण अफ्रिकाली देशमा बाटोका नामहरु काठमाडौं स्ट्रिट र एभरेस्ट स्ट्रिट नामांकन पनि कसरी भयो होला त्यो पनि खोजीकै विषय भएको छ ।

संसारका अरु ठाउँमा नेपाली सडक कहाँ-कहाँ होलान् ? त्यो देशमा बस्ने नेपालीका लागि ती स्वगौरवका संरचना हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment