Comments Add Comment

दैलेखको नारायण नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना पुष्टि

२२ असार, सुर्खेत । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरू गरी नौ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडाध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरूको अवस्था सामान्य छ । संक्रमित कर्मचारीहरू होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरू भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरूको स्वाब संकलन गरेको थियो । ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाको सेवा प्रभावित

जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । असार मसान्तको समयमा दैनिक कार्यालयलमा सयौंको संख्यामा सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

उपभोक्ता समितिबाट भुक्तानी लिन आएका र अन्य कामका लागि कार्यालयमा आएका सर्वसाधारणहरूलाई सेवा प्रवाहमा समस्या देखिएको सूचना अधिकारी प्रकाशकुमार बिसीले बताए । ‘कार्यालयबाट हुने कामका लागि नगरपालिका अगाडि टेबुल राखिएको छ । सेवाग्राहीहरूले टेबुलमा फाइलहरू जम्मा गर्नुहुन्छ । उक्त फाइलहरू दोस्रो दिन कार्यालयले अध्ययन गरेर मात्र अगाडि बढाउने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यसले गर्दा कार्यालयको सेवा प्रभावित भएको छ ।’

सुरक्षाकर्मी पनि संक्रमित

दैलेख जिल्लामा हालसम्म क्वारेन्टिनको सुरक्षार्थ खटिएका ३३ जना सुरक्षाकर्मी, ६ जना स्वास्थ्यकर्मी, ११ जना स्थानीय कर्मचारी र २ जना जनप्रतिनिधिमा संक्रमण देखिएको छ ।

दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीका अनुसार २० जना सशस्त्र प्रहरी, ९ जना नेपाल प्रहरी र ४ जना नेपाली सेना गरी ३३ जना सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सुरक्षाकर्मीसहित ४४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितसँग नजिक रहेर काम गरेका सबैलाई परीक्षणको दायरामा ल्याइएको छ ।

सोमबारसम्म दैलेखमा संक्रमितको संख्या ७८१ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

परीक्षणको दायरा बढाइँदै

कर्णाली प्रदेशमा सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको दैलेख जिल्लामा पछिल्लो समय पीसीआर परीक्षणको दायरा बढाइएको छ । नारायण नगरपालिका आफैँले पीसीआर मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।

एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने कोरोना फोकल पर्सन रेग्मीले बताए । ‘एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता छ, मेसिन दुई सिफ्टमा सञ्चालन गर्न सकिन्छ,’ रेग्मीले भने, ‘दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment