+
+
Shares

ओली-प्रचण्डबीच एक्लाएक्लै छलफल

सहमतिविना बैठक नराख्न मध्यमार्गी नेताहरूको दबाब

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १२:५०
फाइल तस्वीर

२२ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै छलफलपछि अर्का अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ।

यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरूसहित वार्ता गरेका ओली र प्रचण्ड सोमबार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने खुलेको छैन । तर प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको बालुवाटार स्रोतको दाबी छ ।

यसअघि दुवै वार्तामा ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्‍याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान नै राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरूले पनि दबाब दिइरहेका छन् ।

पार्टी फुट्न नदिन सक्रिय एक नेताले भने– अहिले स्थायी कमिटीमा छलफल गराएर बहुमतका आधारमा कुनै निर्णय गर्न खोजियो भने त्यहीबिन्दुबाट पार्टी फुट्छ । त्यसैले दुई अध्यक्षबीच नै मुख्य समझदारी होस् भनेर हामीले पनि आग्रह गरिरहेका छौं । उहाँहरूले जे सहमति गर्नहुन्छ त्यो पार्टी बैठकमा ल्याउनुभयो भने छलफल सहज हुन्छ।

अहिले पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने तहको बहस भइरहेको भन्दै ती नेताले बैठकले ओलीको सहमतिविना निर्णय गर्नासाथ उनले नमान्ने र पार्टी विभाजनको बीजारोपण हुने बताए । पार्टी फुट्नेमात्र होइन संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय भए पनि यसपटक सहमतिकै आधारमा हुनुपर्ने जोड ती नेताहरूको छ ।

पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरू पार्टी विभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरूसँग सघन संवाद गरिरहेका छन् ।

स्थायी कमिटी बैठकले समाधान नदिने भएकाले केन्द्रीय कमिटी बैठक बोलाउन पनि हस्ताक्षर अभियान चलिरहेको छ । तर नेताहरू भने दुई अध्यक्ष र माधव नेपालसहित समझदारी कायम नभई पार्टीको बैठक राख्दा त्यसले समस्याको निकासभन्दा पनि विभाजनतर्फ धकेल्ने भएकाले समझदारीमै जोड दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?