Comments Add Comment

विकास दुवे नेपालमा लुकेको शिवसेनाको दाबी

विकास दुवे

२२ असार, काठमाडौं । भारतको शिवसेना पार्टीले फरार अभियुक्त विकास दुवे नेपालमा लुकेर बसेको दाबी गरेको छ । अहिले नेपाल–भारत सम्बन्ध राम्रो नभएको भन्दै शिवसेनाले भोलिका दिनमा विकास दुवे पनि भारतका लागि नेपालको दाउद इब्राहिम बन्न सक्ने चेतावनीसमेत दिएको छ ।

उत्तर प्रदेशको भारतीय जनता पार्टीको आलोचना गर्ने क्रममा सोमबार शिवसेनाले यस्तो बताएको हो । शिवसेनाले पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा योगी आदित्यनाथको सरकारले ४० भन्दा धेरै मुद्दा उनीमाथि हुँदा पनि विकास दुवेलाई इन्काउन्टर गर्नुपर्ने मानिसको सूचीमा नराखेको भन्दै सरकारको आलोचना गरिएको छ ।

हालै कानपुरमा विकास दुवे र उनको समूहले प्रहरीमाथि गरेको आक्रमणमा डीएसपीसहित आठ प्रहरी मारिएका थिए । प्रहरीले अहिलेसम्म विकास दुवेका एक सहयोगीलाई पक्राउ गरेको छ । अबको केही समयमा नै विकास दुवे पनि पक्राउ पर्ने दाबी सरकारले पनि गरेको छ ।

शिवसेना पार्टीको मुखपत्र ‘साम्ना’को सम्पादकीयमा ४० वर्षअघि पनि यस्तो आक्रमणमा ११ प्रहरी मारिएको घटना उल्लेख गर्दै योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारले राज्यमा के-कस्ता परिवर्तन गरे भन्ने प्रश्न उठाइएको छ ।

अहिले मानिसहरू कोरोना भाइरसको कारण घरभित्रै बसेको र भोलिका दिनमा अपराधीहरूबाट बच्न घरमा नै बस्नुपर्ने अवस्था आउन सक्ने शिवसेनाले चेतावनी दिएको छ । अहिले भारतको प्रहरीले विकास दुबेविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ ।

उनलाई ल्याउन सक्ने मानिसलाई सरकारले एक लाखको पुरस्कार घोषणा गरेको छ । साथै, प्रहरीले उनको अवैध सम्पत्ति र बैङ्कमा रहेको पैसा पनि जफत गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment