Comments Add Comment

प्रश्नैप्रश्न प्रचण्डलाई

कामरेड प्रचण्ड, अभिवादन !

तपाईंको दु:ख देखेर हैरान हुन्छु म । कहिलेकाहीँ त खुच्चिङ भन्न पनि मन लाग्छ । `दु:ख पाइस मंगले आफ्नै ढंगले´ भन्न पनि मन लाग्छ । तर किन किन मन मान्दैन । तपाईं हिजोको आफ्नो अध्यक्ष । हिजोको आफ्नो सुप्रिम कमान्डर । कहाँ खुच्चिङ भन्न सकिँदो रहेछ र ? कहाँ `दु:ख पाइस मंगले आफ्नै ढंगले´ भन्न सकिँदो रहेछ र ? सकिन्न रहेछ कामरेड सकिन्न रहेछ ।

तपाईंलाई छाडेर हिँडेको पनि झन्डै ६ वर्ष हुन लागेछ । यस अवधिमा कम्तिमा हिमालमा ६ पटक हिउँ पर्‍यो । ६ पटक हिउँ पग्लियो । नदीहरूमा ६ पटक बाढी आयो । ६ पटक पानीको सतह कम भयो । वसन्तमा ६ पटक फूल फुल्यो । ६ पटक फूल झर्‍यो । हो, कामरेड हामीबीचमा जति सहमति असहमति भए पनि प्रकृति आफ्नै गतिमा अघि बढिरहेको छ । न त हिमालमा हिउँ पर्न छाडेको छ, न त हिउँ पग्लन । न त नदीमा बाढी आउँन छाडेको छ, न त पानीको सतह कम हुन । न त वसन्तमा फूल फुल्न छाडेको छ, न त फूल झर्न ।

कामरेड ! मान्छे असाध्यै अप्राकृतिक हुँदोरहेछ । आफ्नो स्वार्थ खातिर मान्छेले कहिले विजातीयसँग सजातीय सम्बन्ध जोड्दो रहेछ, कहिले सजातीयसँग विजातीयको लागि सम्पूर्ण सम्बन्ध तोड्दो रहेछ । हो, कामरेड ! स्वार्थी मान्छेहरूको यस्तै यस्तै अनेक सम्बन्ध हेरिरहेको छु म । बितेको ६ वर्षमा आँखा टट्याउन्जेल यस्तै तमासा हेरिरहेको छु म ।

कामरेड प्रचण्ड ! तपाईंलाई पुष्पकमल दाहाल भनेको पटक्कै मन पर्दैन मलाई । `प्रचण्ड´ को अर्थ कतै मैले बिर्सेकि भनेर शब्दकोश पल्टाएर हेर्छु – `ज्यादै चर्को स्वभावको, ज्यादै मापाको, ज्यादै खरो, कसैदेखि नडराउने, साहसिलो, आँटिलो´ भन्ने नै लेखिएको पाउँछु म । कि शब्दकोशमा `प्रचण्ड´ को अर्थ बदलियो ? के साँच्चै तपाईं हिजोको त्यही प्रचण्ड नै हो त ? हिजो देशीय सामन्तवाद मात्रै होइन, विस्तारवाद र साम्राज्यवादसँग पनि लड्ने साहस राख्नुहुन्थो तपाईं । नढाँटी भन्नुहोस् त कामरेड, आज तपाईंसँग त्यो साहस छ त ?

समय यस्तो पनि थियो, बहँदै गरेको हावा तपाईंको एक आदेशमा टक्क रोकिन्थ्यो । बहन छाड्थ्यो । उर्लदैँ गरेको बाढी तपाईंले आँखा झिम्क्याएपछि चुपचाप बग्न थाल्थ्यो । थुर्थुर हुन्थे कामरेड सबै थुर्थुर । तपाईंको आदेशविना सबै स्थिर रहन्थ्यो । सबै तपाईंको आदेश पर्खिएर बस्थे । त्यो तागतको श्रोत के थियो कामरेड ? तपाईंले नै सिकाएको हैन, जनता फलामे किल्ला हुन्; जनता इतिहासका निर्माता हुन् । कामरेड ! आज ती फलामे किल्ला कहाँ छन् ? ती इतिहासका निर्माता के गर्दै छन् ? अनि तपाईं कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? समीक्षा गर्दै हुनुहुन्छ कामरेड ?

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक असमानताका विरुद्ध जनयुद्ध लडेको हैन कामरेड ? तर आज के भैरहेको छ ? बर्गीय, जातीय, क्षेत्रीय, लैंगिक खाडल पुरिएको छ कि हिजोभन्दा झन बढेको छ ? कारखानामा भोकभोकै काम गर्ने मजदुरहरूले के के अधिकार पाए ? सुकुम्बासीहरूले जग्गा पाए ? जसको जोत उसको पोत लागू भयो ? खेतखलिहानमा आधापेट खाएर काम गर्ने किसानहरूले के के पाए ? बताइदिनुसन कामरेड क-कसले के के पाए ?

पहिचानका आधारमा राष्ट्रहरूले राज्य पाए कि पाएनन् ? हिजो जनयुद्धकालमा तपाईंकै नेतृत्वमा राष्ट्रियताका आधारमा १४ प्रदेशसम्मको आन्तरिक अभ्यास गरेको होइन र कामरेड ? कि भुल्नु भयो ? एकात्मक सामन्ती केन्द्रिकृत राज्य व्यवस्थाका विरुद्ध पहिचानमा आधारित सङ्घीय राज्य व्यवस्थाका लागि सबै राष्ट्रियताहरूलाई लड्न आव्हान गरेको सत्य बिर्सनु भयो कि त ? पहिलो संविधानसभाबाट गठित राज्य पुनर्संरचना आयोगले दिएको १० जोड १ मा आधारित प्रदेश निर्माण गर्ने प्रतिबद्धता भुल्नु भयो कि त ?
जनयुद्धकालमा राष्ट्रियता (Nationality) को आधारमा राज्य निर्माण गर्ने सिद्धान्त आज कसरी जात (Cast) को राज्य निर्माण गर्ने सिद्धान्त भयो कामरेड ? के हिजो जनयुद्धकालमा जातको राज्य निर्माण गर्न खोजिएको थियो र ? थियो भने त्यो गल्ती मात्रै होइन महाअपराध थिएन र कामरेड ? अनि किन त्यत्रो महाअपराध गर्नुभयो ? तपाईंले त हामी सबैलाई अपराधी पो बनाउनु भएको रहेछ । अपराधीको नेता के हुन्छ ? महाअपराधी हुन्छ होइन र ? के तपाईं महाअपराधी हो ? होइन भने १० जोड १ को मुद्दा किन छाड्नु भयो ?

केपी ओली नश्लीय राष्ट्रवादी हुन् भन्ने कुरामा तपाईंलाई शंका थियो र ? नश्लीय राष्ट्रवादी र बहुसांस्कृतिक राष्ट्रवादी कसरी एउटै पार्टीमा अट्नु भएको छ कामरेड ? कि बहुसांस्कृतिक राष्ट्रियता छाडेर नश्लीय राष्ट्रियतामा छलाङ मार्नुभयो ? `क्रमभङ्ग, छलाङ, महाविपत्ती´ को कुरा विगतमा बारम्बार घोकाउनुहुन्थ्यो हामीलाई । `रूपान्तरण सकारात्मक र नकारात्मक दुबै हुन्छ । सकारात्मक रूपान्तरणले समाजलाई अघि बढाउँछ, नकारात्मक रूपान्तरणले पछि धकल्छ ।´ आफ्ना यी शब्दहरूलाई सम्झनुभएको छ ?

मधेस झरेपछि `मधेससँग लभ परेको छ´ भन्नुहुन्थ्यो । तपाईंले मधेसीलाई लभ गर्नु भयो कि भएन ? त्यो तपाईं नै जान्नुस । तर मधेसीले भने तपाईंलाई साँच्चै लभ गरेकै थिए । मधेसीले सिरहाबाट जिताएर पठाएकै हो नि कामरेड तपाईंलाई । आज तपाईंकै अर्का एक नम्बरको अध्यक्षले भाषा, भेषभुषा र छालाको रंग हेरेर सबै मधिसीलाई बिहारी भन्दा तपाईंको मुख किन बन्द ? मधेसीहरूलाई राष्ट्रघाती करार गरिरहँदा तपाईंको कान किन बन्द ? यस्तो पनि हुन्छ र कामरेड ?

कोसी, गण्डकी र महाकाली सन्धि गर्ने मधेसी थिए कि को थिए कामरेड ? २०३२ सालदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको आफ्नो भूमि छाडेर नक्सा जारी गर्ने मधेसी थिए र ? नश्लीय राष्ट्रवादको नाङ्गो नाच नाच्नेहरूसँग तपाईंको कसरी लभ पर्न गयो ? हामी त तीनछक्क परेका छौं है कामरेड ।

पार्टीभित्र अन्तर्संघर्ष बढ्न थालेपछि प्रतिस्पर्धीलाई तह लगाउन खासगरी कम्युनिस्ट पार्टीभित्र बनिबनाउ एउटा आरोप लाउने गरिन्छ । त्यो आरोप हो-भारतीय विस्तारवादको दलाल । हिजो जनयुद्धमा तपाईंले आफ्ना सहयोद्धा बाबुराम भट्टराईमाथि यो प्रभावशाली हतियार प्रयोग गर्नुभएको थियो । बिडम्बना ! आज तपाईंलाई त्यही हतियार तपाईंका अर्का अध्यक्षले प्रहार गर्नुभएको छ । पृथ्वी गोलो छ भनेको यही होला कामरेड ! जे होस्, सत्य सत्य नै हुन्छ । कसैलाई गाली गरेर वा कसैको गुलामी गरेर अनि आफ्नै देशका मधेसीलाई बिहारी भनेर कोही राष्ट्रवादी होइँदैन । यो स्कुलिङ बदल्नुपर्छ कामरेड ।

लैंगिक कुरा गर्दा तपाईंले हिजो जनयुद्धकालमा दिएको प्रशिक्षण झलझली सम्झिन्छु । `महिला भनेका प्रतिक्रान्ति रोक्ने क्रान्तिकारी हुन्´ यी सबकुरा हामीले भनेका हौं र कामरेड ? यो त तपाईंले नै गरेको संश्लेषण हो । अनि आज नागरिकता विधेयकमा ‘‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले…’’ यस्तो वाक्यांश लेख्न कसरी संभव भयो ? आजको दुनियाँमा बिबाह गरेर महिला मात्रै पुरुषको घरमा जान्छन् ? कि पुरुष पनि महिलाको घरमा आउँछन् ? पुरुष र महिलाबीच यत्रो विभेद किन कामरेड ?

जातीय छुवाछूत र विभेद मानव सभ्यताको कलंक हो भनेर जनयुद्धमा तपाईंले नै सिकाएको हो हामीलाई । `जातीय छुवाछूत र विभेद अन्त्यका लागि अन्तर्जातीय विवाह गर्नुपर्छ । अझ खासगरी गैरदलितले दलितहरूसँग बिबाह गर्नुपर्छ ।´ तपाईंको यस आदेश मानेर हजारौं हजार गैरदलितले दलितसँग बिबाह गरेका थिए । तर आज जनयुद्धको उदगम जिल्ला रुकुममा नवराज बिकहरू मारिँदा तपाईंको स्वर किन भेरीको छालझैँ बुलन्द नभएको कामरेड ? के नवराज बिकले कथित उच्च जातकी कन्यासँग प्रेम गर्नु पाप थियो ? बिबाह गर्नखोज्नु अपराध थियो ?

राज्यको पुनर्संरचना र शासकीय स्वरुप परिवर्तन गर्ने जनयुद्धको प्रमुख मुद्दा थियो । नेपालको प्रथम कार्यकारी राष्ट्रपति प्रचण्ड भनेर देशभरि भाषण गर्ने, पोस्टर टाँस्ने र भित्ता रंग्याउने हामी नै थियौं कामरेड ? तर आज नेकपामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको उच्चारणसम्म सुनिदैँन । हिजो दस वर्षको जनयुद्ध यही संसदीय व्यवस्था कै लागि लडिएको थियो त कामरेड ?

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक रूपमा समाजको पीँधमा परेका/पारिएकाहरूलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत समान प्रतिनिधित्व गराउनुपर्छ भन्ने हिजोको मुद्दा के झुटो थियो र ? समावेशी/समानुपातिक प्रतिनिधित्वको कुरा भोट तान्ने नारा मात्रै थियो र कामरेड ?

कम्युनिजम मान्नेहरू कम्युनिस्ट हुन् । अर्थात् कम्युनिस्टहरू साम्यवादी हुन् । मैले बुझेको यति हो । केपी ओली र तपाईंले अध्यक्षता गरिरहनु भएको नेकपा के साँच्चै कम्युनिस्ट पार्टी नै हो त ? छातीमा हात राखेर भन्नुहोस् त के नेकपा मार्क्सवादी, लेनिनवादी पार्टी नै हो ? कम्तिमा अरु केही नभए पनि शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने होइन र ? शिक्षा र स्वास्थ्यमा यस्तो निर्लज्ज निजीकरण र व्यापारीकरण गर्ने सरकार पनि कम्युनिस्ट सरकार हुन्छ त कामरेड ?

सुशासन र समृद्धिको कुरा गरेर तपाईंहरू कहिल्यै थाक्नुहुन्न । `समृद्ध नेपाल, सुखी नेपाली´ भनेर असाध्यै मीठो नारा बनाउनु भएको छ । खान नपाएर कोही मर्दैनन भनेर प्रधानमन्त्री भाषण गर्नुहुन्छ । तर मलर सदा र सूर्यबहादुर तामाङहरू खान नपाएर मरिरहेका छन् । कति लाजमर्दो ?

पार्टी र नेताहरू आसेपासे पुँजीवाद (क्रोनिक्यापटालिजम) बाट यसरी घेरिएका छन् कि सम्झदा पनि कहाली लाग्छ । यति प्रकरण, बालुवाटार जग्गा प्रकरण, ७० करोडको प्रेस प्रकरण, ओम्नी प्रकरणलगायतका भ्रस्टाचार प्रकरणहरू यसैको प्रमाण होइन र कामरेड ?

पार्टी भनेको निश्चित राजनीतिक विचारधाराद्वारा निर्देशित समाज परिवर्तनको साधन हो । दर्शन, अर्थशास्त्र, राजनीति, समाजशास्त्र र संस्कृतिको समुच्चता नै राजनीतिक विचारधारा हो । ओली र तपाईंले नेतृत्व गर्नुभएको पार्टीको नाम नै नेकपा अर्थात् नेपाल कम्युनिस्ट पार्टी । कम्युनिस्ट पार्टीको सिद्धान्त नै बर्गविहिन, राज्यविहिन अर्थात् साम्यवाद हो । नाम अनुसार के साँच्चै नेकपा कम्युनिस्ट पार्टी नै हो त कामरेड ? मुद्दाको हिसाबले र अहिले गरिरहेको कर्मको आधारमा पुँजीवादी नेपाली कांग्रेसभन्दा साम्यवादी नेकपा के के कुरामा फरक छ ? कम्तिमा औंला भाँचेर कांग्रेस र नेकपाबीचको पाँचवटा भिन्नता बताइदिनुस न कामरेड ? नाम र ऐतिहासिक पृष्ठभूमिभन्दा बाहेक यी दुई पार्टीमा अरू केही भिन्नता देख्दिनँ त म ।

कामरेड प्रचण्ड ! हिजोको एउटा कार्यकर्ताले चित्त फाट्नेगरि भन्यो भनेर दु:ख नमान्नुहोला । मन नदुखाउनु होला । यो मेरो मात्रै कुरा होइन, हिजो जनयुद्ध लडेका हजारौं कार्यकर्ता र लाखौं जनताको सरोकारको बिषय हो । किनकि, हजारौं नेपालीहरूका बलिदानबाट स्थापित मुद्दाहरू बीच बाटोमा अलपत्र छाड्नु भएपछिको पीडा हो । आज जे भैरहेको छ, के यो प्रतिक्रान्ति होइन र कामरेड ? श्रीपेच लाएको राजा र राजतन्त्र फर्कनुभन्दा बाहेक अरु कुन कुरा फर्कनु बाँकी रह्यो र अब ? कामरेड ! आफ्नै आँखा अगाडि अझ आफैंलाई साक्षी राखेर प्रतिक्रान्ति गरिरहेको कसरी टुलुटुलु हेरिरहनु भएको छ ? कसरी सहिराख्नु भएको छ ? मुटुभित्र सुनामी उठ्दैन कामरेड ? मन बाउँडिएर छट्पटी चल्दैन कामरेड ??

यसबीचमा जे भयो भयो, तर अब हजारौंको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न कम्तिमा २०५२ सालयताका सबै राजनीतिक शक्तिहरू एकजुट बनौं । हिजो जनयुद्धले स्थापित गरेका मुद्दाहरूको स्वामित्व लिने आँट गर्नुस् । जनयुद्धबाट स्थापित मुद्दा तपाईंले चटक्कै छाडेर हिँड्नु भएपछि आज बाबुरामलगायत हामी (जसपा) ले ती मुद्दाहरू बचाइरहेका छौँ । बचाएका मात्रै होइन, अझ समृद्ध बनाएका छौँ । आउनुहोस् कामरेड ! एकचोटि सबै सँगै मिलेर अघि बढौं । हस् त अभिवादन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment