+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिनियाँ राजदूतको दौडधुपले जन्माएको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते २१:५६

२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन लागेको र त्यसमा नेपालका नेताहरू पनि लागेको अभिव्यक्ति दिएको एक हप्तापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालसँगको यो भेट प्रधानमन्त्री ओलीको कुर्सी जोगाउन केन्द्रित रहेको कतिपयको विश्लेषण छ । यस्तो धारणा राख्नेमध्येका एक हुन्, कुनैबेला ओली नेतृत्वकै मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा । थापाले राजदूत यान्छीको सक्रियतालाई ‘रिमोट कन्ट्रोल’को संज्ञासमेत दिएका छन् ।

‘प्रम ओली भन्नुहुन्छ- सरकार गिराउन भारतीय राजदूत सक्रिय भए । अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घरमा पुग्छिन्’ पूर्वपरराष्ट्रमन्त्री थापा लेख्छन्, ‘के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ?’

‘स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन’ कमल थापाले आफूले उठाएको प्रश्नको उत्तर पनि आफैँले लेखेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता धनराज गुरुङले पनि यान्छीको भेटघाटलाई कुर्सी बचाउने वा ढलाउने सन्दर्भमा टिप्पणी गरेका छन् । ‘सरकार ढलाउन भारतीय राजदूत सक्रिय भयो भन्ने प्रम ओलीको सरकार बचाउन चिनियाँ राजदूत नेताहरूको घरदैलोमा पुगेको खबर आएको छ’ गुरुङले टि्वटरमा लेखेका छन्, ‘जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतहरूबाट हुने हो भने हाम्रो राष्ट्रियता कहाँ पुग्दैछ ? कुर्सी ढलाउन र बचाउन राष्ट्रियता नै तिलाञ्जलि ?’

असाधारण तथा पूर्णाधिकारसहित दुई वर्षदेखि नेपालमा राजदूत रहेकी ५० वर्षीया यान्छीको दौडधुप थापा र गुरुङले भनेजस्तै ओलीको कुर्सी जोगाउनका लागि हो त ?
‘यथार्थ के हो ठ्याक्कै भन्न गाह्रो छ । तर बाख्रा हराउनु र स्याल कराउनु सँगै भनेजस्तो चाहिँ भएको छ’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘राजदूतले हाम्रा नेताहरू भेट्नैहुँदैन भन्ने होइन । तर भेटको पृष्ठभूमि, सन्दर्भ र स्तरले अर्थ राख्छ ।’

सत्तारुढ नेकपाभित्र विवाद चरमोत्कर्षमा पुगेर प्रधानमन्त्री ओलीको राजीनामा समेत मागिएको सन्दर्भमा भएको यो भेटवार्तालाई आन्तरिक राजनीतिसँग अलग राखेर हेर्न नसकिने कतिपयको तर्क छ । जुनसुकै देशका कूटनीतिक प्रतिनिधिसँग भेटवार्ता परराष्ट्र मन्त्रालयको प्रतिनिधि अनिवार्य राख्नुपर्ने भट्टराईको सुझाव छ ।

प्रधानमन्त्रीका कूटनीतिक सल्लाहकार रहिसकेका भट्टराई भन्छन्, ‘पूर्वप्रधानमन्त्री नेपालले नेपालको हित, सुरक्षा मामिलाको विषयमा कुराकानी गर्नुभएको छ भने त्यो कुरा परराष्ट्र मन्त्रालयमा रिर्पोटिङ गर्नुपर्छ ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि हस्तक्षेप नै हो कि जिज्ञासाको तहमा हो भन्ने प्रष्ट नभएको बताउँछन् । उनी भन्छन्, ‘निर्देशन दिएको हो भने सोह्रैआना गलत हो, तर सामान्य भेटघाट मात्रै हो भने धेरै आपत्ति जनाउनु नपर्ला !’

खेल मैदान बनाउने खेल

अतिक्रमित भूमि लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे लगत्तै भारतले नेपालमाथि ‘चिनियाँ इसारा’ मा काम गरेको भन्ने गम्भीर आरोप लगायो । नेपालले दुई सय वर्ष पुरानो सन्धि, ऐतिहासिक तथ्य र प्रमाणहरूका आधारमा जारी गरेको नक्साको विषयमा भारतको आरोप आफैँमा तथ्यहीन र निराधार छ ।

नेकपाको पार्टीे निर्णय अनुसारै नक्सा सार्वजनिक भए पनि आफूलाई नक्साका कारण भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइ विवादित बन्यो । तर यान्छीको सक्रियता भारतीय प्रोपोगान्डालाई बल दिनेखालको देखिन्छ ।

किनभने ओलीले अध्यादेश ल्याउने बेलामा पनि यान्छीको सक्रियता यसैगरी बढेको थियो । गत वैशाखको त्यो सक्रियतालाई भारतीय मिडियाले नक्सा प्रकरणमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसम्बन्धी तथ्य र प्रमाणलाई भन्दा बढी महत्व दिएर प्रचार-प्रसार गरेका थिए ।

सन् १९५५ देखि औपचारिक सम्बन्ध कायम उत्तरी छिमेकीसँगको सम्बन्धबारे निर्णय गर्दा भारत वा तेस्रो मुलुकले के भन्ला भन्ने कुराले धेरै अर्थ नराख्न सक्छ । तर उनीहरूले पनि नेपालको भौगोलिक अवस्थित र सामरिक संवेदनशीलतालाई भने सम्मान गर्नैपर्ने कूटनीतिज्ञहरू बताउँछन् ।

‘कसैले पनि नेपालमा दख्खल दिनुअघि ऊ एक्लो शक्ति होइन र देखिनेगरीको यस्तो हस्तक्षेपले अन्य शक्तिलाई पनि आकर्षित गर्छ भन्ने बिर्सन मिल्दैन’ पूर्वराजदूत भट्टराई भन्छन्, ‘कूटनीतिमा ओलीजीले भन्नुभए जस्तो कसैले गर्दा हस्तक्षेप मानिने र कसैले गर्दा नमानिने भन्ने हुँदैन, कुरा प्रष्ट छ, नेपाललाई कुनै पनि देशको हस्तक्षेप स्वीकार्य छैन ।’

नेकपा प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल आन्तरिक मामिलामा हस्तक्षेप गर्ने सबै प्रवृत्तिको पक्षमा नभएको बताउँछन् । ‘नेपालको आन्तरिक राजनीतिका आयाम र अवयवहरूलाई आज पनि यो वा त्यो वैदेशिक शक्तिले निर्देशित गर्छ भने सबै खालको षड्यन्त्रका सिद्धान्तलाई हामी अस्वीकार गर्छौं’ प्रवक्ता श्रेष्ठले टि्वटरमा लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका रूपमा हामी आफैँ निर्णय लिन सक्षम छौं । हाम्रो मामिलामा हस्तक्षेप गर्ने कुनै पनि प्रवृत्ति अस्वीकार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?