Comments Add Comment

के बहिष्कार अभियानले डुबाउला फेसबुकलाई ?

अठारौँ शताब्दीको उत्तरार्धमा चलेको ध्वंशवादी आन्दोलनले दासहरुद्वारा उत्पादित सामानहरु प्रयोग नगर्न बेलायती जनतालाई उत्प्रेरित गरेको थियो । आन्दोलनको अपिल निकै प्रभावकारी बन्यो । झण्डै ३ लाख मानिसले चिनी खरीद गर्न बन्द गरे । जनताले चिनी किन्न छाडेको त्यो घटनाले दासत्व अन्त्य गर्नमा दबाब सिर्जना गर्यो ।

‘स्टप हेट फर प्रोफिट’ अर्थात ‘नाफाका लागि घृणा बन्द गर’ नामक अभियान पछिल्लो पटक चलिरहेको यस्तो अभियान हो जहाँ बहिष्कारलाई राजनीतिक अस्त्रका रुपमा प्रयोग गरिएको छ ।

यो अभियानको आरोप के छ भने फेसबुकले आफ्नो प्लाटफर्मबाट जातीवादी तथा घृणाजन्य सामाग्रीहरु हटाउनका लागि पर्याप्त काम गरेको छैन ।

यो अभियानमा कैयन् दिग्गज कम्पनीहरु समाहित भएका छन् र उनीहरुले फेसबुक तथा अन्य सोसल मिडियामा विज्ञापन दिन बन्द गरेका छन् ।

यो अभियानमा पछिल्लोपटक फोर्ड, एडिडास, एच पी, कोकाकोला, युनिलिभर तथा स्टारबक्स लगायतका कम्पनी जोडिएका छन् ।

ब्हष्यक नामक समाचार साइटका अनुसार गत मे महिनामा माइक्रोसफ्टले समेत फेसबुक र इन्स्टाग्राममा विज्ञापन दिन बन्द गरेको थियो । फेसबुक प्लाटफर्ममा अनुपयुक्त सामाग्रीहरु रहेकोमा चासो देखाउँदै माइक्रोसफ्टले त्यस्तो कदम चालेको बताइएको छ ।

यसैबीच, रेडिट तथा ट्विच लगायतका प्लाटफर्महरुले समेत घृणाविरोधी कदम चाल्दै फेसबुक लगायतका ठूला कम्पनीहरुमाथि दबाब सिर्जना गरिरहेका छन् ।

विश्वासको क्षति

के उक्त बहिष्कारले फेसबुकलाई क्षति पुग्ला ? त्यसको छोटो जवाफ हुन्छ – हो, सक्छ । किनकी फेसबुकको आम्दानीको अधिकांस हिस्सा विज्ञापनबाटै आउँदछ । विज्ञहरुका अनुसार विश्वास गुम्दै जानु र मर्यादाको मापदण्डको अभाव भएको अनूभुति बढ्दै जानुले व्यवसायलाई ध्वस्त पार्न सक्दछ ।

शुक्रबार फेसबुकको शेयर मूल्यमा ८ प्रतिशतको गिरावट आयो । जसका कारण फेसबुक सिइओको कूल सम्पत्ति कम्तिमा ६ अर्ब पाउण्डले घट्न पुग्यो ।

कम्पनीको मूल्यमा भैरहेको त्यस्तो क्षति भविष्यमा पनि बढ्दै जाला । तर के त्यसले फेसबुककै अस्तित्वमा दीर्घकालीन असर पार्ला ? त्यो चाहीँ प्रष्ट भैसकेको छैन ।

यद्यपि सोसल मिडियाहरु बहिष्कार गरिएको यो पहिलो घटना चाहीँ होइन ।

सन् २०१७ मा विभिन्न लोकप्रिय ब्राण्डहरुले युट्युब बहिष्कारको घोषणा गरेका थिए । जातीवादी तथा हिंश्रक भिडियो पछाडि आफ्ना विज्ञापनहरु राखिएको भन्दै कम्पनीहरुले युट्युबमा विज्ञापन नदिने घोषणा गरेका थिए ।

तथापि त्यो विशेष बहिष्कार अहिले धेरैले बिर्सिसकेका छन् । युट्युब तथा उसको मातृ कम्पनी गुगलले आफ्नो विज्ञापन नीति परिमार्जन गरिसकेको छ ।

फेसबुकका लागि पछिल्लो बहिष्कारले घाटा त अवश्य पनि होला । तर फेसबुकलाई लाग्ने घाटा सोँचिएजति नहुन सक्दछ ।

किनकी फेसबुक बहिष्कार गर्ने घोषणा गरेका अधिकांस कम्पनीहरुले हाल केवल जुलाई महिनाका लागि मात्र विज्ञापन नदिने बताएका हुन् ।

र अर्को महत्वपूर्ण कुरा के भने फेसबुकले विज्ञापनबाट कमाउने रकमको अधिकांस हिस्सा हजारौँ हजारको संख्यामा रहेका साना तथा मझौला विज्ञापनदाताबाट आर्जन गर्ने गरेको छ ।

सिएनएनले गत वर्ष प्रकाशित गरेको एक रिपोर्ट अनुसार फेसबुकमा सबैभन्दा ेधरै विज्ञापन दिने शीर्ष १ सय वटा ब्राण्डबाट फेसबुकले गत वर्ष ४ अर्ब २० करोड आम्दानी गरेको छ । जुन फेसबुकको कूल विज्ञापन आम्दानीको केवल ६ प्रतिशत मात्र हो ।

यस्तो अवस्थामा जबसम्म मझौला तथा साना कम्पनीहरुले फेसबुक बहिष्कार गर्दैनन् तबसम्म फेसबुकको आम्दानीमा ठूलो असर नपर्ने देखिन्छ ।

त्यस्तै दुनियामा यस्ता धेरै स साना कम्पनीहरु छन् जसका लागि प्रभावकारी र सुलभ विज्ञापन दिनका लागि फेसबुकको प्लाटफर्मको विकल्प छैन । टेलिभिजन लगायतका माध्यमबाट विज्ञापनमा महंगो शुल्क तिर्न नसक्ने कम्पनीहरुलाई लक्षित वर्गसम्म आफ्नो विज्ञापन गर्नका लागि फेसबुक नै अनिवार्य बनिसकेको छ ।

तर फेसबुकमा कुनैपनि परिवर्तन ल्याउन त्यति गाह्रो चाहीँ छैन । किनकी फेसबुक कम्पनीको स्वामित्व संरचनाका कारण सिइओ मार्क जुकरबर्ग सर्वशक्तिमान छन् । उनले कम्पनीमा चाहेको परिवर्तन ल्याउन सक्दछन् । त्यसैले कम्पनीहरुको दबाबबाट जुकरबर्ग आस्वस्त भएभने उनले कम्पनीको नीतिमा परिवर्तन ल्याउन सक्दछन् ।

तर यदि जुकरबर्ग बहिष्कारवादी कम्पनीहरुको दबाबमा आएनन् भने अन्य शेयरहोल्डरहरुले उनीमाथि खासै दबाब सिर्जना गर्न सक्दैनन् र कम्पनीको निर्णयमा ठूलो प्रभाव पार्न सक्दैनन् ।

गत शुक्रबार घृणाजन्य सामाग्रीहरुलाई ट्याग गर्न सुरु गर्ने घोषणा गरेसँगै फेसबुकले आफ्नो प्लाटफर्मको शुद्धिकरणतर्फ अगाडि बढेको संकेत गरेको छ । तर ती परिवर्तनहरु स्टप हेट फर प्रोटिन अभियानलाई मथ्थर पार्न पर्याप्त छैनन् ।

यो वर्ष सोसल मिडिया कम्पनीहरुका लागि उतारचढावको वर्ष रहेको छ । फेसबुक पनि यसबाट अछुतो छैन । यथार्थ के हो भने कम्पनीहरुले उठाउने कदममा उनीहरुको आम्दानी तथा मुनाफाले ठूलो अर्थ राख्दछ ।

यदि सोसल बहिष्कारको कदम अझै केही महिना चल्यो र अन्य कम्पनीहरुले पनि त्यसमा सहभागिता जनाए भने अवश्य पनि यो वर्ष सोसल मिडिया नेटवर्कहरुका लागि निर्णायक वर्ष हुनेछ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment