Comments Add Comment

‘लुजडाउन’पछि फस्टायो खानाको होम डेलिभरी

२३ असार, काठमाडौं । चैत ११ मा लकडाउन भएपछि ‘फुडमान्डु’ का प्रवन्ध निर्देशक मनोहर अधिकारीलाई फस्टाउँदै गएको व्यवसाय चौपट हुने हो कि भन्ने पिरलो थियो । लकडाउनका कारण रेस्टुरेन्टहरू बन्द भएपछि उनको कारोबार तीन महिनासम्म ठप्प नै रह्यो ।

सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो गरेको छ । अधिकारीलाई चिन्ता थियो, लकडाउन खुकुलो भए पनि फुडमाण्डुलाई पुरानो अवस्थामा फर्काउन सहज नहोला । तर उनले सोचे विपरीत तुरुन्तै कारोबार चम्किएको छ । अनलाइनमा खानाका परिकारहरूको डिमान्ड देखेर उनी दङ्ग छन् ।

अहिले नियमअनुसार रेस्टुरेन्टले ‘डायनिङ’ अर्थात् बसेर खाने सेवा दिन मिल्दैन । ‘टेक अफ’ (प्याकिङ फुड लिने) सेवा भने दिन पाइन्छ । सहरका धेरै रेस्टुरेन्टहरूले नियमको पालना गरेका छैनन् । धेरै साना खाजा/खाना होटल, रेस्टुरेन्ट र बेकरी क्याफे चलिरहेका छन् । तर पनि अनलाइनबाट खाना अर्डर गर्ने क्रम भने उत्साहजनक रूपमा बढेको छ ।

फुडमान्डु, तातोमीठो, भोजडिल्स, भोकलाग्यो, भोकमान्डुलगायतका सेवा प्रदायकहरूले फुड डेलिभरी सेवा दिएर रेस्टुरेन्टहरूलाई सघाएका छन् । फुडमान्डुमा आबद्ध करिब ६ सय रेस्टुरेन्टमध्ये अहिले ३ सय मात्रै सञ्चालनमा छन् । तर फुडमान्डुले विगतको तुलनामा ८० प्रतिशत बिजनेस ‘रिकभर’ गरिसकेको छ । अर्थात् आधा रेस्टुरेन्टले सेवा नथाल्दै कारोबार पुरानै स्थितिमा फर्किन थालेको छ ।

 रेस्टुरेन्टलाई खर्च धान्न सहयोगी 

अहिले ठूला र महँगा रेस्टुरेन्टले समेत मेनुमा छुटको घोषणा गरेर डेलिभरी सेवा दिइरहेका छन् । इन्डियन, चाइनिज र अन्य कन्टिनेन्टल परिकार घरमै मगाएर खानेको संख्या लकडाउनपछि बढ्न थालेको छ।

नेपालीहरूले बढी रुचाउने मःम, चाउमिन, पिज्जा, चिकेन तथा बेकरीलगायत परिकारको अर्डर पुरानै दरमा हुन थालेको देखेर अधिकांश सेवा प्रदायक खुसी छन् । होटल एभरेस्टदेखि त्रिसरा, बाजेको सेकुवा, भ्याली एक्प्रेसजस्ता परिचित होटल रेस्टुरेन्टले पनि यही शैली रोजेका छन् । ग्राहकको दैलोमै खाना पुर्‍याइदिएर बिजनेस बचाउने उनीहरूको रणनीति सफल पनि भएको छ ।

सरकारले रेस्टुरेन्ट खोल्न नदिएसम्म ग्राहकसँग जोडिरहन यस्तो सेवा प्रभावकारी भएको बताउँछन्, सञ्चालकहरू। घरभाडा, बैङ्कको किस्ता, कर्मचारीको तलबलगायत खर्च व्यवस्थापन गर्न सहज भएको उनीहरूको अनुभव छ ।

लकडाउनपछि खुलेका सीमित रेस्टुरेन्टहरू पनि राति ७/८ बजे नै बन्द हुने गरेका छन्। रेस्टुरेन्ट बन्द हुँदा राति खाना अर्डर गर्ने अवसरबाट उपभोक्ता अझै बञ्चित छन् । डिनरका लागि खानाको खासै डेलिभरी हुन सकेको छैन। तर पनि समग्रमा फुड डेलिभरी सर्भिसमा राम्रो ग्राहक संख्या बटुल्न सकिएको फुडमाण्डुका प्रवन्धनिर्देशक अधिकारी बताउँछन् ।

फुड डेलिभरी गर्ने तातोमीठोका प्रवन्ध निर्देशक निश्चल कार्कीको अनुभव पनि उस्तै छ। असार एकपछि घर तथा अफिसबाट खाना अर्डर गर्नेको संख्या ५० प्रतिशतले बढेको उनले बताए।

८ महिनाअघि मात्रै फुड डेलभरीको व्यवसाय थालेको तातोमीठोसँग अहिले सयवटा रेस्टुरेन्ट आबद्ध छन् । लकडाउनले थलिएका रेस्टुरेन्टबाट राम्रो दरमा डेलिभरी हुन थालेपछि सञ्चालकहरू खुसी भएको कार्की बताउँछन् ।

कसरी हुन्छ डेलिभरी ?

ग्राहकले लिन सेवा प्रदायकका एप, वेबसाइट र फोन, म्यासेन्जर र भाइबरमार्फत खाना/खाजा अर्डर गर्छन् । त्यसपछि रेस्टुरेन्टहरूले अर्डरअनुसार परिकार तयार गर्छन् । ग्राहकले अनलाइनमार्फत कुन रेस्टुरेन्टबाट मगाउने निश्चित गर्न पाउँछन् । अर्डर दिएको कति समयमा डेलिभरी दिने भन्ने जानकारीसहित कन्फरमेसन कल गरिन्छ । रेस्टुरेन्टले तयार गरेको ग्राहकको परिकार घरसम्मै पुर्‍याइन्छ । यसका लागि सबैजसो कम्पनीले आफ्नै डेलिभरी पर्सन राखेका छन् ।

कतिपय रेस्टुरेन्टले भने आफैँ पनि फोनमार्फत यस्तो सेवा दिँदै आएका छन् । घरमा व्यस्त हुने गृहिणीले समेत यस्तो सेवालाई रूचाएको रेस्टुरेन्टहरूको भनाइ छ । कतिपय कम्पनीले न्यूनतम डेलिभरी शुल्क लिने गरेका छन्, भने कतिपय कम्पनीले शुल्क नलिई सेवा दिइरहेका छन् ।

खाना डेलिभरी गर्दा संक्रमणको पक्षलाई ध्यानमा राखेर सावधानीका विभिन्न उपाय अपनाउने गरिएको छ । डेलिभरी पर्सनलाई पीपीई, पञ्जा, मास्क र सेनिटाइजर दिएर अधिकतम सतर्कता अपनाउन भनिएको बताउँछन्, तातोमीठोका प्रवन्ध निर्देशक कार्की ।

‘ग्राहकलाई ताजा र स्वस्थकर खाना पुर्‍याउन हामीले कुनै सम्झौता गरेका छैनौं,’ उनी भन्छन्,’ त्यसैले त धेरैले डेलिभरी सेवामा विश्वास गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment