Comments Add Comment

वैदेशिक रोजगार बोर्डको सदस्य बन्न हेम गुरुङले जनाए असमर्थता

२३ असार, काठमाडौं । म्यानपावर व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य बन्न अस्वीकार गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले गुरुङलाई आइतबार गुरुङसहित मेडिकल व्यवसायी कैलाश खड्कालाई सदस्य मनोनित गरेका थिए ।

तर मनोनयनको पत्र बुझ्न नपाउँदै मन्त्री यादव र मनोनित व्यवसायीहरूको आलोचना भएको थियो । गुरुङले मंगलबार मन्त्रालयलाई एक पत्र लेख्दै बोर्डको सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी दिएका छन् ।

उनले कोभिड-१९का कारण सिर्जित परिस्थिति र यसका कारण वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको जटिलता र आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस ठगी र सिन्डिकेटमा मुछिएकाहरू भित्रिए वैदेशिक रोजगार बोर्डमा

श्रममन्त्री यादवले म्यानपावर चलाइरहेका गुरुङलाई तालिम सेवाप्रदायकको तर्फबाट बोर्डमा ल्याएका हुन् ।

गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरबाट ठगिएका कामदारहरूको दर्जनौं उजुरी विभागमा छन् । त्यसमध्ये अझै थुप्रै उजुरी फर्छ्यौट हुन बाँकी छ । गुरुङ र उनको म्यानपावरमाथि अहिले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार विभागले पनि ठगीका उजुरीहरूमाथि अनुसन्धान गरिरहँदा गुरुङ वैदेशिक रोजगार बोर्डमा आएका छन् । गुरुङ सदस्य भएपछि एसओएसमाथि ठगीको कारबाही चलाउन पनि समस्या पर्ने विभागका अधिकारीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment