Comments Add Comment

कोरोना भाइरसविरुद्ध ‘हर्ड इम्युनिटी’मा आशंका

२३ असार, काठमाडौं । स्पेनमा गरिएको एक अध्ययनले मानिसमा कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणको लागि ‘हर्ड इम्युनिटी’ को विकास हुने सम्भावना निकै कम रहेको देखाएको छ ।

स्पेनमा ६० हजार मानिसमा गरिएको एक अध्ययनमा केवल पाँच प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्धको एन्टिबडी विकास भएको पाइएको मेडिकल जर्नल द लेसेन्टमा उल्लेख गरिएको छ । हर्ड इम्युनिटीको लागि ७० देखि ९० प्रतिशत मानिसमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी विकास हुनु जरुरी हुन्छ ।

अध्ययनमा सहभागी एक शोधकर्ताले अध्ययनको क्रममा एन्टिबडी विकास हुनेको संख्या निकै कम पाइएको र स्पष्टरुपमा हर्ड इम्युनिटीको लागि अपर्याप्त देखिएको बताएका छन् । अध्ययनकर्ताहरुका अनुसार स्पेनमा हर्ड इम्युनिटी विकास गर्दासम्म धेरै मानिसको मृत्यु हुने र स्वास्थ्य प्रणाली पनि कमजोर बन्नसक्ने बताएका छन् ।

अहिलेको अवस्थामा भौतिक दुरी कायम राख्ने र नयाँ संक्रमित पहिचान र अइसोलेट गर्ने कामलाई तीव्रता दिएर मात्र यो महामारी नियन्त्रण गर्न सकिने बताएका अध्ययनकर्ताको भनाइ छ ।

चीन र अमेरिकामा यसअघि गरिएको अध्ययनले पनि ठूलो संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमित नभएको कारण हर्ड इम्युनिटी विकास हुन नसक्ने पाइएको थियो ।

स्पेनमा अहिले दुई लाख ५० हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् र २८ हजार ३८५ जनाको मृत्यु भइसकेको छ । यद्यपि पछिल्लो केही सातायता भने स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक अंकमा झरेको छ । यद्यपि उत्तर पश्चिममा रहेको ग्यालिसिया क्षेत्रमा भने ७० हजारभन्दा बढी मानिसको बसोवास रहेको स्थानमा लकडाउन घोषणा गरिएको छ । त्यस्तै गत आइतबार क्याटालोनियाको दुई लाख १० हजार मानिसको बसोवास रहेको क्षेत्रमा पनि लकडाउन गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment