Comments Add Comment

भाइजर लगाएर प्रशिक्षण गर्दै कराँते खेलाडी

२३ असार, काठमाडौं । टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका कराँते खेलाडीले गत सातादेखि प्रशिक्षण पुनः सुरु गरेका छन् । कोरोना महामारी र लकडाउनले गर्दा खेलाडीको प्रशिक्षण ३ महिनादेखि रोकिएको थियो ।

गत मंसिरमा नेपालमै भएको १३ औं सागमा स्वर्ण जितेका अनु अधिकारी र नविन रसाइली करातेबाट ओलम्पिक छनोट खेल्नका लागि छानिएका थिए । अहिले उनीहरुलाई प्रशिक्षक दिपक श्रेष्ठले बिहान २ घण्टा प्रशिक्षण गराइरहेका छन् । तर, जोर–बिजोर प्रणाली लागु भएकोले उनीहरु हप्ताको चार दिन मात्र प्रशिक्षणका लागि सातदोबाटोस्थित कराँते एकेडेमीको हलमा पुग्छन् ।

नेपाल कराते महासंघ र राष्ट्रिय खेलकुद परिषदसँग मौखिक सहमतिपछि खेलाडीहरुले प्रशिक्षण सुरु गरेका थिए । तर एक साता बितिसक्का पनि सहमतिअनुसार खेलाडीको पीसीआर टेष्ट हुन सकेको छैन ।

यद्यपी खेलाडीहरु लामो समयपछि प्रशिक्षणमा फर्कन पाउँदा भने खुशी भएको प्रशिक्षक श्रेष्ठले बताए । ‘लामो समयमसम्म घरमै थुनिएर बस्दा उनीहरुलाई पनि अफ्ठ्यारो भएको थियो । अहिले ट्रेनिङमा फर्कँदा खुशी छन्,’ श्रेष्ठले भने ।

१३औं सागकी स्वर्ण विजेता अनु अधिकारीले प्रशिक्षण गर्न पाउँदा खुशी लागेको बताइन् ।

‘लामो समय ग्याप हुँदा गाह्रो भएको थियो । अब विस्तारै फर्म फर्काउने प्रयासमा छु,’ उनले भनिन् ।

अहिले ओलम्पिकको तयारीमा रहेका दुई खेलाडीका साथी अरु केही खेलाडी पनि प्रशिक्षणमा सहभागी भएका छन् । नविन रसाइली भने घुँडाको समस्याका कारण मंगलबार प्रशिक्षणमा उपस्थित थिएनन् ।

सम्बन्धित निकायबाट प्रशिक्षणका लागि कुनै मापदण्ड नबने पनि खेलाडीहरुले भाइजर लगाएर प्रशिक्षण गर्ने गरेका छन् । प्रशिक्षण श्रेष्ठले थुकबाट कोरोना सर्ने सम्भावनालाई कम गर्न भाइजर लगाएर प्रशिक्षण गरेको बताए ।

अहिलेको प्रशिक्षण टोकियो ओलम्पिकलाई लक्षित गरेर भइरहेको छ । तर कोरोना महामारीकै कारण जापानमा हुने ओलम्पिक एक वर्ष पछि सरेको छ । भ्याक्सिन नबनेको खण्डमा अर्को वर्ष पनि ओलम्पिक हुनेमा शंका नै छ ।

प्रशिक्षक श्रेष्ठले भने, ‘ओलम्पिक सर्दा नेपाली खेलाडीले त्यसको लागि तयारी गर्न थप समय पाएका थिए । तर नेपालमा तयारीका लागि उचित व्यवस्थापन नहुँदा भने केही समस्या पक्कै भएको छ ।’

प्रशिक्षक दिपक श्रेष्ठ ओलम्पिकका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने बताउँछन् । विश्वका अन्य खेलाडी पनि ओलम्पिक हुन्छ भनेर नै सकरात्मक रुपमा तयारी गरिरहेको उनको भनाइ छ ।

श्रेष्ठले प्रशिक्षण सुरु गरेपछि खेलाडीमा केही सुधार पनि भएको उल्लेख गरे । नविनले भने यस ट्रेनिङअघि नै बालाजु कराँते डोजोमा प्रशिक्षक ध्रुवविक्रम मल्लसंग प्रशिक्षण गरिरहेका थिए ।

लामो समयपछि प्रशिक्षणमा फर्कँदा सुरुमा गाह्रो भएको र अब विस्तारै सजिलो हुन थालेको अनुले बताइन् । ‘लकडाउन हुँदा सागको बेलामा निरन्तर ट्रेनिङ गर्दाको स्टामिना घटेको थियो । तर अहिले ट्रेनिङ सुरु गरेपछि विस्तारै सुधार भइरहेको छ ।’

अनुले ओलम्पिक नै टार्गेट लिएर प्रशिक्षण गरिरहेको बताइन् ।

‘हाम्रो मुख्य टार्गेट त ओलम्पिक नै हो । तर अरु गेमहरु जस्तै १४ औं साग, एसियन गेम्सहरु पनि हुन सक्छ । राष्ट्रिय स्तरका गेमहरु पनि होलान् । त्यसको लागि पनि तयारी गर्नुपर्छ,’ उनले भनिन् ।

अनुले यो लकडाउनको समयमा मानसिक रुपमा असर परेको बताइन् ।

‘सरकारले लकडाउन लागु गरेको थियो । कुनै ट्रेनिङ र प्रतियोगिता थिएन । खेलाडीहरु शुन्यको अवस्थामा आइपुगेका छन् । मानसिक रुपमा पनि असर परेको थियो । अब के होला हाम्रो ट्रेनिङ कहिले सुरु होला जस्तो लागेको थियो । प्रतियोगिता हुने हो कि होइन भनेर मानसिक तनाव जस्तो भएको थियो,’ अनुले बताइन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment