Comments Add Comment

जेलबाट छुटेलगत्तै अन्तिम पटक भन्दै सुन पसलमा चोरी

२४ असार, काठमाडौं । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी दिपक थापाका अनुसार कागज, बोतल उठाउने व्यक्तिको हुलियामा सुन, चाँदी पसलको रेकी गरी उनीहरुले चोरी गर्ने गरेका थिए ।

उनीहरुले लाजिम्पाटको पबी जवेलर्समा रहेको एक किलो एक सय ५० ग्राम सुन, ८ किलो ५ सय ६० ग्राम चाँदी र नगदसमेत गरी ८५ लाख ६ सय ४२ रुपैयाँ बराबरको चोरी गरेको अनुसन्धानबाट देखिएको छ ।

महाशाखाको विशेष टोलीले सुमित र बुद्धलाई मोरङको उर्लाबारीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

विक्रमलाई भने दरबारमार्गबाट पक्राउ गरिएको थापाले बताए । घटनामा संलग्न दुई जना भारतीय मूलका अभियुक्त फरार छन् ।

प्रहरीका अनुसार उनीहरुले पसलभित्र रहेको सीसी टीभीको डीभीआर समेत बोकेर लगेका थिए । दुई वटा समूहले जेलमा भएको चिनजानपछि पुनः भेला भएर अन्तिम पटक ठूलो काम गर्ने भन्दै चोरी गरेको पाइएको छ ।

जेलबाट छुटेको एक महिनामै उनीहरुले यो चोरी गरेको थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment