
२४ असार, काठमाडौं । प्रहरीले गैंडाको खागसहित चारजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक क्याफेबाट सोमबार खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका-४ घर भई ललितपुर गोदावरी नगरपालिकाको टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली-११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको विरेन्द्रनगर-११ घर भई काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन् ।
खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ ।
पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया 4