Comments Add Comment

प्रधानमन्त्रीको समर्थनमा कसले गर्दैछ देशभर प्रदर्शन ?

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन भएको छ ।

बुधबार काठमाडौं उपत्यकाका साथै देशका विभिन्न शहरमा प्रदर्शन भयो । उपत्यकामा कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा प्रदर्शन भएको छ । कोटेश्वर र असनमा भएको प्रदर्शनमा करिव २०० सहभागी थिए भने पनि अन्य प्रदर्शनमा सहभागीको संख्या कम थियो ।

उपत्यका बाहिर भएका प्रदर्शनमा कतै सानो समूह त कतै उल्लेख्य सहभागिता देखिएको छ । राष्ट्रिय झण्डा र प्रधानमन्त्री ओलीको तस्वीर भएको ब्यानरसमेत बोकेर प्रदर्शनमा उत्रिएकाहरुले ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘भारतीय दलाल होसियार’ जस्ता नारा लगाएका थिए ।

किन भइरहेको छ प्रदर्शन ?

संसदमा सत्तारुढ नेकपाको झण्डै दुई तिहाई बहुमत छ । तर, त्यही पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा दिनदिनै सडकमा प्रदर्शन भइरहेको छ ।

यो प्रदर्शन नेकपाको जारी स्थायी कमिटी बैठक र त्यहाँ भइरहेको बहससँग जोडिएको छ ।

नेकपा स्थायी कमिटी बैठक १० असारमा सुरु भएको थियो । सरकारको समीक्षासहित सातबुँदे एजेण्डा थियो ।

तर, १४ असारमा मदन भण्डारी जयन्तीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले भारतले आफू हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु समेत लागेको बताए । प्रधानमन्त्रीको यही अभिव्यक्तिले नेकपा बैठकलाई नयाँ मोड लियो ।

१६ असारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहित बोलेका १८ मध्ये १७ जना (ओलीबाहेक सबै) ले ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाए ।

भारतले साँच्चै हटाउन खोजेको भए त्यस्तो विषय बैठकमा राख्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको दाबीमा प्रश्न मात्र उठाएनन्, आफू बाहेक अरु नेताहरुलाई भारतीय एजेन्टका रुपमा प्रस्तुत गर्न खोजेको गम्भीर आपत्ति जनाए । ओलीले पार्टी र सरकार दुबै चलाउन नसकेको भन्दै उनीहरुले राजीनामा मागे ।

त्यसको दुई दिनपछि माइतीघर मण्डलामा सानो समूहले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन गरेको थियो । अब यो प्रदर्शनलाई देशव्यापी बनाइएको छ ।

कसले गर्दैछ प्रदर्शन ?

प्रधानमन्त्री ओलीको समर्थनमा देशभर भइरहेको सडक प्रदर्शनलाई स्वस्फूर्त भनिएको छ । प्रदर्शनबारे जानकारी सामाजिक सञ्जाल फेसबुक पेज र ग्रुपमा दिइने गरेको छ र, त्यसअनुसार युवाहरु आफैं भेला भएर प्रदर्शन गर्ने गरेका छन् ।

बुधबार भएको प्रदर्शनहरुमा भने नेकपाको भ्रातृ संगठन युवा संघ नेपालका नेताहरु पनि देखिएका छन् । खासगरी पूर्व एमालेसम्वद्ध युवा संघका नेताहरु सहभागी भएका छन् ।

युवा संघका सहसंयोजक रमेश पौडेल भने प्रधानमन्त्रीको समर्थनमा भइरहेको प्रदर्शन युवाहरुको स्वस्फूर्त भएको बताउँछन् । उनले भने, ‘सामाजिक सञ्जालहरु हेर्दा राष्ट्रियताको पक्षमा केपी ओलीले लिएको अडानका कारण उहाँहरुले स्वस्फूर्त गर्नुभएको जस्तो पाएँ ।’

तर, यसरी प्रदर्शनका लागि आह्वान गर्ने फेसबुक समूहमा तपाई आफैं मोडरेटर हुनुहुन्छ, नि भन्ने प्रश्नमा उनले भने, ‘हो म केपी ओलीलाई सच्चा राष्ट्रवादी नेता मान्छु, उहाँको समर्थन गर्ने फेसबुक समूहमा पनि छु । तर, मैले आह्वान गरेको होइन ।

प्रदर्शनमा युवा संघका नेताहरुको सहभागिता पनि रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘केही साथीहरु पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बस्नु भएको छ, उहाँहरुलाई पनि कसैले पठाएर जानु भएको होइन होला । उहाँहरु त्यता लाग्नुभयो, केही साथीहरु यता (प्रदर्शनतिर) लाग्नुभयो । तर, संस्थागतरुपमा होइन ।’

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली समर्थनमा प्रदर्शन, ‘भारतीय दलाल होसियार’को नारा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment