Comments Add Comment

बलम्बु अस्पतालको आइसोलेसनप्रति कोरोना संक्रमितको असन्तुष्टि

बलम्बु अस्पतालका संक्रमितले प्रयोग गर्ने बेड र शौचालय ।

२५ असार, काठमाडौं । कोरोना संक्रमित नेपाल वायु सेवा निगमका पाइलट र कर्मचारीहरुले आफूहरुलाई न्युनतम सुविधा पनि नभएको आइसोलेसनमा राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

निगमका ४ पाइलटसहितका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरुले च्यातिएका बेड, भत्किएका शौचालय प्रयोग गर्न आफूहरु बाध्य भएको बताए ।

उनीहरुले अनलाइनखबरलाई पठाएको बलम्बु अस्पतालको आइसोलेसन कक्षका तस्वीर हेर्दा संक्रमित सुत्ने बेड च्यातिएको देखिन्छ । यो कोठामा महिला–पुरुष सबै संक्रमितलाई राखिएको उनीहरुको भनाइ छ । उनीहरुका लागि जम्मा दुई वटा शौचालय छन् । शौचालयका सामान पनि  पनि विग्रेका, भत्केका, फुटेका देखिन्छन् ।

अहिलेसम्म आफूहरुको उपचार गर्ने डाक्टरको मुखसमेत देख्न नपाएको र नेपाल एयरलाइन्सका अधिकारीहरुले पनि आफूहरुको सोधीखोजी नगरेकोमा संक्रमितहरु रुष्ट छन् । ‘अहिलेसम्म हाम्रो उपचार गर्ने डाक्टर को हो हामीले देख्न पाएका छैनौं,’ एक संक्रमितले भने, ‘नेपाल एयरलाइन्सको तर्फबाट पनि अहिलेसम्म सोधखोज गर्न कोही नआउँदा दुःख लागेको छ ।’

बलम्बु अस्पतालमा राखिएका संक्रमितलाई दिइएको खाना ।

उनीहरुका लागि खाना–पानी गेटमा राखिदिइन्छ र माइकिङ्ग गरेर जानकारी दिइन्छ । खाना पनि प्लास्टिकमा पोको पारेर दिने गरिन्छ, जबकी प्लास्टिक प्रयोग गर्न सरकारले निषेध गरेको छ । प्लास्टिकमा राखेका खानेकुरा स्वस्थकर पनि मानिँदैन ।

नेपाल एयरलाइन्सका पाइलट र कर्मचारीहरु विदेशका नेपालीहरुलाई उद्धार कार्यमा सक्रिय थिए । उनीहरुलाई त्यहीक्रममा कोरोना संक्रमण भयो । संक्रमित हुनुअघिसम्म उनीहरु पाँचतारे होटल सोल्टीमा खाने बस्ने गर्दथे । संक्रमण पुष्टि भएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा लगेर राखिएको छ ।

उनीहरुले उडान गर्न जानु्अघि र उडान गरेर फर्केपछि जे सुविधा थियो त्यही सुविधा अहिले संक्रमित हुँदा पनि पाउनु पर्ने माग गरेका छन् । ‘सोल्टी होटलमा नै आइसोलेसन कक्षको व्यवस्था हुँदाहुँदै हामीलाई न्युनतम सुविधा पनि नभएको आइसोलेसनमा राखियो,’ नेपाल एयरलाइन्सका एक कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment