Comments Add Comment

जब जन्मदिनमा पहिरो खस्यो !

मणिपालमा उपचार गराइरहेका पहिरोका घाइतेहरु । तस्वीर सौजन्य : बलराम तिमिल्सिना

२६, असार पोखरा । पोखरा विजयपुर बस्ने पिंकी थापाको बिहीबार जन्मदिन थियो । माछापुच्छ्रे गाउँपालिकाको घोरेपानीमा घर भए पनि उनी विजयपुर बस्दै आएकी थिइन् । उनी जन्मदिन मनाउनका लागि आफ्नो माइती घर पोखरा १८ सराङकोटलाई रोजिन् ।

माइतमा गएर जन्मदिन मनाउने तयारीमा रहेकी थापाले आफ्नो जन्मदिनलाई अझै भव्य बनाउने विचार गरिन् । फोन गरेर दमौली घर भएकी सानीआमा सरस्वती श्रेष्ठलाई पनि निम्ता गरिन् । सानीमा सरस्वतीले ८ र १० वर्षका २ छोरा लिएर आइपुगिन् ।

माहोल बन्यो, छिमेकीहरु पनि जम्मा भए । जन्म दिन मनाए । बाहिर झरी बेस्सरी परिरहेकै थियो । पिंकीको २२ औं जन्म दिनको कार्यक्रम सकिएपछि सबै सुतिसकेका थिए । त्यत्तिकैमा रातिको करिब साढे २ बजेको समयमा घरमाथि पहिरो खस्यो ।

पहिरोमा परी ५ जनाको घटनास्थलममै मृत्यु भयो । पहिरोमा परी ज्यान गुमाउनेमा पिंकीका बुवा ५० वर्षीय टंक थापा, आमा ४५ वर्षीय सोममाया थापा, टंकका दाइका नाति ६ वर्षीय सुवान थापा, पिंकीकी सानीआमाकी छोरा ८ वर्षीय शीतल श्रेष्ठ र छिमेकी ११ वर्षीय इशिका थापामगर रहेका कास्कीका  डीएसपी सुवास हमालले जानकारी दिए ।

जन्मदिन मनाउन माइत आएकी पिंकी थापासहित ७ जना घाइते भएका छन् । उनीहरुको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

‘पिंकीको दुवै खुट्टा भाँच्चिएको छ । अवस्था सामान्य छ,’ पोखरा महानगर १८ का वडाध्यक्ष रणबहादुर थापाले भने, ‘अहिले उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’ घटनामा पिंकीकी ५ वर्षीय छोरी पिरिषा थापासमेत घाइते भएकी छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भतिजीको आग्रहमा दमौलीबाट सराङकोट आएकी सानीमा २८ बर्षीया सरस्वती, छिमेकी १९ वर्षीय अनिशा तामाङ घाइते, छिमेकी १९ वर्षीय रशी थापा र १९ वर्षकै रश्मी थापा पनि घाइते भएका छन् । उनीहरुको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, प्रहरी चौकी पनि डुबानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment